सैनामैनामा ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको तयारी « Khabarhub

सैनामैनामा ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको तयारी

भरतपुरमा निर्माणाधीन रङ्गशालासँग नाम जुध्यो



बुटवल – लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको, ठूलो र नमूना क्रिकेट रङ्गशाला बन्ने भएको छ । रुपन्देहीको सैनामैनामा नरपालिकामा यस्तो क्रिकेट रङ्गशाला बन्ने भएको हो । नाम ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ राखिएको छ । सैनामैना नगरपालिका–७, लम्टैयामा करिब १५ बिघा जमिनमा रङ्गशाला बन्न लागेको हो ।

नगरपालिकाले रङ्गशाला निर्माणको काम अघि बढाएको छ । गत वर्ष छुट्याएको ३० लाख रुपैयाँले माटो कटाइ तथा शौचालय र ड्रेसिङ रूम निर्माण भएको छ । यस वर्ष एक करोड रुपैयाँ बजेटमा थप माटो कटाइ, तारबार र डिपिआरको काम भएको छ ।

सैनामैना नगरपालिकाले रङ्गशालाको डिपिआर तयार गरी छलफल चलाएको छ । निर्माण सम्पन्न हुन करिब २ अर्ब १९ करोड रुपैयाँको लागत अनुमान प्रस्तुत गरिएको छ । डिपिआरमा रङ्गशाला ९४ हजार ८१७ वर्गमिटर क्षेत्रफल हुने जनाइएको छ ।

रङ्गशाला शान्तिका अग्रदूत महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट करिब १२ किलोमिटर उत्तरमा पूर्वपश्चिम राजमार्गबाट २ किलोमिटर दक्षिणतर्फ बन्न लागेको छ ।

रङ्गशाला नेपालकै सबैभन्दा ठूलो, ९० यार्डको, हुने नगरपालिकाले जनाएको छ । मङ्गलबार आयोजित छलफलमा लुम्बिनी प्रदेशसभा सदस्य भूमिश्वर ढकालले स्थानीय तह, प्रदेश र संघीय सरकारको सहभागितामा उक्त रङ्गशाला निर्माण सम्पन्न गर्ने बताए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नेपालकै गौरवको आयोजनाको रूपमा बजेट व्यवस्था गरेर निर्माण सम्पन्न गर्ने पनि प्रदेशसभा सदस्य ढकालको भनाइ छ । खेल पर्यटनमार्फत सैनामैनाको विकास गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण हुन लागेको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीले बताए ।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि नजिकै रहेकोले अन्तर्राष्ट्रिय स्तरको खेल आयोजना गर्न सहज हुने नगरप्रमुख कार्कीको भनाइ छ । उनले यो रङ्गशाला निर्माणबाट नेपालको खेलक्षेत्र विकासमा ठूलो टेवा पुग्ने बताए । बजेट व्यवस्था गरेर यसै वर्ष ठेक्का प्रक्रियामा जाने उनको भनाइ छ ।

करिब ६ महिनाको स्थलगत अध्ययनबाट रङ्गशालाको डिपिआर तयार गरिएको सैनामैनाका योजना प्रमुख सुरज न्यौपानेले बताए । रङ्गशाला व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष किशोर रानाले निर्माणाधीन रङ्गशाला सम्पन्न हुँदा क्रिकेटको माध्यमबाट सैनामैनाले राष्ट्रमा योगदान पुर्‍याउने विश्वास प्रकट गरे ।

क्राउन डिजाइन एण्ड रिसर्च सेन्टर, काठमाडौँका प्रमुख इन्जिनियर सुनिल लम्सालका अनुसार सैनामैना अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण गर्न भौगोलिकरूपले पनि उचित रहेको छ । रूपन्देही जिल्ला क्रिकेट खेलाडीहरुको उर्वरस्थल भएको र अन्तर्राष्ट्रिय विमानस्थल पनि नजिकै भएकोले खेल आयोजना र व्यवस्थापन सहज हुनेछ ।

छलफलमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी, खेलाडी र सरोकारवालाहरुको सहभागिता थियो ।

धुर्मुस सन्तुली फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गरिरहेको क्रिकेट रङ्गशालको नाम पनि ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ भनिएको छ । फाउन्डेशनका अनुसार झण्डै साढे २० बिघा जमिनमा निर्माणाधीन यो रङ्गशाला अत्याधुनिक सुविधासम्पन्न र २५ हजार दर्शक क्षमताको हुनेछ ।

भरतपुरमा निर्माणाधीन रङ्गशालासँग नाम मिलेको सम्बन्धमा जिज्ञासा राख्दा सैनामैना नगर कार्यपालिका प्रवक्ता रत्नबहादुर पौडेल खत्रीले मङ्गलबार भएको छलफलमा नामका बारेमा कसैले प्रश्न नउठाएको बताए । उनले गौतम बुद्धको जन्मस्थल रहेकै प्रदेशमा र रुपन्देही जिल्लामै रङ्गशाला बन्न लागेकोले ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ नाम राखेको बताए ।

खत्रीका अनुसार रङ्गशालाका लागि जग्गा खोज्ने क्रममा धुर्मुस सुन्तली फाउन्डेशनबाट सीताराम कट्टेल लगायतको एक समूह सैनामैना पुगेर जग्गा हेरेको थियो । खत्रीले भने, ‘उहाँहरु (सीतारामसहितको समूह) ले हामी अन्यत्र पनि खोजी गर्दैछौँ, यो ठाउँ पनि राम्रो लाग्यो, पछि आउन सक्छौँ भनेर जानुभएको थियो तर आउनु भएन ।’

उनले नगरपालिकाले आफ्नो पूर्वयोजनाअनुसारै क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढाएको बताए ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ४ : १४ बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा