काठमाडौं– र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट गरिएको कोरोना परीक्षणमा आइतबार बाग्लुङकी एक ६५ वर्षीया महिलामा कोरोना संक्रमण देखियो ।
कोरोना पोजेटिभ देखिएपछि ती महिला र उनको नजिकको सम्पर्कमा रहेका छोरालाई काठेखोला गाउँपालिकाले व्यवस्था गरेको क्वारेन्टाइनमा ल्याइयो ।
क्वारेन्टाइनमा राखेपछि पीसीआर विधिबाट कोरोना परीक्षण गर्न महिलाको (थ्रोड स्वाब) नमूना संकलन गरी पोखरामा रहेको कोरोना परीक्षण ल्याबमा पठाइयो ।
पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट भने नेगेटिभ आयो । पीसीआर विधिबाट गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि गाउँपालिकाले ती महिला र उनका छोरालाई क्वारेन्टाइनबाट घर नै पठाउन लागेको छ ।
oooooooooo
कैलालीमा १४ दिन क्वारेन्टाइनमा बसेकी ६५ वर्षीया अर्की महिलालाई आरडीटीबाट गरिएको परीक्षणमा कोरोना नेगेटिभ भएको नतिजा आएपछि घर पठाइयो । उनको स्वाब समेत संकलन गरी पीसीआर विधिबाट पनि परीक्षण भयो ।
आरडीटी विधिबाट गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको ती महिलाको पीसीआर विधिबाट गरिएको परीक्षणमा भने कोरोना पोजेटिभ देखियो । क्वारेन्टाइन बसाइ सकेर घर फर्किएको दुई दिनपछि ती महिलालाई अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ ।
oooooooooo
आरडीटी विधिबाट सोमबार काठमाडौंमा गरिएको परीक्षणमा पेप्सीकोलाका एकै परिवारका ३ जनामा कोरोना पाजेटिभ देखियो । एकै परिवारको ३ जनामा कोरोना पोजेटिभ देखिए पछि उनीहरुलाई तत्काल पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरी पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा २ जनाको पछिल्लो रिपोर्ट पाजेटिभ आयो । एकै परिवारका ३ जनामा कोरोना संक्रमण भेटिएपछि सरकारले उनीहरु बसेको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट नै सील गरेको अवस्था छ ।
oooooooooo
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पत्रकार सम्मलेनमा प्रदेशका २१ बाहेक अन्य जिल्लाहरुमा आरडीटी किट पुगिसकेको बताएका छन् ।
प्रवक्ता देवकोटाले सोमबारको पत्रकार सम्मेलनमा बोल्दै आरडीटीबाट बैशाख २ गते सम्ममा ६ हजार ६ सय ७ जनाको कोरोना परीक्षण गरिएको बताएका छन् । गत २४ घण्टामा मात्र यो विधिबाट १३ सय १६ वटा परीक्षण गरिएको छ ।
डा देवकोटाले केही जिल्लाहरुमा आरडीटीको रिपोर्ट पोजेटिभ आएको तर, यकीन तथ्यांक मन्त्रालयमा नआइपुगेको बताएका छन् ।
बाग्लुङ, कैलाली र काठमाडौंको तीन वटा परीक्षणको घटनाले सरकारले देशभर आरडीटी किटमार्फत देशभर शुरु गरेको तीव्र परीक्षण प्रति नै एक हिसाबले शंका नै उत्पन्न भएको छ ।
