घरबाटै परीक्षा लिने पूर्वाञ्चल विश्वविद्यालयको तयारी « Khabarhub

घरबाटै परीक्षा लिने पूर्वाञ्चल विश्वविद्यालयको तयारी

त्रिभुवन विश्वविद्यालयमा अझै अन्योल



काठमाडौँ- कोरोना भाइरस संक्रमण (कोभिड—१९) का कारण शैक्षिक संस्थाहरू करिब ७ महिनादेखि बन्द छन् ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा भदौ १ गते सार्वजनिक गर्‍यो तर, अगाडिको पढाइ भएको छैन ।

कक्षा ११, कक्षा १२ र स्नातक तहको परीक्षाबारे अझै अन्योल देखिएको छ । स्नातकोत्तर तहका सेमेस्टर प्रणालीका परीक्षाहरू समेत ५ महिनादेखि रोकिएका छन् । परीक्षा कुन प्रणालीबाट गर्ने र कहिले गर्ने भन्नेबारे विश्वविद्यालयहरूले ठोस निर्णय लिन सकेका छैनन् ।

पूर्वाञ्चल विश्वविद्यालयले भने स्नातक र स्नातकोत्तर तहका सेमेस्टर प्रणालीअन्तर्गतका परीक्षा वैकल्पिक विधिबाट गर्ने भएको छ । यस्तो विधि ‘टाइम—बाउन्ड होम इक्ज्याम’ हुनेछ ।

पूर्वाञ्चल विश्वविद्यालयले आगामी असोज महिनामा घरबाटै परीक्षा लिने भएको हो । नियमिततर्फका सबै विद्यार्थीले घरबाटै परीक्षा दिन पाउने विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा.सूर्यप्रसाद संग्रौलाले खबरहबलाई जानकारी दिए ।

यसरी हुँदैछ तयारी

परीक्षाको निर्णयसँगै क्याम्पसहरूमा विद्यार्थीहरूले परीक्षा हुनु १० दिन अगावै इमेल ठेगाना विश्वविद्यालयमा पठाउनुपर्नेछ ।

परीक्षामा सामेल हुन विद्यार्थी स्वयमले ‘ए फोर साइज’ पेपर, कालो मसी भएको कलम र इन्टरनेटको व्यवस्था गर्नुपर्नेछ ।

संग्रौलाका अनुसार सम्बन्धित क्याम्पसको क्याम्पस प्रमुख केन्द्राध्यक्ष हुनेछ वा उसले अर्को व्यक्तिलाई जिम्मेवारी दिन सक्नेछ । केन्द्राध्यक्ष तोकिएका व्यक्तिलाई विश्वविद्यालयले ३० मिनेटअघि प्रश्नपत्र पठाउनेछ ।

केन्द्राध्यक्षले परीक्षा तोकिएको समयभन्दा १५ मिनेटअघि इमेलमा विद्यार्थीलाई प्रश्नपत्र पठाउनेछ । यसअघि परीक्षाका लागि ३ घण्टा समय हुने विषयमा विद्यार्थीले ५ घण्टा समय पाउनेछ ।

त्यस्तै, उत्तरपुस्तिका परीक्षार्थी आफैँले हातले लेखेको हुनुपर्नेछ । अरूबाट लेखाइएको, कम्प्युटर टाइप गरिएको, कार्बन कपी गरिएको, पुस्तकबाट हुबहु सारिएको वा अन्य कुनै सहयोगी विधिको प्रयोग गरिएको पाइएमा त्यस्तो उत्तरपुस्तिका बदर हुनेछ ।

परीक्षा नियन्त्रक संग्रौलाका अनुसार तीन घण्टाभित्र प्रश्नको उत्तर लेखिसक्ने र फोटो खिचेर पाँच घण्टाभित्रमा क्याम्पसको इमेलमा पठाइसक्नुपर्नेछ ।

अर्को सेमेस्टर अध्ययन र अध्यापनका हिसाबले यस प्रणालीमार्फत परीक्षा लिए पनि अन्तिम सेमेस्टारका विद्यार्थीका लागि परीक्षाको यो विधि लागू हुने छैन । शैक्षिक सत्र खेर जान नदिन पूर्वाञ्चल विश्वविद्यालयले विज्ञहरूसँग थप छलफल गरिरहेको संग्रौलाको भनाइ छ ।

के गर्दैछ त्रिभुवन विश्वविद्यालय ?

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले रोकिएको परीक्षा भदौ दोस्रो साताबाट सञ्चालन गर्ने गरी साउनमा सूचना प्रकाशन गरेको थियो ।  फेरि कोरोना भाइरस संक्रमण बढ्दै गएको कारण देखाएर परीक्षा स्थगित गर्‍यो । तत्कालै वैकल्पिक विधिबाट कुनै पनि तहको परीक्षा सञ्चालन गर्न नसकिने त्रिविका अधिकारीको भनाइ छ ।

त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशी भन्छन्, ‘विद्यार्थीहरू भौतिकरूपमा नै उपस्थित नभई परीक्षा लिन सक्ने अवस्था छैन ।’ त्रिवि अन्तर्गत करिब ७  लाख विद्यार्थी अध्ययनरत रहेको र लकडाउनका कारण धेरै विद्यार्थी सम्पर्कमा नरहेका कारण पर्ख र हेरको अवस्था रहेको उनले बताए ।

‘लकडाउन खुलेर सामान्य नभएसम्म परीक्षा हुने अवस्था छैन’ जोशीले खबरहबसँग भने, ‘विद्यार्थीको संख्या धेरै छ, त्यसकारण पनि अन्य कुनै विकल्प नै देखिँदैन ।’

त्रिविले तत्काल परीक्षा नहुने भएपछि सेमेस्टार प्रणालीका विद्यार्थीहरूलाई वैकल्पिक माध्यमबाट पठनपाठनका लागि अनुरोध गरेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ७ : २७ बजे

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा