आखिर 'डोरेटौदो बाध्यका लड्को' नै प्यारो | Khabarhub Khabarhub

आखिर ‘डोरेटौदो बाध्यका लड्को’ नै प्यारो



हिमालपारिको जिल्ला हुम्लामा हालको सर्केगाड गाउँपालिकाको राहादेव भन्ने ठाउँमा जन्मिन् मनीषा ऐडी । आठ महिनाको उमेर हुँदा आमा सदाका लागि अचनाक बिदा भइन् । बुबाले अर्की पत्नी भित्र्याए । उनलाई नजिकै रहेका मावलीले हुर्काए ।

उमेर एक वर्ष पूरा हुँदै थियो । उनलाई ज्वरो आयो । दुईतीन दिन लगातार ज्वरो आएपछि एक जना छिमेकीले उपचार गर्ने भए । ती छिमेकीले फलामको एउटा पातो आगोमा तताए । त्यो तातो फलाम मनीषाको त्यो कलिलो शरीरको बीचतिर अगाडि र पछाडि दुवैतिर एकएक बातो लगाए । रोगको उपचार गर्न फलाम तताएर डाम्ने यो तरिकालाई ‘बातो लाउने’ भन्ने चलन छ ।

उनी हुर्किंदै गइन् तर हिँड्न सकिनन् । गाउँमा उनीजस्ता केटाकेटीहरू उफ्रिन थाल्दा उनी भुइँमा घिस्रिन्थिन् । उनको गतिविधिले बिस्तारै थाहा भयो, उनको पिठ्युँमुनिको भाग राम्ररी नचल्दो रहेछ । आंशिकरूपमा मात्र चल्दो रहेछ ।

उनी हिँड्न नसकेपछि ज्वरो आउँदा बातो लगाउनुको परिणाम हो भन्ने ठहर त गरे गाउँलेहरूले तर जे हुनु भइसकेको थियो । धन्य ! उनको ज्यान गएन । त्यो दुर्गम ठाउँमा कुनै उपचारको प्रयास पनि भएन । मावलमा हजुरआमाबाका साथ मनीषा जसोतसो हुर्किंदै गइन् ।

मनीषाका मामा हरिनाथ रोकाया हुलाकमा काम गर्छन् । सानै भए पनि सरकारी जागिर भएका मामालाई शिक्षाको महत्व थाहा नहुने कुरा भएन । आमा नभएकी भान्जी अपाङ्ग भइन् । मामालाई भान्जीको भविष्य कस्तो होला भन्ने चिन्ता भयो । उनले जसरी पनि पढाउने र उनको भविष्य उज्यालो बनाउने सोचे । स्कूल भर्ना गराए । दुर्गम गाउँको त्यो गरिबीमा किताबकापी किन्ने पैसा पनि अभाव हुन्थ्यो । कति दिन त उनी किताबकापी नलिई पनि स्कूल जान्थिन् ।

हुम्लामा छँदा उनका साथीहरुले दुर्गमका दुःखी विद्यार्थीहरूलाई छात्रवृत्ति दिने संस्था ‘परिलक्षित’ बारे सुनाएका थिए । उनले संस्थाको फोन नम्बर पत्ता लगाएर सम्पर्क गरिन् । संस्थाबाट आश्वासन पाएपछि उनले आफ्नो व्यक्तिगत विवरण र कागजातहरू पठाइन् । केही दिनपछि खबर आयो, उनी छात्रवृत्तिका लागि छनौट भइन् ।

जस्तै गरिबीमा पनि मामाले हिम्मत हारेनन् । जसरी पनि खर्च जुटाएर भान्जीलाई पढाए । उनलाई पढाउनमा मामाले अलिकति पनि कसर बाँकी राखेनन् । कहिल्यै केहीमा पनि कन्जुस्याइँ गरेनन् । उनको पढाइ अघि बढ्दै गयो ।

सर्केगाडमा ५ कक्षा पढेपछि नजिकमा अर्को स्कूल थिएन । मामाले सदरमुकाम सिमिकोटस्थित मानसरोवर माध्यमिक विद्यालयमा भर्ना गराएर छात्रावास राखे । त्यही विद्यालयबाट २०६२ सालमा मनीषाले एसएलसी उत्तीर्ण गरिन् । उनले ११ र १२ कक्षा पनि त्यही विद्यालयबाट पूरा गरिन् ।

