नेकपामा त्रिपक्षीय भीडन्त, सभामुख चयनमा कसको होला पल्ला भारी ? | Khabarhub Khabarhub

नेकपामा त्रिपक्षीय भीडन्त, सभामुख चयनमा कसको होला पल्ला भारी ?


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ सभामुख चयनको विषय थप पेचिलो बन्दै गएको छ ।

सत्तारुढ दल नेपाल कम्युनस्टि पार्टी(नेकपा) को सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने निर्णय गरेको भएपनि उनले राजीनामा दिन अस्वीकार गरेकी छिन् ।

आइतवार(हिजो) संसद बैठक राख्ने तयारी गरेपछि नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुख तुम्बाहाङ्फेलाई बोलाएर राजीनामा दिन आग्रह गरेका थिए ।

‘राजीनामा दिएर सभामुखका लागि सहज बनाइदिनु पर्‍यो’ भन्दै प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डले आग्रह गरेको भएपनि उपसभामुख तुम्बाहाङ्फेले त्यसलाई ठाडै अस्वीकार गरेको बालुवाटार निकट स्रोतको भनाइ छ ।

तुम्बाहाङ्फेको अडान

उपसभामुख तुम्बाहाङ्फे तत्कालीन नेकपा एमालेकी समानुपातिक सांसद हुन् । एमाले र माओवादी केन्द्रले चुनावी गठवन्धन गरेपछि एमालेको भागमा परेको उपसभामुखमा उनलाई पार्टीले उम्मेदवार बनाएको थियो ।

संविधानमा सभामुख र उपसभामुख दुई फरक दलको हुनुपर्ने र दुई मध्ये एकमा महिला हुनुपर्ने व्यवस्था रहेको छ । तर, सभामुख कृष्णबहादुर महरा बलात्कार प्रकरण तानिएपछि अहिले सभामुखको पद खाली रहेको छ ।

सत्तारुढ दल नेकपाले सभामुख र उपसभामुख मध्ये एक पदमात्र अब आफूले राख्न पाउने छ । त्यसका लागि उसले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा गराएर सभामुख राख्न खोजेको छ ।

तर उपसभामुख तुम्बाहाङ्फेले भने पदबाट राजीनामा दिन अस्वीकार गरेकी छिन् । उनले आफूमा पनि सभामुख बन्ने योग्यता भएको बताउँदै आएकी छिन् ।

खबरहबसँगको कुराकानीमा उपसभामुख तुम्बाहाङ्फेले आफूलाई राजीनामा गर भनेर आदेश दिने अधिकार नेकपासँग नरहेको तर्क गरेकी छिन् । उनले आफूलाई नेकपाले राजीनामा गर्न गरेको आग्रहको औपचारिक पत्रसमेत नआएको बताइन् ।‘

निर्देशन जारी गरेको हो भने त्यो मान्य हुन्न । एउटा संस्थाको प्रमुख पदमा बसेको व्यक्तिलाई निर्देशन जारी गर्न मिल्दैन’ उनले भनिन्,‘संस्थाको नेतृत्व तहमा बसेको व्यक्तिलाई कुनै एउटा दलले निर्देशन जारी गर्न सक्दैन, मिल्दैन । तर उसले आग्रह गर्नसक्छ । के शब्द प्रयोग गरेको छ पत्रमा मलाई प्राप्त भएको छैन ।’

उनले सभामुखमा आफ्नो दाबी रहेको बताइन् । तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएसँगै आफ्नो स्वभाविक दाबी रहेको उनको भनाइ छ ।

‘सभामुखको दाबी त जुन दिन पूर्वसभामुख महराजीको राजीनामा स्वीकृत गरेर सार्वजनिक गरेका थिए, त्यही दिन मैले सार्वजनिक गरेको मेरो दाबी अहिले पनि कायम छ’ उनले भनिन् ।

उनले सभामुखका लागि आफू योग्य भएको भन्दै नेकपाका दुई अध्यक्षलाई सूची नै बुझाएकी थिइन् । आफूलाई राजीनामा गराउनु पर्नाको कारण र नयाँ सभामुखको नामबारे जानकारी पाएपछि मात्र विचार गर्न सकिने निर्णय आइतवार बालुवाटार पुगेर उनले अध्यक्षद्वयलाई सुनाएको स्रोतको दाबी छ ।

नेकपामा त्रिपक्षीय भीडन्त ?

