समुदायस्तरमा छिटफुट संक्रमण देखियो, कोरोना परीक्षणको दायरा बढाउनुपर्छ : डा पाण्डे | Khabarhub Khabarhub

समुदायस्तरमा छिटफुट संक्रमण देखियो, कोरोना परीक्षणको दायरा बढाउनुपर्छ : डा पाण्डे


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ०.३ प्रतिशत संक्रमितमा मात्र कोरोनाको लक्षण देखिएको पाइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले नेपालमा देखिएका १६ हजार ८०१ जना कोरोना संक्रमितमध्ये ०.३ प्रतिशतमा मात्र कोरोनाको लक्षण देखिएको जानकारी दिएका हुन् ।

डा पाण्डेका अनुसार कोरोनाको लक्षण देखिएका व्यक्तिहरुमा पनि ज्वरो आउने, खोकी लाग्ने लक्षण भएको तर गम्भिर खालको लक्षण नभएको पाइएको छ ।

नेपालमा ३८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो कुल संक्रमितको ०.२१ प्रतिशत हो । मृत्यु भएका ३८ जनामध्ये २४ जनालाई अन्य दीर्घरोग समेत रहेको डा पाण्डेले बताए ।

डा पाण्डेका अनुसार हालसम्म मृत्यु भएका कोरोना संक्रमितहरुमा दम, क्यान्सर, मिर्गौला सम्बन्धि रोग, कलेजो सम्बन्धी रोग र रक्सी सेवन गर्ने तथा अन्य समस्या भएका व्यक्तिहरु थिए ।

नेपालमा मृत्यु भएको संक्रमितहरु धेरैजस्तो ५० वर्षभन्दा माथिको भएको डा पाण्डेले बताए ।

शनिबारदेखि नेपालमा कोरोना संक्रमितको संख्या एकसय भन्दा तल झरेको छ । आइतबार ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डा पाण्डेका अनुसार आइतबार थपिएका संक्रमितहरुमा पुरुषहरुको संख्या नै धेरै छ । उनीहरु धेरैजस्तो क्वारेन्टाइनमा बसेका व्यक्तिहरु भएको डा पाण्डेले बताए ।

डा पाण्डेका अनुसार नेपालमा कुल संक्रमितमध्ये ८० प्रतिशत पुरुष छन् । तर बागमती प्रदेशमा अन्य प्रदेशको तुलनामा संक्रमति महिलाहरुको संख्या धेरै रहेको छ ।

डा पाण्डेका अनुसार बागमती प्रदेशमा ६० प्रतिशत पुरुष र ४० प्रतिशत महिलामा कोरोना संक्रमण भेटिएको छ ।

किन बढ्दै छ काठमाडौं उपत्यकामा संक्रमण ?

अन्य जिल्लाहरुमा कोरोना संक्रमितको संख्या कम हुँदै जाँदा काठमाडौं उपत्यकामा भने कोरोना संक्रमितको संख्या बढ्दै गएको डा पाण्डेले बताए ।

‘अन्य जिल्लाहरुमा कोरोना संक्रमितको संख्या कम हुँदै गएको छ, तर काठमाडौं उपत्यकाका ३ जिल्लामा भने संक्रमितको संख्या बढी भएर अहिलेसम्म ३४७ जनामा संक्रमित भएको देखिन्छ,’ डा पाण्डेले भने, ‘ जसमा काठमाडौं लगायत ललितपुर र भक्तपुर जिल्लाका विभिन्न ठाउँमा संक्रमित देखिन्छ ।’

डा पाण्डेका अनुसार काठमाडौं उपत्यकामा देखिएका संक्रमितहरुमा विदेशबाट उद्धार गरिएका व्यक्तिहरु र बाहिर जिल्लाबाट आएका व्यक्तिहरु बढी छन् ।

यस्तै केही व्यक्तिहरु भने कहीँ पनि यात्रा नगरेको अर्थात ट्राभल हिस्ट्री नभएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौंका १२ स्थानमा गरिएको परीक्षणमा ३ जनामा संक्रमण 

काठमाडौं उपत्यकामा सदुयामा संक्रमणको अवस्था बुझ्न काठमाडौं उपत्यकाका १२ स्थानमा कोरोना परीक्षण गरिएको डा पाण्डेले बताए ।