एसएलसी परीक्षाको नतिजा आएको दिन मानीषा असीमित हर्षित भइन् । उनीभन्दा बढी खुसी भए उनका मावली । छोरीलाई पढाउन आवश्यक छैन भन्ने सामाजिक सोच भएको त्यो दुर्गम गाउँमा आमाविहीन अपाङ्ग भान्जीलाई शिक्षित बनाउने मामाको धोको पूरा हुने एक खुड्किलो सकिएको थियो ।

त्यो समाज अझै पनि छोरी भनेको त अर्काको घरमा जाने जात हो भन्छ । छोरीले घरको काम सिक्नुपर्छ, पढ्ने त छोराले हो भन्छ । छोरीका लागि गरेको पढाइखर्च फजुल ठान्छ । मनीषाका मामा यो चिन्तनबाट चार कदम टाढा थिए ।

१२ कक्षा उत्तीर्ण गरेपछि मामाले काठमाडौँ पुर्‍याएर छात्रावासमा राखिदिए । मनिषाका लागि काठमाडौँ यात्रा जीवनकै कोसेढुङ्गा साबित भयो । त्यो अनकण्टार सर्केगाडमा हुर्केकी मनीषालाई काठमाडौँको बोलीचाली, गाडीका ताँती र मानिसहरूको चहलपहल अचम्मको लाग्यो ।

उनले काठमाडौँको बारेमा स्कूलमा पढेकी र सुनेकी भए पनि यति अनौठो होला भन्ने त उनको मनको कुनै कुनामा थिएन । गाडीको लस्कर त उनलाई ‘हाम्बो डोरेटौदो बाध्यका लड्को लाग्या जैतो’ भयो । अर्थात हाम्रो बाटोमा भेडाबाख्राको लस्कर हिँड्याजस्तो ।

हुम्लामा छँदा उनका साथीहरुले दुर्गमका दुःखी विद्यार्थीहरूलाई छात्रवृत्ति दिने संस्था ‘परिलक्षित’ बारे सुनाएका थिए । उनले संस्थाको फोन नम्बर पत्ता लगाएर सम्पर्क गरिन् । संस्थाबाट आश्वासन पाएपछि उनले आफ्नो व्यक्तिगत विवरण र कागजातहरू पठाइन् । केही दिनपछि खबर आयो, उनी छात्रवृत्तिका लागि छनौट भइन् ।

पढेलेखेका सबै मानिस शहर केन्द्रित भएकोमा मनीषालाई चित्त बुझेको छैन । दुर्गमा गाउँमा बस्ने मानिसहरू गरिबी र अभावमा बाँचेका छन् । अशिक्षा र अन्धविश्वास व्याप्त छ । शिक्षित मानिसहरू यस्ता गाउँको सेवामा नगई त्यहाँका बासिन्दाको जीवनस्तर सुधार हुँदैन भन्ने ठहर छ मनीषाको ।

मनीषाका लागि यो खुसी एसएलसी परीक्षाको नजिता आएको दिनको भन्दा ठूलो भयो । उनले स्नातक तहसम्मका लागि लगातर तीन वर्ष परिलक्षितबाट अनुदान पाइन् । उनले सरासर स्नातक तह उत्तीर्ण गरिन् । उनको मिहिनेतमा मामा हरिनाथ औधी खुसी भए । परिलक्षितको लगानी सदुपयोग भयो । मनीषा स्नातक भइन् ।

स्नातक पढाइ पूरा गरेपछि मनीषाको जीवनमा ऊर्जा मिल्यो । म पनि केही राम्रो काम गर्न सक्छु, अघि बढ्न सक्छु भन्ने आत्मविश्वास बलियो हुँदै गयो । उनले गाउँ फर्केर अपाङ्गता भएका व्यक्तिहरूको सेवामा लाग्ने अठोट गरिन् । उनी राजधानीको रमझम छाडेर आफ्नै गाउँ सर्केगाड फर्किन् ।

सर्केगाडसम्म गाडी जाने बाटो छैन । बिजुली आएको धेरै भएको छैन, त्यो पनि भरपर्दो छैन । मनीषा अपाङ्गता भएका केटाकेटीहरूलाई जम्मा गरेर पढाउन चाहन्थिन् । उनीहरूको हकअधिकारको कुरा गर्न चाहन्थिन् । उनीहरूमा भएको क्षमता बाहिर निकाल्न चाहन्थिन् तर यो त्यति सजिलो काम थिएन ।

