एमसीसी व्यक्ति र पार्टी विशेषलाई होइन, राष्ट्रिय मुद्दा भएकाले कार्यान्वयन हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली (अन्तर्वार्ता) | Khabarhub Khabarhub

एमसीसी व्यक्ति र पार्टी विशेषलाई होइन, राष्ट्रिय मुद्दा भएकाले कार्यान्वयन हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली (अन्तर्वार्ता)



काठमाडौं- अमेरिकी अनुदान अन्तर्गतका कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा अहिले नेपालमा बहस भइरहेको छ ।

सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा अन्य दलले चाँडै संसदबाट अनुमोदन गरेर एमसीसी कार्यान्वयमा ल्याउनुपर्ने दाबी गरिरहँदा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी कै केहि नेताले यसको विरोध गरेका छन् ।

एमसीसी पारित संसदबाट पारित हुने कि नहुने भन्ने अड्कलबाजी चलिरहँदा संसदको चालू अधिवेशनले पारित गरेर एमसीसी कार्यान्वयनमा आउनेमा सरकार पूर्ण विश्वस्त छ ।

नेपालको विकासका लागि आउन लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो अनुदान सहयोग कार्यान्वयनमा ल्याउन सरकारले के गरिरहेको छ । एमसीसीका विषयमा सत्तारुढ दलभित्र भइरहेको बहस के हो ? सरकारले अहिले के गरिरहेको छ लगायतका समसामयिक विषयमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग कुराकानी गरेका छौं । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन हुने कि नहुने भन्ने बहस भइरहेको छ । यो विषयले नेकपाको सचिवालय बैठकमा पनि ठूलो स्थान पायो । के भइरहेको छ एमसीसीका विषयमा ?

मलाई विश्वास छ, संसदको चालु अधिवेशनले एमसीसीलाई पारित गर्नेछ । संसदको अघिल्लो अधिवेशनमै यो सहयोग सम्झौताको प्रस्ताव सरकारले पेश गरिसकेको अबस्था छ ।

लोकतन्त्रमा लोकतान्त्रिक पार्टीभित्र हुने छलफललाई हामी अन्यथा ठान्नुहुँदैन । यसले हामीलाई सबै पक्षमा विचार पुर्‍याउनका निम्ति मद्दत नै गर्छ ।

तर बहस गर्दा हामीले ३/४ वटा कुरामा ध्यान दिनुपर्छ । एउटा भनेको तथ्यपुर्ण होस्, तार्किक होस, अनि कुनै पनि आग्रहबाट प्रेरित नहोउन् ।

दोस्रो हाम्रा मित्र राष्ट्रहरुलाई प्रतिकुल प्रभाव नपारोस् भन्ने कुरालाई ध्यान दिनुपर्छ ।

तेस्रो हाम्रा विकासका प्राथमिकताहरु हाम्रा केही मनोगत आग्रहका कारणले ओझेलमा नपरुन्, र तिनीहरुप्रतिको सरकारको प्रतिवद्धता कमजोर नबनोस् । सबैभन्दा ठुलो कुरा त राज्य सञ्चालन गर्ने पार्टी र नेताहरुको त्यो खालको परिपक्कता पनि देखियोस् यी पक्षहरुलाई हामीहरुले ध्यान दिनुपर्ने हुन्छ ।

पछिल्ला बहसहरुमा केही बुँदाहरु छुटेको देख्छु । कतिपय साथीहरुको बहसमा तर्कहरु कम छन् । अलिकति आग्रहहरु अथवा परम्परागत बुझाइ बढि छन् । यो त बादे बादे जायते तत्वबोध हो । म पूर्ण रुपले विश्वस्त छु ।

नेपालका लागि अत्यन्त महत्वपुर्ण र आवश्यक सहयोगलाई हाम्रो संसदले अनुमोदन गर्छ ।

एमसीसीलाई आईपीएस(इण्डो प्यासिफिक रणनीति)को अंग भन्दै व्याख्या र बहस पनि भइरहेको छ नि ?

एमसीसी इण्डो प्यासिफिक अन्तर्गतकै एउटा अंग हो भन्ने बहस हाँसो लाग्दो विषय हो । मैले धेरैपटक सार्वजनिक रुपमा भनिसकेको छु, सन् २००२ मा जर्ज डब्लु बुसले एमसीसीको एक खालको घोषणा गरे ।

२००४ मा अमेरिकी संसदले समेत स्वीकृत गरेर कोषको खडा भएको हो । यो सञ्चालनका निश्चित आफ्नै विधिहरु छन् । सबै देशहरु त्यो सहयोग पाउन योग्य हुँदैनन् ।

विधिको शासन, लोकतान्त्रिक मुल्य मान्यताजस्ता थुप्रै कुराहरु त्यसको पूर्वाधारको रुपमा राखिएको छ । नेपालले विस्तृत शान्ति सम्झौतापछि नेपालकै पहलमा सन् २०११ मा नेपालले पाउन योग्य छ, भनेपछि ६/७ वर्षको प्रयास भयो । नेपालमा ६ वटा सरकार समेत त्यही समयपछि गठन भए ।

नेपालको विकासको मुख्य बाधक के हो ? कुन आयोजनामा लगानी गर्र्दा हाम्रो विकासलाई अलिकति गति दिनसक्छ भन्ने स्वतन्त्र अध्ययनका आधारमा नेपालमा उर्जा संकट विकासको सबैभन्दा ठुलो चुनौतीका रुपमा रहेको र हाम्रो सम्भावना पनि उर्जामै रहेका कारण क्षमताअनुसार उर्जा उत्पादन गर्‍यौं र छिमेकी बजारसम्म यसको व्यापार गर्नसक्यौँ भनेदेखि यसले हाम्रो अर्थतन्त्रलाई माथि ल्याउन सक्छ भन्ने हिसाबले चाँहि नेपालको आफ्नै छनोटमा अन्तरदेशीय विद्युत प्रशारण लाइन हामीले छनौट गरेका हौँ ।

यी सबै कुरा हुँदा आईपीएस (इण्डो प्यासिफिक रणनीति) भन्ने नै थिएन । २०१७ को सेप्टेम्बरमा हामीले सम्झौता गर्‍यौँ । नोभेम्बरमा मात्रै अमेरिकी राष्ट्रपति ट्रम्पले इण्डो प्यासिफिक रणनीतिको अवधारणा अघि सार्नुभएको हो ।

त्यो अमेरिकाको आफ्नो रणनीति हो । जुन चस्माले संसारलाई अमेरिकाले हेर्छ । अमेरिकाको विश्वव्यापी आकांक्षा, विश्वव्यापी मुल्य मान्यताहरु र सबल तथा दुर्बल पक्षहरुका बारेमा ।

तर विकाससँग जोडिएका विषय फरक हुन् । पछि कुन कर्मचारीले के भने विषयको कुनै अर्थ रहँदैन । हामीले जुन मान्यतामाथि आधारित रहेर सम्झौता गरेका छौँ, सम्झौताको भाषा के छ हामीले हेर्ने त्यही हो ।

त्यसहिसाबले हेर्दा दुइटा कुरा जोड्नुपर्ने कुनै कारण म चाँहि देख्दिन । नेपालको विकासमा महत्वपुर्ण रुपमा रहने आयोजनालाई प्रभावित पार्नेगरी वा सम्बन्धहरुलाई नै प्रतिकुल हुने गरी हामीले बहसमा जानु राम्रो कुरा होइन ।

त्यसले हाम्रो परिपक्कता देखाउँदैन । त्यसले अहिलेको विश्वमा राज्य सञ्चालनका क्रममा देशहरुका बिचमा रहेको सम्बन्ध सञ्चालनका कुराहरुमा हाम्रो परिपक्कता देखिदैन ।

त्यसरी अघि बढ्नु उचित हुँदैन । विश्वका सबै ठुला देशका रणनीतिहरुमा हाम्रो सहमति हुन्छन् भन्ने होइन । हामी स्वतन्त्र छौँ । हाम्रो असंलग्नता मुटुमा छ । हाम्रो विदेश नीतिको जुन आधार छ, हामीले असंग्लनतालाई चुनौती दिने खालको कुनैपनि हिसाबले हामी संलग्न पनि हुँदैनौ । गतिबिधि गर्दा पनि गर्दैनौँ ।

यसको अर्थ कुनै पनि शक्ति राष्ट्रहरुसँग डिल गर्दैनौँ, सहयोग लिँदैनौ भन्ने विषय सोच्न पनि नसकिने विषय हो ।