डा पाण्डेका अनुसार ललितपुरको नख्खुटोल, काठमाडौंको कोटेश्वर, भक्तपुरको बोडे, शहीद गंगालाल अस्पताल, काठमाडौं महानगरपालिका, शंखमुल, बुढानिलकण्ठ, कपन, त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थल, काठमाडौंको डिल्लीबजार, कागेश्वरी मनोहरा नगरपालिका, टोखा नगरपालिका लगायतका ठाउँ नमुना संकलन गरी कोरोना परीक्षण गरिएको डा पाण्डेले बताए ।

डा पाण्डेका अनुसार काठमाडौं उपत्यकाका १२ स्थानबाट ३ हजार नमुना संकलन गरिएको छ । ती मध्ये १६ सय व्यक्तिको नतिजा आएकोमा ३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको डा पाण्डेले बताए ।

‘काठमाडौं उपत्यकामा नमुना संकलन गरी गरिएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण देखियो, यी तीनजनाको ट्राभल हिस्ट्री नभएको अवस्था देखिन्छ,’ डा पाण्डेले भने, ‘उनीहरु कसरी संक्रमित भए भनेर हामीले कन्ट्याक ट्रेसिङ गरेर अरुको पनि परीक्षण गर्दैछौं ।’

काठमाडौं उपत्यकाका १२ स्थानमा गरिएको परीक्षणको अवस्थाले ०.१८ प्रतिशत समुदयामा संक्रमण भएको पाइएको बताए । डा पाण्डेका अनुसार देशभर ७ प्रतिशत संक्रमितहरु स्थानीय व्यक्ति भएको पाइएको छ ।

समुदायमा कोरोना संक्रमण छ

डा पाण्डेका अनुसार पहिलो चरणमा समुदायमा गरिएको परीक्षणले समुदायमा कोरोना संक्रमण भएको भेटिएको छ ।

समुदायमा कोरोना संक्रमणको अवस्था कस्तो छ भनेर हेर्न समुदायमा परीक्षणको दायरा अझै बढाउनुपर्ने डा पाण्डेले बताए ।

‘समुदायमा कहीँ छिटफुट घटनाहरु छन्, तर यसलाई हामीले व्यापकरुपमा समुदायबाट स्याम्पल लिनुपर्छ,’ डा पाण्डेले भने, ‘यसको जाँचपर्ताल गरेर हामी सुरक्षित छौं, छैनौं भनेर हेर्नुपर्छ ।’

डा पाण्डेका अनुसार समुदायमा कोरोना संक्रमणको अवस्था बुझ्न असार २५ गतेदेखि ४५ हजार व्यक्तिको कोरोना परीक्षणको प्रक्रिया शुरु भएको छ ।

उनले काठमाडौं उपत्यकामा ५ हजार नमुना लिने उदेश्यका साथ प्रक्रिया शुरु भइरहेको पनि बताए ।

काठमाडौं उपत्यकामा सेवाग्राहीको भिड लाग्ने स्थान तथा कार्यालयहरु, स्वास्थ्यकर्मीहरु र जोखिममा रहेका समुहहरुको कोरोना परीक्षण शुरु भएको डा पाण्डेले बताए ।

काठमाडौं उपत्यकामा ५०५ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नगेटिभ आएको उनले बताए । यस्तै अन्य व्यक्तिहरुको रिपोर्ट आउन बाँकी रहेको डा पाण्डेको भनाइ छ ।

यस्तै हालसम्म ४ हजार व्यक्तिको कन्ट्याक ट्रेसिङ मार्फत नमुना संकलनको काम भइसकेको पनि डा पाण्डेले बताए ।

कोरोना परीक्षणको दायरा किन कम ?

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ९१६ जनाको मात्र पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षणको लागि मापदण्ड बनाएको र सोही मापदण्डमा पर्ने व्यक्तिको मात्र कोरोना परीक्षण गर्दा परीक्षणको दायरा कम भएको डा पाण्डेले बताए ।

डा पाण्डेका अनुसार पहिलो चरणमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको परीक्षण गरिएको थियो । तर हाल क्वारेन्टाइनमा रहेकाहरुको संख्या पनि कम हुँदै गएको छ । हाल देशभरका क्वारेन्टाइनमा २३ हजार ७८४ जना रहेका छन् ।

