चितवन – चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुलेको दुई सातामा नै पुनः बन्द भएका छन् ।
साउन १५ गतेदेखि खुलेका होटल बुधबारबाट बन्द भएका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल बन्द गर्ने भनेसँगै पुनः बन्द भएका हुन् । त्यसअघि चैत ११ गतेबाट बन्द भएका होटल चार महिनापछि सञ्चालनमा आएका थिए ।
कर्मचारी बोलाएर सरसफाइ, मर्मतसम्भार, रङरोगन, इन्टरनेट जडानलगायत काम सकिन नपाउँदै पुनः होटल बन्द भएको उहाँको गुनासो छ ।
सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे आउँदो दशैँअघि होटल खोल्नुको औचित्य नहुने बताए । सङ्क्रमण बढ्दै गएकाले जिल्ला लकडाउनसँगै लामो दूरीका सवारीसाधन बन्द हुँदा होटलमा ग्राहक नआउने उनको भनाइ छ ।
होटलसँगै रेष्टुराँ पनि बन्द हुन् थालेका छन् । किनेर लैजाने ग्राहक कम हुने भएकाले रेष्टुराँमा ग्राहक नआउने व्यवसायीको भनाइ छ ।
सौराहामा ११० होटल रहेका छन् । यसैगरी साना ठूला १०० हाराहारी रेष्टुराँ छन् । सौराहामा होटलमा प्रत्यक्षरुपमा पाँच हजार ५०० भन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् ।
प्रतिक्रिया