एमसीसीको विषय पार्टीको सचिवालयमा त अल्पमत पर्‍यो भन्ने चर्चा छ ।

हामीकहाँ खोज पत्रकारिताभन्दा बढि अनुमानकारिता बढि छ । दूर्भाग्य कस्तो भने मिडियाको चरित्र नै त्यस्तो बन्दियो । सनसनी मच्चाउने समाचार, हेडलाइन, नाम नबताउने सर्तमा भन्नुभयो । स्रोतले यस्तो भन्यो ।

स्रोत र नाम नबताउने सर्तमा आउने कतिपय समाचारहरुको बेग्लै खालको उद्देश्यहरु पनि हुन्छन् । ति कुराहरुलाई आधार बनाएर मिडियाहरुले विष्लेषण गर्नु उचित कुरा होइन ।

यो पार्टी विशेषको कुरा रहेन । नेपालको पनि विश्वसनियताको कुरा हुन्छ । किनभने विगतका कुनै पनि सरकारले पार्टी विशेष वा व्यक्ति विशेषका हैसियतले सहमति गरेका होइनन् । नेपालका तर्फबाट सम्झौता हो । साथीहरुले बुझ्दै जानुहुन्छ ।

भनेपछि संसदको जारी अधिवेशनबाट पारित हुन्छ । कालापानीको कुरा के भइरहेको छ…

कालापानीको विषयमा हामीले चालेका विषयमा तपाईहरु परिचित नै हुनुहुन्छ । नेपाल सरकारका तर्फबाट कालापानी क्षेत्र नेपालको हो भन्ने विषय स्पष्ट पारिसकेका छौं ।

सर्वदलीय बैठक आह्वान गरेपछि देश एकैठाउँमा उभियो । प्रधानमन्त्रीलाई सबैको सहयोग रहने विश्वास दियो । त्यो सरकारका लागि बलियो आधार तयार समेत भयो । हामीले पठाएको कुटनीतिक नोटको भारतले जवाफ दिइसकेको छ ।

भारतले हामी समस्याको समाधान गर्न तयार छौँ भनेको छ । अहिले छलफलका लागि मिति तय गर्ने विषयमा हामी निरन्तर सम्पर्कमा छौँ । मलाई विश्वास छ, प्रमाणहरु, नक्साहरु, लिखतहरु र ऐतिहासिक विकासक्रम । यी सबै विषयहरुको आधारमा समस्या टुङ्गोमा पुर्‍याउन सकिन्छ र टुङग्याउनपर्छ ।

हामी हाम्रा छिमेकीहरुसँग समस्यारहित सम्बन्ध चाहन्छौँ । समस्या रहिरहे भने सम्बन्धमा चिसोपना ल्याउँछ । जुन कसैको पनि हितमा छैन ।

पछिल्लो समयमा अमेरिका र इरानको सम्बन्धमा देखिएको चिसापनाका कारण इरान, इराकमा रहेका नेपालीहरु समेत समस्यामा पर्नसक्ने देखिएको छ, सरकारको ध्यान त्यतातर्फ गएको छ कि छैन ?

अवश्य पनि खाडी क्षेत्रमा बढिरहेको समस्याबाट हामी चिन्तित छौं । त्यहाँका १५ लाख नेपालीहरु कार्यरत छन् । त्यसका बाछिटाहरु खाडीबाहेक अन्य स्थानमा समेत पुग्न सक्ने विषयमा हामी चिन्तित छौँ ।

इरानले गरेको आणविक सम्झौताको हामीले स्वागत गरेका थियौँ । हामी आणविक निशस्त्रिकरणको पक्षमा छौँ । तर तिक्तता बढ्दै जाँदा अमेरिका सम्झौताबाट पछि हट्यो, इरान पनि पछि हटेको छ ।

सुलेमानीको मृत्युपछि एक खालको तनाव बढ्यो । यो घटनालाई हामी नजिकबाट नियालिरहेका छौँ । सबै राजदुतावासहरुलाई सतर्क बनाएका छौँ । परराष्ट्र र श्रम मन्त्रालयको समन्वयमा हामीले काम गरिरहेका छौँ ।

नेपालीहरुलाई दुताबासहरुको सम्पर्कमा रहन भनेका छौँ । इरानमा नेपालीहरुको ठुलो संख्या छैन । इराकमा बैधानिक ढंगले नेपालीलाई जान रोक लगाइएको भएपनि विभिन्न बाटोबाट नेपालीहरु त्यहाँ पुगेका छन् ।

उनीहरुको सुरक्षाका बारेमा त्यहाँको सरकार र अमेरिकी सरकारसँग समेत निरन्तर सम्पर्कमा छौँ । उनीहरुलाई समस्या परेका बेला उद्धार गर्न सकियोस् भनेर इराक र अमेरिकी सरकारसँग कुनै न कुनै रुपले सम्पर्कमा छौँ ।

बहुचर्चित सगरमाथा संवादका विषय के भइरहेको छ ?

सगरमाथा संवाद नेपाल सरकारको उच्च महत्वको कार्यक्रम हो । नेपालले समसामयिक चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा विज्ञहरु, सरोकारवालाहरु, वैज्ञानिकहरु सबैलाई एकैठाउँमा ल्याएर छलफल गर्न सकियोस् भनेर महत्वपुर्ण जनमत पनि निर्माण होस्, नीति निर्माणमा सहयोग र आवश्यक पर्दा दबाबको पनि काम गरोस् र नेपालले अगुवाई गर्न सकोस् भनेर स्थायी प्रकृतिको रहनेगरी सगरमाथा संवाद स्थापना गर्‍यौँ ।

त्यसको पहिलो कार्यक्रमका रुपमा आउने अप्रिलमा पर्वत, जलवायु परिवर्तन र मानव जातिको भविष्य शीर्षकमा एउटा अन्तर्राष्ट्रिय संवाद आयोजना गदैछौँ । त्यसको आन्तरिक तयारी तीव्र रुपले अघि बढेको छ ।

कार्यक्रममा सहभागी हुन हामीले निम्तो पठाइसकेका छौँ । विभिन्न देशका सरकार प्रमुख, मन्त्रीहरु, विज्ञहरु, युएन एजेन्सीहरुलाई, नीजि क्षेत्रलाई, अभियान्ताहरुलाई ।

यो संवादमार्फत हामी पर्वतहरुमा जलवायु परिवर्तनले पारिरहेको तिव्र नकारात्मक प्रभाव, खास गरेर हिमाल तिव्र रुपले पग्लिने, संसारको सबैभन्दा ठुलो हिमभण्डारका रुपमा रहेको हिन्दकुश क्षेत्रमा जुन ढंगका जोखिमहरु देखिइरहेका छन् ।

त्यसले खतराको घण्टीहरु बजाउन थालिसके । सार्थक कदम चाल्न ढिला भइसक्यो । तर यसका असरहरु पर्वतीय देशहरुलाई मात्रै छैन ।

पर्वतहरुमा हिउँ पग्लिनुको अर्थ समुद्रको उचाई बढ्नु हो । संसारका धेरै ठुला शहरहरु समुद्रको तटमा रहेको र सन् २०५० मा त्यस्ता शहरहरु डुब्ने र कैयौँ देशहरुको अस्तित्व नै नामेट हुने प्रक्षेपण गरिएको छ ।

पानीका मुहानहरु सुक्दै जाने, महिला र वालवालकिाहरुमा असर पर्ने, मौसममा आएका परिवर्तनले प्रतिकुल असरलाई केन्द्रमा राखेर बहस चलाउन खोजेका छौं ।

यसवर्षको मुल एजेण्डा जलवायु परिवर्तनमा केन्द्रित हुन्छ । हरेक २ वर्षमा आयोजना हुने संवादमा अर्को पटक आर्थिक पक्ष, लैङ्गिक पक्षमा गर्नसक्छौँ ।

परराष्ट्र मन्त्रालयको जिम्मेवारी लिनुभएको २ वर्ष पुग्नै लाग्यो, अबको गन्तव्य के विषयमा केन्द्रित गर्ने तयारीमा हुनुहुन्छ ?

विद्यमान सन्दर्भभित्र रहेर हेर्दा काम गरिहेको भन्ने लाग्छ । त्यसको सकारात्मक परिणाम पनि आएको छ । परराष्ट्र मन्त्रालयको जिम्मेवारी भनेको देशको मेसिनरी कसरी चल्छ भन्ने एउटा कुरा । अर्को कुरा भनेको अन्तर्राष्ट्रिय परिस्थिति कस्तो हुन्छ भन्ने नै हो । जुन हाम्रो बशमा हुँदैन । अनुकुल बनाउने कोशिश त हुन्छ । तर हाम्रा जस्ता देशले चाहेको जस्तो संरचना बनाउन सम्भव छैन ।

तर प्रतिकुल हुन नदिन कुटनीतिक अभ्यास र प्रयासहरु र तरल अबस्थाभित्र आफ्नो स्थानलाई सुदृढ बनाउने हाम्रो मन्त्रालयको कामभित्र पर्छन् ।

जनशक्तिको अबस्था कस्तो छ ?