सभामुख प्रकरणमा नेकपामा त्रिपक्षीय भीडन्त देखिएको स्वयं नेकपाका नेताहरुनै स्वीकार गर्छन् ।

नेकपाका एक जना सचिवालय सदस्यले त्रिपक्षीय भीडन्तका कारण समस्या देखिएको खबरहबसँगको कुराकानीमा भने । ‘सभामुख चयनका विषयमा पार्टीमा भन्दा पनि तीन पक्षबीच समस्या देखियो’ नाम नलेख्ने शर्तमा उनले भने,‘शीतलनिवास, बालुवाटार र खुमलटारको आ–आफ्नै स्वाथ्र्यका कारण समस्या भएको हो ।’

उनका अनुसार प्रधानमन्त्री केपी ओली सुवास नेम्वाङलाई सभामुख बनाउन चाहन्छन् भने प्रचण्ड अग्नी सापकोटाको पक्षमा रहेका छन् । त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले उपसभामुख तुम्बाहाङ्फेलाई नै सभामुख बनाउन चाहेकी छिन् ।

ओलीले अमेरिकी सहयोग एमसीसी पास गर्न देखि बैठक सञ्चालन गर्न समेतका लागि नेम्वाङलाई चाहेका छन् । उनी पूर्व माओवादी नेता कृष्णबहादुर महराले जस्तै प्रचण्डले प्रस्ताव गरेका सापकोटा एमसीसीका विषयमा निर्णयमा पुग्न नसक्ने हुन् कि भन्ने संसय प्रस्तुत गरेका छन् ।

उता पूर्व माओवादी पक्षले भने पार्टी एकता गर्दा प्रधानमन्त्री र पहिलो वरियताको अध्यक्षसमेत गुमाएको भन्दै सभामुख कुनै हालतमा नछोड्न प्रचण्डलाई दवाव दिइरहेको छ ।

नेकपाको सरकारमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रभाव पर्ने गरेको नेताहरु स्वीकार गर्छन् । मन्त्रिपरिषद् गठन हुँदा पनि शीतल निवासबाट कोटा खोज्ने गरिएको कतिपयको आरोप छ । नेकपाको स्थायी कमिटीको बैठक जारी रहँदा नेताहरुलाई बोलाएर छलफल गर्ने लगायतको काममा राष्ट्रपति सक्रिय बन्दा उपसभामुखलाई पनि सभामुख बनाउन उनले लविङ गरेको नेकपाका अर्का एक स्थायी कमिटीका सदस्यको भनाइ छ ।

ओलीको शंका

केही दिन अघि नेता वामदेव गौतमको निवास भैसेपाटीमा प्रचण्ड, माधव नेपाल, झलनाथ, वामदेवलगायत बसेर गरिएको छलफलपछि ओली प्रचण्डसँग झस्किएका छन् । पार्टीलाई गतिशिल बनाउन छलफल गरिएको भनिएपनि त्यहाँ आफूविरुद्ध गुटबन्दी गरिएको ओलीको आशंका रहेको छ ।

भैसेपाटीबाट सभामुखमा प्रचण्डलाई साथ दिने आश्वासन पाएको ओलीको बुझाइ रहेको र त्यसकारण पनि सभामुख चयनमा समस्या रहेको पूर्व माओवादी खेमाएका एक नेताले बताए ।

‘बालुवाटारबाट दोहोरो खेल खेलेको देखियो’ पूर्व माओवादी खेमाका एक नेताले भने,‘उपसभामुखलाई राजीनामा गर्न निर्णय पनि गराउने र उनीसँग चाँहि राजीनामा नगर्नुस् भन्ने दोहोरो खेल बालुवाटारबाट भइरहेको छ ।’

