काठमाडौं – अमेरिकी सरकारले कोरोना भाइरसको महामारीका कारण दिने १२ सय डलरको सहायता रकम आगामी सातादेखि दिने भएको छ ।
उक्त सहायता रकम कर नतिरेकाहरुलाई समेत दिलाउन लागिएको छ । तर कर नतिरेकाहरुले आफ्नो पूर्ण विवरण बुझाउनुपर्ने प्रावधान राखिएको छ ।
आईआरएस र फ्रि फाइल एलायन्सबीचको सहकार्यमा नयाँ टुलको विकास गरिएपछि अनलाइनमार्फत कम आम्दानी भएर कर नै नबुझाएकाहरुलाई पनि फारम भर्न मिल्ने गरी व्यवस्था मिलाइएको हो ।
१२ हजार २ सय भन्दा कम आम्दानी भएको एकल र २४ हजार ४ सय भन्दा कम आम्दानी भएका दम्पत्तिलाई कर तिर्न अनिवार्य नगरिएकाले यस्तो व्यवस्था गरिएको हो ।
आईआरएसका कमिश्नर चक रेटिजले ट्याक्स रिर्टन फाइल गर्न बाध्यकारी नभएकाहरुले उक्त टुलको प्रयोग गरेर आफ्नो आधारभूत जानकारी उपलब्ध गराउन सुझाव दिएका छन् ।
आईआरएसले सबै करदाताहरुलाई उक्त राहत रकम आगामी साता १७ अप्रिलदेखि खातामा पठाउन सुरु गर्ने स्पष्ट पारेको छ ।
प्रतिक्रिया