कोरोना परीक्षणका लागि क्वारेन्टाइनमा ५ देखि १० दिन बसेको र लक्षण देखिएमा गरिन्छ । हाल क्वारेन्टाइनमा रहेका व्यक्तिहरु ५ देखि १० दिनभित्र आएका व्यक्ति छैनन् । जसले गर्दा पनि उनीहरुको नमुना संकलन नभइसकेको डा पाण्डेले बताए ।

नमुना परीक्षणको दायरा बढाउन विदेशबाट आएर होल्डिङ सेन्टर, होटल तथा होम क्वारेन्टाइनमा रहेकाहरुको पनि ५ देखि १० दिनभित्रमा पीसीआर परीक्षण गर्न थालिएको डा पाण्डेले बताए ।

यस्तै विभिन्न भारतीय सिमानाकाबाट आउनेहरुको पनि नेपाल भित्रिने वित्तिकै कोरोना परीक्षण गर्न थालिएको डा पाण्डेले बताए ।

सरकारले ‘हाइ रिक्स’मा रहेका ५-१० वटा जिल्लाका व्यक्तिहरुको पनि नमुना संकलन गरी कोरोना परीक्षण गरिएको डा पाण्डेले बताए । यस्तै रिक्स जोनमामा रहेका व्यक्तिहरुको पनि कोरोना परीक्षण गरिने बताए ।

डा पाण्डेका अनुसार स्वास्थ्य मन्त्रालयले ४५ हजार व्यक्तिको कोरोना परीक्षण गरेपश्चात नतिजा आएपछि नेपालमा समुदायमा कोरोना संक्रमणको अवस्थाबारे जानकारी हुने पनि बताए ।

यस्तै ७ वटै प्रदेशमा थप २१ हजार व्यक्तिको कोरोना परीक्षण गरी नेपालमा कोरोना संक्रमणको जोखिमको कस्तो अवस्थामा छ भन्ने अध्ययन पनि गरिने बताए ।

डा पाण्डेका अनुसार हाल स्वास्थ्य मन्त्रालयको तथ्यांकले संक्रमितको संख्या घटेको देखाए पनि वास्तविकतामा संक्रमितको संख्या घटेको हो वा होइन भन्न परीक्षणको दायरा नै बढाउनुपर्ने बताए ।

उनले घना वस्ती भएको काठमाडौं लगायतका स्थानमा विशेष परीक्षण गर्न शुर गरिएको बताए । उनले संक्रमितको संख्या घटेको देखिएपनि सबैजना अझै सचेत हुनुपर्ने बताए ।

अन्य रोगको पनि खतरा

डा पाण्डेले हाल देशभर वर्षाका कारण बाढी पहिरोको समस्या देखिएको र त्यसबाट लाग्नसक्ने रोगहरुको पनि जोखिम भएको बताए ।

डा पाण्डेले नेपालमा अबको एकसातामा झाडापखाला, फुड पैजन, टाइफाइड, हेपाटाइटिस जस्ता रोगहरु पनि लाग्न सक्ने भएकाले सचेत हुन पनि आग्रह गरेका छन् ।

यस्तै अबको दुईसातापछि डेंगु,स्क्रबटाइफस लगायतका रोगहरु पनि देखिन सक्ने डा पाण्डेको भनाइ छ । उनले यस्ता रोगबाट बच्न पनि विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ६ : १२ बजे

इजरायल-हिज्बुल्लाह संघर्ष : सीमा क्षेत्रबाट लाखौं सर्वसाधारण विस्थापित

एजेन्सी – पश्चिम एसियाको इजरायल-लेबनान सीमा क्षेत्रबाट केही दिनभित्रै लाखौं

नेपाल र ओमान बीचको खेल वर्षाले रोकियो

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमान

नेपाल प्रहरीका १४३ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीले एकैपटक १४३ प्रहरी नायब उपरीक्षक (डीएसपी)

बालविवाहमा महान्यायाधिवक्ताको निर्देशन – ‘बहुमुद्दा नचलाउनू’

काठमाडौं – महान्यायाधिवक्ता कार्यालयले महिला र पुरुष दुवै जना नाबालक

फोहरको थुप्रोमा खानेकुरा बनाउने गरेको एलिनाज क्याफेलाई जरिवाना

काठमाडौं – फोहरको थुप्रोमा खानेकुरा बनाएको भेटिएपछि ललितपुरस्थित रोयल एलिनाज