कोरोनाकै उपचार हुने अस्पतालका चिकित्सकहरुले समेत र्यापिड टेस्ट किटको भर पर्न नहुने तर्क गरिरहेको छन् ।
‘हामीले त पहिला नै भनेका थियौं, र्यापिड टेस्ट किटबाट मुस्किलले ४० देखि ५० प्रतिशत मात्र नतिजा सहि आउन सक्छ,’ टेकु अस्पतालका एक चिकित्सकले भने, ‘तर सरकारले त्यही विधिबाट परीक्षण गर्दा फरक फरक नजिता आइरहेको छ । यसले सबैमा झनै अन्यौलता बढाएको छ ।’
उनका अनुसार विदेशबाट आउने तथा क्वारेन्टाइनमा रहेका व्यक्तिको र्यापिड टेस्ट किटबाट गरिएकै परिक्षणको आधारमा पोजेटिभ वा नेगेटिभ भएको इकीन गर्न सकिँदैन । उनीहरुमा कोरोना भए वा नभएको पुष्टि गर्न पीसीआर विधिबाटै परीक्षण हुन आवश्यक रहेको चिकित्सकहरु बताउँछन् ।
‘अहिले, विदेशबाट आएकाहरु र क्वारेन्टाइनमा भएका व्यक्तिको र्यापिड टेस्ट किटबाट परीक्षण गर्ने र पोजेटिभ देखिएकालाई मात्र फेरी पीसीआर विधिबाट परीक्षण गर्ने काम भइरहेको छ,’ काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका एक चिकित्सकले खबरहबसँग भने, ‘क्वारेन्टाइनमा रहेका तथा विदेशबाट आएका सबैलाई पीसीआरबाटै टेस्ट गर्नुपर्छ । र्यापिड टेस्ट किटले नेगेटिभ देखायो भने ढुक्क हुनसक्ने अवस्था छैन ।’
र्यापिड टेस्ट किट र पीसीआरको विषयमा चिकित्सकहरु नै अन्यौल भएपछि स्वास्थ्य मन्त्रालयले मंगलबारको पत्रकार सम्मलेनमा दुवै विधिबाट हुने परीक्षणको विषयमा जानकारी गराएको छ ।
के हो र्यापिड टेस्ट र पीसीआर विधिको परीक्षण ?
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाले आरडीटी अर्थात र्यापिड डाइग्नोस्टिक टेस्ट र पीसीआर विधिबाट गरिने परिक्षणको विषयमा जानकारी दिएकी छन् ।
डा झाको शब्दमा यस्तो हो र्यापिड डाइग्नोस्टिक टेस्ट र पीसीआर टेस्ट–
कोभिड १९ भए नभएको परीक्षण गर्ने वर्ल्ड स्ट्यान्डर विधि भनेको पीसीआर परीक्षण हो । यो परीक्षण भनेको रियल टाइम तथा पोलिमरेस चेन रिएक्सन हो ।
यस विधिमा जुन नमूना हामीले संकलन गछौं, त्यस नमूनामा जीनको टुक्राहरु छन् कि छैनन् भनेर परीक्षण गरिन्छ । त्यो नमूनामा जिनका टुक्राहरु छन् भने त्यो ठाउँमा भाइरस छन् भने प्रमाणित हुन्छ । त्यसैले त्यो परीक्षणबाट नमूना लिएको समयमा सम्बन्धित व्यक्तिको शरीरमा भाइरस छ कि छैन भनेर पत्ता लाग्छ । यदि भाइरस छ भने संक्रमण भएको पुष्टि हुन्छ ।
यसरी एकजना इन्फेक्सन भइसकेको व्यक्तिको शरीरमा त्यो भाइरस कति दिनसम्म रहने भन्ने कुरा व्यक्ति अनुसार फरक हुनसक्छ । व्यक्तिको रोगसँग लड्ने क्षमता अनुसार कुनै व्यक्तिमा भाइरस छिटै क्लियर हुनसक्छ भने कुनै कुनै व्यक्तिमा ३ देखि ४ हप्तासम्म शरीरमा भाइरस रहन सक्ने हुन्छ ।
