सप्तरी- प्रहरीले १३ वर्षअघि भएको जबरर्जस्ती करणी र रहजनी चोरी मुद्दाका एक फरार आरोपितलाई आज पक्राउ गरेको छ ।
सर्वोच्च अदालतबाट २०७६ जेठ १ गते भएको फैसला बमोजिम फरार प्रतिवादी सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका ११ इनरुवाका ५० वर्षीय हरिनारायण यादवलाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ ।
सर्वोच्च अदालतको ०७६ जेठ १ गतेको संयुक्त इजलाशले पुनरावेदन अदालत राजविराजबाट आरोपित हरिनारायण र सोही ठाउँ बस्ने दुधियावाला भनिने खटर यादवलाई गरेको कैद फैसला मिलेकै देखिँदा फैसला सदर हुने ठहर गरेको थियो ।
फैसलापछि फरार रहेका आरोपित हरिनारायणलाई पक्राउ गरिएको र खटरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।
पुनरावेदन अदालत राजविराजले ०७१ मङ्सिर २९ गते हरिनारायणलाई पाँच वर्ष कैद र पाँच हजार क्षतिपूर्ति भराउने तथा खटरलाई एक वर्ष ६ महिना कैद सजाय गर्ने फैसला गरेको थियो । उक्त फैसला विरुद्ध ०७३ चैत २५ गते हरिनारायणले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।
यस्तै जिल्ला अदालतको सफाइ दिने फैसला न्यायपूर्ण र पुनरावेदन अदालतले कसुरदार ठहराई गरेको फैसला आधारहिन छ भनी खटरले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।
सप्तरी जिल्ला अदालतले पक्राउ परेका हरिनारायणलाई ०६५ चैत ११ गते एक वर्ष ६ महिनाको कैद र फरार रहेका खटरको हकमा मुद्दा मुल्तबी राख्ने फैसला गरेको थियो ।
भारतको पञ्जाबमा मजदूरी गरिरहेकाले आफूले घटना गराएको होइन भनी ०६७ असार १७ गते खटर जिल्ला अदालतमा हाजिर भई बयान दिएकोमा सप्तरी जिल्ला अदालतबाट २०६७ फागुन १२ गते शङ्कारहित प्रमाणको अभावमा खटरलाई सफाइ दिने फैसला गरेको थियो ।
आरोपित हरिनारायणलाई दाबी भन्दा कम र खटरलाई सफाइ दिने फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग माग दाबी बमोजिम सजाय गरी पाउँ भनी पुनरावेदन अदालत राजविराजमा पुनरावेदन परेकोमा पुनरावेदन अदालतले ०७१ मङ्सिर २९ गते हरिनारायणलाई पाँच वर्ष कैद र पाँच हजार क्षतिपूर्ति भराउने तथा खटरलाई एक वर्ष ६ महिना कैद सजाय गर्ने फैसला गरेको थियो ।
पीडितको ०६४ असोज ३० गते सगरमाथा अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने चिकित्सकको टोलीले पीडितको स्वास्थ्य परीक्षण गर्दा दुई दिनभित्र बलात्कार भएको भनी छुट्टाछट्टै बकपत्र गरेका छन् ।
स्वास्थ्यपरीक्षण प्रतिवेदनमा पीडितको शरीरमा चोटपटक लागेको देखिएको छ । सर्वोच्च अदालतले बलात्कार भएको भनी चिकित्सकले स्वास्थ्यपरीक्षण प्रतिवेदन दिएकाले बलात्कार भएको तथ्य स्थापित भएको उल्लेख गर्दै पुनरावेदनको फैसला सदर गरेको छ ।
सुनसरीको इनरुवामा ज्याला मजदूरी गरी दशैंमा सप्तरीको हनुमाननगरको बाटो हुँदै बर्साइन– ३ स्थित घर फर्किरहेका बेला ०६४ असोज २९ गते राति हरिनारायण र दुधियावाला भनिने खटर यादवले हनुमाननगर कुनौली रोडमा पर्ने कोशी बाँधमा हतियार देखाई ज्यान मार्ने धम्की दिई बलात्कार गरेको र साथमा रहेको १० हजार लुटेको भनी जिल्ला प्रहरी कार्यालयमा पीडितले ०६४ असोज ३० गते उजुरी दिएका थिए ।
उजुरीमा खटरले पीडितको श्रीमानलाई नियन्त्रणमा लिई साथमा रहेको १० हजार लुटेको तथा हरिनारायणले पीडितलाई बलात्कार गरेको उल्लेख छ ।
प्रतिक्रिया