जनकपुर– धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ ।
प्रदेश नं. २ का मुख्यमन्त्री लालबावु राउतले नवनिर्मित सर्पदंश उपचारकेन्द्रको आज शुभारम्भ गरेका हुन् ।
२२ शय्याको सो केन्द्र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी)को रु १ करोड २० लाखको लागतमा निर्माण गरिएको हो । साथै सो नगरपालिकाले उपकरणका साथै अन्य व्यवस्थापनमा रु एक करोड खर्च गरेको जनाइएको छ ।
उपचारकेन्द्रको सञ्चालनको व्यवस्थासमेत नगरपालिकाले गरेको नगरप्रमुख योगेन्द्र पंजियारले जानकारी दिए । केन्द्रमा सर्पदंश बिरामीका निःशुल्क उपचार गरिनेछ । नेपाली सेनाका चिकित्सक टोलीले उपचार गर्नेछन् ।
सो अवसरमा मुख्यमन्त्री राउतले सर्पदंश उपचारकेन्द्र सञ्चालनमा आएसँगै सर्पदंशको कारण जनताले अकालमा मृत्युवरण गर्न नपर्ने बताए ।
गर्मी र बर्षायामको समयमा सर्पको विगविगी रहेको प्रसङ्ग उल्लेख गर्दै उनले एन्टिभेनम खोप उत्पादनका लागि प्रदेश सरकार अग्रसर रहेको जानकारी दिए ।
सर्पदंश उपचारकेन्द्र सञ्चालक समितिका अध्यक्ष लक्ष्मण महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरप्रमुख पँजियारले उपचार केन्द्रको सञ्चालन र व्यवस्थापनमा नगरपालिकाले गर्ने बताए ।
प्रतिक्रिया