तर, यो पीसीआर परीक्षण भनेको अत्यन्तै जटिल परीक्षण र समय लाग्ने हुन्छ । यसको प्रयोगशाला पनि विशेष किसिमको हुनुपर्छ । र परीक्षण गर्ने प्राविधिकले पनि तालिम पाएको वा विज्ञता हासिल गरेको व्यक्ति हुनुपर्छ । त्यसैले गर्दा यो (कोभिड १९) रोग आएदेखि नै विभिन्न वैज्ञानिकहरुले अर्को विधिबाट पनि परीक्षण गर्न सकिन्छ कि भनेर लगातार रिसर्च गरीरहनु भएको छ । त्यहि रिसर्चको बेसिसमा हाल आएर शरीरले भाइरससँग लड्नको लागि बनाउने एन्टिबढी हुन्छ त्यो एन्टिबढीहरु पनि परीक्षण गरेर यो रोग पत्ता लगाउन सकिन्छ कि भनेर नयाँ नयाँ विधिहरुको विकास भइरहेका छन् । कोभिड १९ संक्रमित व्यक्तिको शरीरले दुई किसिमको एन्टिबडीहरु बनाउँछ । शुरुमा बन्ने भनेको आइजीएम (इम्युनोग्लोबिन एम) र त्यसपछि आइजीजी ( इम्युनोग्लोबिन जी) हो । आइजीएम रोग लागिसकेपछि तीन देखि ५ दिनमा वा समान्यतया एक सातामा देखिन थाल्छ । यो व्यक्ति अनुसार फरक हुन्छ । आइजीएम झण्डै दुई तीन हप्ता शरीरमा रहन सक्छ ।
रोग लागेको दुई हप्तापछि आइजीजी भन्ने एन्टिबडी बन्न थाल्छ । यो आइजीजी एन्टिबडी शरीरमा महिनौ सम्म रहन सक्छ । शुरुमा रोग हुँदादेखि भाइरस मात्र भेटिने भयो । त्यसपछि ५ देखि ७ दिन वितिसकेपछि आइजीएम एन्टिबडी एन्टिबडी भेटिन सक्छ ।
त्यसपछि एक महिना पछि भाइरस नेगेटिभ हुनसक्छ । तर आइजीजी लामो समय सम्म रहन सक्छ । यसको मतलब हामीले परीक्षण गर्दा शुरुको दिनमा पीसीआर मात्र पोजेटिभ आउन सक्छ । एन्टिबडीको लागि गरिने परीक्षणहरु नेगेटिभ हुन्छ । यस्तै हप्ता १० दिन पछि पीसीआरबाट पनि पोजेटिभ आउने र एन्टिबडीहरु पनि पोजेटिभ आउने हुनसक्छ ।
त्यस्तै, ३ हप्ता, ४ हप्ता वितिसकेपछि पीसीआर नेगेटिभ आउने तर एन्टिबडीको परीक्षण चाहिँ पोजेटिभ देखाउन सक्छ ।
त्यसैले अहिले जतिपनि प्रश्न छन्, पीसीआरबाट पोजेटिभ आयो तर र्यापिड किट वा एन्टिबडीमा देखिएन वा एन्टिबडीमा पोजेटिभ देखियो तर पीसीआरबार देखिएन भन्ने, यी सबै माथि उल्लेख गरिएजस्तै कारणले हुनसक्छ । यो एन्टिबडी परिक्षण गर्ने विभिन्न विधिहरु विकास भइरहेका छन् । यो आफैमा नयाँ विधि चाँहि होइन । हामीले डेगुं, हेपाटाइटिस, एचआइभी यो सबैको डाइग्नोसिस एन्टिबडी परीक्षणबाटै गरीरहेका छौं ।
एन्टिबडी परीक्षणको विभिन्न विधिहरु छन् । एउटा भनेको एलाईजा हो । अर्को र्यापिड टेस्ट हो । एलाईजा धेरै जस्तो प्रयोशालामा प्रयोग गरिने विधि हो । एलाईजा गर्दा ल्याब भित्रै बसेर परीक्षण गर्नुपर्छ । यसको लागि मेसिन चाहिन्छ । दक्ष जनशक्ति चाहिन्छ । एउटा दुईवटा परीक्षण गर्न गाह्रो हुन्छ । ४ देखि ६ घण्टा लगाएर गर्नुपर्ने भएकाले ब्याचमा गर्नुपर्ने हुन्छ । केही कम्पनीहरुले कोभिडको एन्टिबडी परीक्षणको लागि एलाईजा प्रविधि पनि प्रयोग गरेका छन् ।
