काठमाडौं-नेपालले चीनबाट ल्याएको इन्टरनेट चलाएको २ वर्ष पूरा भएको छ । यो अवधिमा चीनबाट आउने इन्टरनेट थप हुन सकेको छैन भने मूल्य पनि घटेको छैन् ।
नेपाल टेलिकमका अनुसार चीनबाट कुल २.८ जीबी इन्टरनेट ब्याण्डविथ मात्रै नेपाल आइरहेको छ । टेलिकमले दुई वर्षको परीक्षण पछि २०७४ पुसदेखि व्यवसायिक रुपमै चीनतर्फबाट ब्याण्डविथ ल्याउन शरु गरेको थियो । ‘नेपाल-चीन क्रसबोर्डर अप्टिकल फाइबर लिङ्क’ को व्यवसायिक सुरुवातसँगै भारतीय एकाधिकार समेत तोडिएको थियो ।
चाइना टेलिकम कर्पोरेसनसँग सम्झौता गरी टेलिकमले रसुवाको केरुङ हुँदै चीनियाँ ब्याण्डविथ पहिलो पटक नेपाल भित्र्याएको थियो । त्यस अघि टेलिकम भैरहवा, विरगञ्ज र विराटनगर नाका हुँदै भारतीय कम्पनी बीएसएनएल, एयरटेल र टाटासँग निर्भर रहेको थियो ।
चीनबाट इन्टरनेट ब्याण्डविथ भित्रिएसँगै इन्टरनेटको मूल्य घट्ने अुनमान विश्लेषण गरिए पनि त्यो सही सावित हुन सकेको छैन । न त त्यसले भारततर्फको निर्भरतालाई नै कम गर्न सकेको छ । १.५ जीबीपीएस ब्याण्डविथबाट शुरु भएको चीन तर्फको आयात अहिलेसम्म जम्मा १.३ जीबीपीएस मात्रै थपिएको छ ।
टेलिकमका सह–प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार हाल टेलिकमले चीनतर्फबाट कुल २.८ जीबीपीएस ब्याण्डविथ आयात गरिरहेको छ । चीनबाट इन्टरनेट ब्याण्डविथको आयात शुरु हुँदा मूल्यमा भारतीय ब्याण्डविथसँग समान भए पनि गति भने तीब्र हुने उल्लेख गरिएको थियो ।
सिङ्गापुरदेखि समुद्रमुनि बिछ्याइएको फाइबरबाट भारतका विभिन्न सहरमा जोडिदैं त्यहाँका ‘क्यारियर’ मार्फत ब्याण्डविथ नेपालसम्म आइरहेको छ । तर चीनतर्फबाट आउने ब्याण्डविथ भने हङकङ स्थित ट्रान्समिसन केन्द्रबाट चाइना टेलिकम्युनिकेसनले स्थलमार्गबाटै सोझै केरुङम्म ल्याइपुर्याएको छ ।
सिङ्गापुरभन्दा हङ्कङस्थित ट्रान्समिसन केन्द्रसँगको दुरी नजिक पर्ने भएकाले पनि चीनतर्फको इन्टरनेटको गति तुलनात्मक रुपमा तीब्र हुने भनाई तार्किक नै हो । तर, ग्राहकले इन्टरनेटको स्पिडमा पनि कुनै फरक महसुस गर्न सकेका छैनन् ।
प्रवक्ता भण्डारीका अनुसार चीनबाट इन्टरनेट ल्याउन विभिन्न किसिमका समस्या आएकाले पनि यस्तो भएको हो । एकातिर उच्च हिमाली भूभाग भएर फाइबर ल्याइएकाले हिउँको समस्याले बिग्रिँदा मर्मत गर्न समेत कठिन छ भने पहिरोले पनि क्षति पुर्याउने गर्छ ।
त्यसैले पनि टेलिकमले सोचेअनुसार चीनबाट इन्टरनेट ब्याण्डविथ भित्र्याउन नसकेको हो । जबसम्म चीनबाट ठूलो मात्रामा ब्याण्डविथ आउँदैन तबसम्म इन्टरनेटको गति र मूल्यमा त्यसले खासै परिवर्तन ल्याउने संभावना देखिँदैन ।
प्रतिक्रिया