हुम्ला यसै पनि हिमालपारिको दुर्गम जिल्ला, मनीषा जन्मे हुर्केको सर्केगाड पुग्न त सदरमुकाम सिमिकोटबाट मस्त हिँड्न सक्नेलाई पनि दुई दिन लाग्छ । बैसाखीको सहारामा बिस्तारै हिँड्ने उनलाई चार दिनभन्दा बढी लाग्छ । काठमाडौँबाट फर्केपछि उनी घोडा चढेर गाउँ पुगिन् ।

सर्केगाड रुढीवादी र अन्धविश्वासले ग्रस्त छ । गरिबी र अशिक्षा व्याप्त छ ।

मनीषा हुम्लामा काम गर्ने गैरसरकारी संस्था ‘हेड नेपाल’ को सम्पर्कमा पुगिन् । संस्थाको ‘हिमाली शिक्षा र विकास’ परियोजनामा स्वयंसेवकका रूपमा आफ्नै गाउँपालिका सर्केगाडमा सेवा गर्ने मौका पाइन् । अहिले मनीषा सोही परियोजनामा फिल्ड म्यानेजेरको रूपमा काम गर्छिन् ।

मनीषा चाहन्छिन् उपचारको नाममा कसैलाई बातो नलागोस् । कुनै पनि आमाबाबुले अर्काको घर जाने जात छोरीले पढ्नु पर्दैन नभनून् । उनी नयाँ पुस्ताको यही भविष्यका लागि काम गर्न चाहन्छिन् ।

उनको व्यवस्थापन अन्तर्गत अपाङ्गता भएका ४५ जना विद्यार्थी छन्, ६ वर्षदेखि १५ वर्षसम्म उमेरका । तीमध्ये २५ जना दृष्टिविहीन र अरू शारीरिक अपाङ्गता भएकाहरू छन् । यी सबैका लागि छात्रावास र दुई वटा विद्यालय छन्, दृष्टिविहीन र अपाङ्गता भएकाहरूका लागि अलगअलग । मनीषा यिनको व्यवस्थापक र शिक्षक हुन् ।

पढेलेखेका सबै मानिस शहर केन्द्रित भएकोमा मनीषालाई चित्त बुझेको छैन । दुर्गम गाउँमा बस्ने मानिसहरू गरिबी र अभावमा बाँचेका छन् । अशिक्षा र अन्धविश्वास व्याप्त छ । शिक्षित मानिसहरू यस्ता गाउँको सेवामा नगई त्यहाँका बासिन्दाको जीवनस्तर सुधार हुँदैन भन्ने ठहर छ मनीषाको ।

मनीषालाई काठमाडौँमै र अन्यत्र पनि शहरी क्षेत्रमा कामको प्रस्ताव नआएको होइन । उनलाई यस्तो कुनै प्रस्तावले आकर्षण गरेन । उनलाई आफू हुर्केबढेको र पढेको गाउँमा सेवा गर्न पाएकोमा अपार आनन्द छ ।

त्यसो भए के मनीषाको लक्ष्य पूरा भयो ? होइन, ३२ वर्षीया मनीषा अझै उच्च शिक्षा र सिप हासिल गर्न चाहन्छिन् । शैक्षिक योग्यता बढाउन चाहन्छिन् तर सेवा गाउँमै गर्छु भन्ने अठोट छ ।

मनीषा चाहन्छिन् उपचारको नाममा कसैलाई बातो नलागोस् । कुनै पनि आमाबाबुले अर्काको घर जाने जात छोरीले पढ्नु पर्दैन नभनून् । उनी नयाँ पुस्ताको यही भविष्यका लागि काम गर्न चाहन्छिन् ।

हार्दिक शुभकामना मनीषा !

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  २ : ०८ बजे

पाँचसय पसल अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालन

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले ४९७ पसलको अनुगमन गर्दा २० वटा

एकसय आठ जना दीर्घरोगीलाई आर्थिक सहयोग

तनहुँ– तनहुँको व्यास नगरपालिकाले एक सय आठ जना दीर्घरोगीलाई पाँच

गोरखाको द्रव्यशाह क्याम्पसमा दुना–टपरी गाँस्ने तालिम

गोरखा– गोरखामा रहेको द्रव्यशाह बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत छात्राहरुलाई दुना–टपरी

कृषिको आधुनिकीकरण आजको आवश्यकता : लिङ्देन

कैलाली– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कृषिमा आधुनिकीकरण

मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु

काठमाडौं– मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित १३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त