हाम्रो मन्त्रालय सानो छ । भएका साथीहरुको क्षमतामाथि गर्व छ । तुलनात्मक रुपमा राम्रो छ । दक्षिण एसियामा सबैभन्दा सानो संरचना रहेको मन्त्रालयका रुपमा रहेको छ ।

त्यसलाई हामी बढाउन खोजिरहेका छौँ । तर संख्या मात्रै बढाएर पुग्दैन । क्षमता पनि बढाउनुपर्नेछ ।

त्यो काशिश पनि गरिरहेका छौँ । कर्मचारीको अध्ययन, तालिम बढाउन आवश्यक कानून बनाउन पनि लागिपरेका छौँ । कमसेकम विदेश नीतिका विषयमा साझा आवाज होस् । साझा मान्यता होस् ।

सरकारको आधारमा विदेश नीति नभएर देशको नीति भएका कारण सबै एकैठाउँमा होस् भन्ने हिसाबले काम गरिरहेका छौँ ।

केही कुरामा हामीले सफलता पनि पाएका छौँ । सीमा समस्याका बारेमा देश एकैठाउँमा छ । संघीयतामा गएपछि विभिन्न तहमा सरकारहरु छन् । तरपनि परराष्ट्रमामिला भनेको केन्द्र सरकारको मात्रै जिम्मेवारी रहेको विषय हो ।

स्थानीय सरकार वा प्रदेश सरकार समेत विदेशीहरुसँग सम्बन्ध राख्नैपर्ने हुन्छ । त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा प्रयत्न गरिरहेका छौं ।

अहिलेको छिमकीहरुसँगको सम्बन्ध, विकास र इपीजीको प्रतिवेदनका विषयमा के भइरहेको छ ?

छिमेकीहरुसँगको सम्बन्धले म सन्तुष्ट छु । संविधान जारी भएपछि अलि चिसोपना आएको भारतसँगको सम्बन्धमा धेरै सुधार आएको छ ।

वाणिज्य, पारबहन सन्धिमा गर्न खोजेको समझदारी, नेपाल भारतका बीचमा पछिल्ला समयमा भएका अन्य विषयका सहमतिले गति लिएको छ । चीनसँगको सम्बन्धले एउटा गति लिएको छ ।

औपचारिकतामा सीमित चीन सम्बन्धमा नयाँ आयाम थपिएको छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि बीआरआईको कार्यान्वयन, आर्थिक विकासमा चीनको सहयोगले उल्लेख्य प्रगति गरेको छ ।

शक्ति राष्ट्रहरुसँग हामीले नयाँ ढंगले राजनीतिक सम्बन्ध कायम गर्ने कसरत गरेका छौं । राष्ट्रपतिज्यूको जापान भ्रमण, प्रधानमन्त्रीज्यूको बेलायत र फ्रान्स भ्रमण, लामो अन्तरालपछि परराष्ट्रमन्त्रीको १७ वर्षपछि अमेरिका र १४ वर्षपछि रुस भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्धमा गति दिने काम गरेको छ ।

इपीजीको प्रतिवेदन बुझन् र कार्यान्वयन गर्न भारतसँग आग्रह गरिसकेका छौँ । भारतले प्रतिवेदन बुझ्ने विषयमा हामी आशावादी छौं ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  १० : १८ बजे

शेयर बजारमा ‘इन्ट्रा डे’ कारोबार : कहाँ पुग्यो योजना ?

काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ आएसँगै शेयर बजारको

पोखराको शहीद चोकलगायत क्षेत्रलाई निषेधमुक्त गर्न रास्वपाको माग

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखराको सहिदचोक लगायत क्षेत्रलाई निषेधित

लेटाङका किसान कफीखेतीमा आकर्षित

मोरङ– कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका

पाल्पाको रामपुरमा सडक स्तरोन्नति हुँदै

पाल्पा– पाल्पाको रामपुरलाई नमूना सहरका रूपमा विकास गर्ने उद्देश्यले नगरपालिका

प्रेम र करुणाका प्रतीक ‘शान्त क्लज’

पुर्वेली समाजमा बच्चालाई फकाउनका लागि भूत, प्रेत वा अन्य केहीको