उनका अनुसार सभामुख चयनमा बालुवाटार र शीलतनिवासको एक मत रहेको र प्रचण्डलाई गलाएर आफूले भने अनुसारको सभामुख चयन गर्ने प्रयास भइरहेको छ ।

‘पार्टी एकता गर्दादेखिनै पूर्व माओवादीहरु सहमतिमा आउने र गुमाउँदै जाने परिस्थिति बनेको छ, अब त्यस्तो हुने कुरा हुँदैन’ प्रचण्ड निकटका एक नेताले भने ।

विकल्प के ?

पार्टीले निर्णय गर्दा पनि उपसभामुखबाट राजीनामा दिन किन तुम्बाहाङ्फेले राजीनामा दिन अस्वीकार गरिन् भन्ने प्रश्न आम रुपमा उठेको छ । नेकपाकै नेताले शीतलनिवासबाट पाएको सद्भावका कारण उनी नेकपाको निर्णयलाई चुनौती दिन पनि पछि नपरेको बताउँछन् ।

कतिपयले पार्टीले समानुपातिक सांसदबाट फिर्ता बोलाएर वा महाभियोग लगाएर भएपनि उपसभामुख हटाउन मिल्ने बताइरहेका छन् ।
‘पार्टीले निर्णय गरेपछि उहाँले नमान्ने कुरा हुँदैन’ नेकपाका स्रोतले भन्यो,‘महाभियोग नै लगाएर हटाउने अवस्था बन्दैन । उहाँ लामो समय राजनीति गरेर आएको व्यक्ति हो । सभामुख बन्न खोज्नु उपसभामुको लागि स्वभाविक कुरा हो ।’

उता उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि आफूले कुनै पनि हालतमा पदबाट राजीनामा नदिने बरु संविधान र कानूनको आधारमा आफूलाई हटाउन नेकपा अध्यक्षहरुलाई चुनौती नै दिएकी छिन् ।

‘मैले दुबै अध्यक्षलाई आग्रह गरेको छु । संविधानमा भएको प्रावधानलाई कसैले रोकेर रोकिँदैन’ खबरहबसँग उनले भनिन्,‘तपाईंहरुसँग सजिलो अधिकार संविधानको धारा ९१ को उपधारा ६ को ‘ग’ पनि प्रयोग गर्नसक्ने अधिकार छ । ‘ग’ मा उपभामुख र सभामुख रिक्त कसरी हुन्छ भन्ने प्रावधान छ । उपसभामुख पद कसरी रिक्त गराउन सकिन्छ भन्ने स्पष्ट व्यवस्था छ भनेर भनेको छु ।’

उपसभामुख तुम्बाहाङ्फेले पदअनुकूल आचरण नगरेका कारण संसदमा कायम रहेको कूल संख्यामध्ये दुई तिहाई लगाएर हटाउन सकिने व्यवस्था रहेको बारे अध्यक्षहरुलाई स्मरण गराएको बताइन् ।

‘ मैले उहाँहरुलाई त्यो गर्नुस् भनेर भनिसकेको छु । अर्को संसदको सदस्य नरहेमा भन्ने अर्को प्रावधान पनि छ’ उनले भनिन्,‘ त्यो भनेको समानुपातिकबाट म सांसद बनेको हो । समानुपातिकको लिष्टबाट निकालेर तिमी हाम्रो माननीय हैन भन्न सक्छ । गर्न सक्छ । मैले यो कुरा पनि बताएको छु ।’

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  २ : ०७ बजे

राजेन्द्र महतोले यसरी गरे राष्ट्रिय मुक्ति क्रान्ति (तस्बिरहरु)

काठमाडौं– राजेन्द्र महतो संयोजकत्वको राष्ट्रिय मुक्ति क्रान्तिले काठमाडौंमा सांस्कृतिक प्रतिरोध

सुहाङ ५ हजार ६६२ मतले अगाडि

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी