राहतको प्रतीक्षामा बाढीपीडित « Khabarhub

राहतको प्रतीक्षामा बाढीपीडित


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङको ढोरपाटन नगरपालिका–९ का बाढीपीडितका लागि प्राप्त भइरहेको राहत ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङमै थन्किएको छ । घरबार गुमाएका बाढीपीडित भने राहतको प्रतीक्षामा बसेका छन् ।

ढोरपाटन–९ मा यही भदौ १७ गते राति भूजीखोलामा आएको बाढीले ठूलो जनधनको क्षति पुगेपछि देशविदेशबाट राहत जुटे पनि सडक सम्पर्क विच्चेछ भएकाले राहत पुर्याउन समस्या भएको छ ।

बाढीका कारण हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने २१ जना अझै वेपत्ता छन् । बाढीले ८० वटा घर पूर्ण र ७१ घरमा आंशिक क्षति बनाएको छ ।
बाढीले ठूलो क्षति पुर्याएको खबरसँगै विभिन्न सङ्घसंस्था तथा व्यक्तिले राहत अभियान चलाइरहेका छन् । ताराखोला गाउँपालिका, लोकदोहोरी प्रतिष्ठान बागलुङ, लायन्स क्लब अफ बागलुङ, दलित सञ्जाल बागलुङलगायत दर्जनौँ सङ्घसंस्थाले नगरपालिकाको केन्द्र बुर्तिबाङमा राहत पुर्याएका छन् । भदौ १८ गतेदेखि सङ्कलित हुनथालेको राहत सडक अभावका कारण पीडितसमक्ष पुर्‍याउन समस्या भएको हो ।

एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने भएपछि राहत दिने शुभेच्छुक तथा दाताहरुले नगरपालिकालाई राहत हस्तान्तरण गरेका छन् । यद्यपि गृहमन्त्री रामबहादुर थापा, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपाली कांग्रेसका नेता द्रोण कुँवर तथा जित शेरचनले हेलिकप्टरमार्फत केही राहत भने बाढीग्रस्त क्षेत्रमा पुर्‍याएका थिए ।

विपतपछि बाढीग्रस्त क्षेत्रमा पुगेका सङ्घसंस्था र व्यक्तिले दिएको राहत पनि ढोरपाटन–९ को वडा कार्यालयमा राखिएको छ । पीडित परिवारका सदस्यहरु भौगोलिक रूपमा पनि विकट क्षेत्रमा रहेको र मोबाइल सम्पर्कमा समेत समस्या भएकाले समन्वयमा पनि वडा कार्यालयलाई सकस भएको छ ।

नगरपालिकाले खोज तथा उद्धार कार्य जारी रहेको र तथ्याङ्क सङ्कलन गर्ने काम पनि चलिरहेकाले हाल ढोरपाटन नगरपालिकाको तर्फबाट मात्रै राहत सामग्री वितरण गरिएको ढोरपाटनका नगर–उपप्रमुख करमती पुनले जानकारी दिए ।

“सडक र सञ्चार सम्पर्क विच्छेद, घटनास्थल पुग्नै समस्या तथा पीडितहरुले राहत लिनसमेत नसकेका कारण राहत वितरणमा चुनौती छ”, पुनले भने, “तत्कालका लागि खाद्यान्न वितरण भइसकेको र अन्य राहतहरु क्रमशः वितरण गर्दै जानेछौं।”

पुनका अनुसार भौगोलिक विकटता र सडक अवरुद्ध भएका कारण राहत वितरणमा समस्या भइरहेको छ । सडक खुलाउन नसके खच्चडमार्फत राहत लैजाने उनको भनाइ छ । वडा कार्यालयमार्फत पीडित परिवारलाई एक बोरा चामल, दाल तथा तेल वितरण गरे पनि केही पीडितले नपाएको गुनासो व्यक्त गरेका छन् ।

हालसम्म पीडितहरुको तथ्याङ्क सङ्कलनमै रहेका कारण राहत वितरणमा ढिलाइ भएको वडा कार्यालयले जनाएको छ । गृहमन्त्री र मुख्यमन्त्रीले हेलिकप्टरमार्फत वितरणका लागि लगेको त्रिपाल, भाँडाकुँडा र म्याट्रेससमेत वडाकार्यालयमै थन्किएको छ ।

असली पीडितहरु दाहसंस्कार र वेपत्ताको खोजीमा रहेका कारण राहतका लागि वडा कार्यालयमा समेत आउन सकेका छैनन् । वडा कार्यालयदेखि तीन घण्टाको पैदलयात्राको दूरीमा रहेको र अहिले पैदलबाटो समेत नरहेका कारण पीडितको घरमै राहत पुर्याउन सकिएको छैन । बाढीपीडितले भने राहत नपाएको गुनासो गरेका छन् ।

हालसम्म नगरपालिकाको कुनै राहत नपाएको बाढिपीडित लालबहादुर विकले गुनासो गरे । यस्तै अर्का पीडित तुलबहादुर विकले नगरपालिकाले एक केजी दाल र एक लिटर तेलमात्रै दिएको बताए । नगरपालिकाले राहत दिएको भन्ने सुने पनि आफूले राहत नपाएको पीडितहरुको गुनासो छ ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ९ : ०७ बजे

तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौं– बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६ घटना

२३ अर्ब बक्यौता तिरेर जुर्मुराउँदै स्वास्थ्य बीमाः सङ्कट टार्न सुविधा थैलीमा कटौती

काठमाडौँ – आम नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान

पहिरो पन्छाइएपछि नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं- लगातारको वर्षापछि विभिन्न स्थानमा पहिरो खसेर प्रभावित नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ

कञ्चनपुरमा जापानिज इन्सेफ्‌लाइटिसको जोखिम कायमै

कञ्चनपुर– चार वर्षदेखि जापानिज इन्सेफ्‌लाइटिस पुष्टि भएका बिरामी नदेखिएको कञ्चनपुरमा

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर– भोजपुर नगरपालिका–१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको