काठमाडौं– अस्ट्रेलियामा हुने सन् २०२२ को आईसीसी टी–२० विश्वकपमा नेपालले सोझै ग्लोबल क्वालिफायर खेल्ने भएको छ ।
सोमबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको विज्ञप्ति अनुसार २०२२ को टी–२० विश्वकपका लागि नेपालसहित जिम्बाबे, युएई र सिंगापुरले सिधै ग्लोबल छनोट खेल्ने भएका हुन् ।
टी–२० वरियतामा अगाडि रहेको हुँदा नेपालसहित चार टिमले सिधै ग्लोबल क्वालिफार खेल्ने अवसर पाएका हुन् ।
ग्लोबल छनोटमा १६ टीमले प्रतिस्पर्धा गर्नेछन् । दुई समूहमा विभाजन गरिने प्रतिस्पर्धामा दुबै समूहका शीर्ष चार टोलीले विश्वकपमा स्थान बनाउने छन् ।
ग्लोबल क्वालिफायरमा नेपाल, जिम्बावे, युएई र सिंगापुरसहित २०२१ को विश्वकपको अन्तिम चार टिम र रिजनल क्वालिफायरबाट आउने ८ टिमले खेल्नेछन् भने भारतमा हुने २०२१ को विश्वकपका शीर्ष ११ टोली सोझै विश्वकमा प्रवेश पाउनेछन् ।
यस्तै, अस्ट्रेलिया आयोजकका रुपमा विश्वकपमा स्थान पाउनेछ ।
क्षेत्रीय छनोटमा पूर्वी एसिया र अफ्रिकाबाट समान एउटा टिम ग्लोबल क्वालिफायरमा छनोट हुनेछन् ।
यस्तै अमेरिका र युरोपबाट २–२ टिम ग्लोबल क्वालिफायरमा पुग्नेछन् भने एसियन रिजनमा दुई समूहमा क्वालिफायर हुनेछ र दुवै समूहबाट १–१ टिम ग्लोबल क्वालिफायरमा पुग्नेछन् ।
अष्ट्रेलियामा हुने विश्वकपसम्म पुग्नका लागि १३ महिनाको अन्तरालमा कूल २२५ टी–२० अन्तर्राष्ट्रिय खेल हुने छन् ।
रिजनल क्वालिफायरमा कूल ६७ टिमले प्रतिस्पर्धा गर्ने र हंगेरी रोमानिया र सर्बियाले पहिलो पटक टी–२० विश्वकप क्वालिफायर खेल्ने आईसीसीले विज्ञप्तिमा जनाएको छ ।
यसअघि सन् २०२० मा अष्ट्रेलियामा विश्वकप हुने तय थियो र त्यसका लागि १६ टिमको टुङ्गो लागिसकेको थियो । यस्तै २०२१ मा भारतमा अर्को टी–२० विश्वकप आयोजना गर्ने तयारी थियो ।
तर कोरोना महामारीले लामो समय अन्तर्राष्ट्रिय क्रिकेट प्रभावित भएकोले अब २०२० को लागि छनोट भएका टिमहरुले सन् २०२१ मा भारतमा टी–२० विश्वकप खेल्नेछन् ।
प्रतिक्रिया