एन्टिबडीको परीक्षणको अर्को सजिलो विधि भनेको किटमार्फत गरिने र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) हो । जुन नेपालमा पनि अहिले भित्र्याइएको छ । अमेरीका, युके, अस्ट्रेलिया र भारतले पनि आरडीटीबाट परीक्षण शुरु गरीसकेको छ । यो र्यापिड किटको एउटा फाइदा के छ भने धेरै विज्ञता यसको लागि नचाहिने, प्रयोगशाला पनि नचाहिने हुन्छ । फिल्डमा गएर पनि यसको परीक्षण गर्न सकिने ।
प्राविधिकलाई थोरै तालिम दिए हुने र यसको नतिजा पनि १५ मिनेटमै आउने गर्छ । आफैंमा कुनै पनि प्रयोगशाला परीक्षण कुनै पनि परीक्षण रोगका लागि गम्भीर हुँदैन । त्यो बिरामीको त्यतिबेलाको अवस्था र अरु धेरै कुरासँग मिलाएर नतिजा एनालाइसिस गर्नुपर्ने हुन्छ । विभिन्न देशहरुले पीसीआर परीक्षण गर्ने आफ्नो मापदण्ड तोक्नुभएको छ ।
नेपालको पनि आफ्नो मापदण्ड छ । १०० प्रतिशत जनसंख्यालाई कुनै पनि देशले पीसीआर विधिबाट परीक्षण गर्नुपर्छ भनेको छैन । त्यस्तै एउटा निश्चित मापदण्ड बनाएर पीसीआर गर्नुपर्नेलाई पीसीआर नै गर्ने र जो व्यक्तिहरु पीसीआरको परीक्षणको दायरामा आउनु हुन्न उहाँहरुको लागि कुनै अल्टरनेट परीक्षणको व्यवस्था गर्न सके धेरै भन्दा धेरै परीक्षण हुनसक्छ । यसले पीसीआरबाट टेस्ट गर्दा छुट्नेहरु पनि आउँछन् ।
यसले रोगलाई कन्ट्रोल गर्न सजिलो हुन्छ । एन्टिबडी परीक्षणको अर्को फाइदा के छ भने रोग निको भइसकेपछि पीसीआर परीषण नेगेटिभ आउँछ जसलाई पहिला रोग लागिसकेको छ । जसको पीसीआर भएको थिएन त्यस्तालाई पछि परीक्षण गर्दा शरीरमा एन्टिबडी मात्र बाँकी रहन्छ । त्यो एन्टिबडी परीक्षण गरेर समूदायमा कति व्यक्ति संक्रमित भएका थिए बुझ्न पनि सजिलो हुन्छ । पीसीआर भन्दा माथिका पनि केही परीक्षणहरु छन् ।
हामीले पीसीआरका लागि साधारणतया भाइरसको लागि २ देखि ३ वटा जिन हेर्ने कोसिस गछौं भने यो भन्दा माथि जिन सिकोइन्सी, जसले पुरा जिनको परीक्षण गर्छ । अर्को भनेको भाइरस कल्चर हो । यो भनेको लिइएको नमूनाबाट प्रयोशालामा भाइरस निकाल्ने प्रविधि हो । तर यो रेकुमेन्डेट छैन ।
यसरी प्रयोगशाला परीक्षण सँगसँगै ट्राभल हिस्ट्री, अर्थात ज्वरो छ कि छैन, खोकी छ कि छैन, सिटीस्क्यानको नतिजा, पीसीआरको नतिजा सबै मिलाएर रोगको पहिचान गर्न सकिन्छ ।
अर्को कुरा पीसीआरको नतिजा कति समयमा आउँछ भनेर प्रश्न आउछ । म के अनुरोध गर्न चाहन्छु भने यो लामो र जटिल प्रक्रिया हो । हामीसँग अहिले भएको इक्युपमेन्ट २४,४८, ९६ क्षमताको छ । एउटा गर्दा पनि त्यहि प्रक्रिया पार गनुपर्ने हुन्छ र धेरै गर्दा पनि उही प्रक्रिया हुने भएकाले हामीले सकभर धेरै भन्दा धेरै परीक्षण एकैचोटी गर्ने कोसिस गछौं । अर्को भनेको अर्जेन्ट नमूना त्यहि अनुसार एउटा नमूनाको ६ घण्टामा पनि नतिजा दिन सक्छौं । तर हामीले समान्यतया २४ देखि ७२ घण्टाको समय माग्छौं ।
प्रतिक्रिया