कन्दमूलमा आत्मनिर्भर बन्दै नेपाल « Khabarhub

कन्दमूलमा आत्मनिर्भर बन्दै नेपाल

पुस मसान्तमा पकाएर माघेसंक्रान्तिमा खाने परम्परा



काठमाडौं-माघेसंक्रान्तिमा तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमुल खाने परम्परा छ । नेपालीहरुले करिब ३ हजार वर्ष पहिलेबाट माघेसंक्रान्तिका दिन कन्दमुल खाना थालेको सँस्कृतविद्हरु बताउँछन् ।

कन्दमुल मानिसले हजारौं वर्षअघिदेखि नै खान जानेको बताउँछिन् सँस्कतविद् वीणा पौडेल । सँस्कृती विषयको प्राध्यापक समेत रहेकी वीणा भन्छिन्, ‘मानवको उत्पतिकालदेखि नै कन्दमुल खाना शुरु भयो तर विशेषगरी माघ १ गते खानेप्रचलन चाहिँ करिब ३ हजार वर्षअघिबाट शुरु भएको पाइन्छ ।’

हरेक चाडपर्वको दुई–तीनवटा आयम हुन्छन् त्यो हो–‘प्रकृति र ईश्वर’ । प्रकृतिप्रतिको आस्था र कृतज्ञता जताउने विभिन्न माध्यमबाट प्रकृतिमा फलेको चीजका आधार गर्ने र ईश्वर, कुल देवतालाई अर्पण गरेर त्यो खाने परम्परा रहेको पौडेलले खबरहबलाई जानकारी दिइन् ।

नेपाल कृषि प्रधान देश भएकाले यहाँ बाह्रै महिना विभिन्न प्रकारका खेतीहरु लगाइन्छ । जुन बेला जुन मौसममा फल्छ त्यसको महत्व प्रकृतिसँग जोडिएको हुन्छ ।

जाडोमा फल्ने चीजले शरीरलाई तापक्रम समेत दिन्छ । त्यसकारण पनि कन्दमुल स्वास्थ्यका लागि फाइदाजनक रहेको बताउँदै उनले भनिन्, ‘आयुर्वेदिक हिसाबले पनि तरुलका धेरै गुणहरु छन् जसकारण प्रकृतिले नै जाडो मौसममा खाने गरि कन्दमुललाई उब्जाएको हो।’

पुस मसान्तमा पकाएर माघे संक्रान्तिमा खाने

पौडेलकाअनुसार कन्दमुलाई पुस महिनाको अन्तिम दिन पकाइन्छ । भोलिपल्ट अर्थात् माघ १ गते भगवानलाई चढाएर कन्दमुल खाइन्छ । यो एउटा प्रचलनको रुपमा मानिदै आइएको पाइन्छ ।

कृषिप्रधान मुलुक भएकाले यी सबै कुरा किसानसँग नै जोडिएको पाइन्छ । चिसोमा पाक्न धेरै समय लाग्ने तथा हतारमा खाएर हिँड्नुपर्ने भएकाले पनि अघिल्लो साँझ पकाएर भोलिपल्ट खाने परम्परा रहेको पौडेल बताउँछिन् ।

सामान्य तापक्रममा खाने कुरा पकाएर राख्दा पनि नबिग्रने र त्यसलाई भोलिपल्ट खाने प्रचलन रहेको पनि उनको बुझाइ छ ।

कतिपय खानेकुरा बासी हुँदा भगवानलाई चढाउन नकिल्ने भन्ने भनाइहरु पनि छन् तर तरुल चाहि अघिल्लो दिन पकाएर चोखो ठाउँमा राखेर अनि मात्र भोलिपल्ट चढाइन्छ ।

कालीमाटीमा भित्रियो १ हजार टन तरुल

यही परम्परालाई मध्यनजर गर्दै देशभित्रका विभिन्न जिल्लाहरु बाट यस्ता कन्दमुलहरु ओसारपसार भइरहेका छन् भने भारतबाट पनि आयत भएको छ ।

कालीमाटी फलफुल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार कालीमाटीमा हप्तादिन अघिदेखि विभिन्न जिल्लाबाट कन्दमुल भित्रिरहेको छ ।

कालीमाटीमा सोमबारसम्म १ हजार २ सय ९१ टन तरुल आइपुगेको समितिका निर्देशक तेजेन्द्र प्रसाद पौडेलले जानकारी दिए ।

त्यस्तै १ सय ७२ टन पिँडालु र २ सय ४२ टन सखरखण्ड भित्रिएको पौडेलले बताए ।

‘माघेसंक्रान्तिमा तरुल बढी खपत हुने हुँदा बढी भित्रिएको हो’ पौडेलले भने, ‘पिँडालु र सखरखण्ड गरेर तीनसय टन जति आइपुगेको छ अझै भित्रिने क्रम जारी छ।’

माघ १ गतेका दिन कन्दमुल खाने प्रचलन रहिआएकाले यस दिनका लागि नुवाकोट, सर्लाही, मकवानपुर, तनहुँ, नवलपरासी, गोरखा लगायतका जिल्लाहरुबाट कन्दमुल आइरहेको उनले बताए ।

‘अहिले सखरखण्ड ९५ रुपैयाँ प्रतिकेजी र पिँडालु ७५ रुपैयाँ प्रतिकेजीमा मा बिक्री भइरहेको बताउँदै पौडेलले भने, ‘तरुलको मुल्य १ सय १५ रुपैयाँ प्रतिकेजी छ ।’

कन्दमूलमा आत्मनिर्भरतिर उन्मुख हुँदै नेपाल, सखरखण्ड मात्रै आयत

विगतका वर्षहरुमा भारतबाट तरुल आयत गरिन्थ्यो भने यस वर्ष नेपालमै उत्पादित तरुलले बजार धान्ने भएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष ३९ लाख ६९ हजार रुपैयाँको १ लाख ६७ हजार किलो सखरखण्ड आयत भएको थियो ।

त्यस्तै चालु आर्थिक वर्षको पुसमसान्तसम्म २९ लाख ३२ हजार रुपैयाँको १ लाख ४० किलो सखरखण्ड आयत भएको छ ।

गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्ष सखरखण्डको आयत पनि २७ किलोले कम रहेको छ । यसलाई हेर्दा माघेसंक्रान्तीमा व्यापारीले २९ लाख रुपैयाँको सखरखण्ड आयत गर्ने गरेका छन् ।

यसबाहेक माघेसक्रान्तीमा खाने घर–वन तरुल, पिँडालु, स्कुस लगायतका कन्दमुलमा नेपाल आत्मनिर्भर छ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ११ : ५५ बजे

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार