लकडाउनमा साढे ६ सय महिलाले गरे आत्महत्या, घरेलु हिंसा बढ्दो | Khabarhub Khabarhub

लकडाउनमा साढे ६ सय महिलाले गरे आत्महत्या, घरेलु हिंसा बढ्दो



काठमाडौँ । देश कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण गर्ने प्रयासमा रहेका वेला घरेलु तथा महिला हिंसाका घटना बढेको पाइएको छ ।

लकडाउनको अवधिमा देशभर महिलाको आत्महत्याका घटना बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । महिलासम्बन्धी हिंसाका बढेको देखिएको नेपाल प्रहरीका प्रवक्ता उमेशराज जोशीको भनाइ छ ।

लकडाउन भएदेखि ८३औँ दिनसम्ममा ६४८ जना महिलाले आत्महत्या गरेका छन् । सबैभन्दा बढी महिलाको आत्महत्याको घटना प्रदेश २ मा भएको देखिएको छ ।

प्रहरीको तथ्यांकअनुसार प्रदेश नम्बर १ मा ११०, प्रदेश नम्बर २ मा १२१, बाग्मती प्रदेशमा ८८ जना महिलाले आत्महत्या गरेका छन् ।

त्यस्तै गण्डकी प्रदेशमा ७६, प्रदेश नम्बर ५ मा ११७, कर्णाली प्रदेशमा ३३, सुदूरपश्चिममा ७२ जना महिलाले आत्महत्या गरेका छन् ।

आत्महत्याको घटना काठमाडौँ उपत्यकाभित्र पनि बढेको छ । उपत्यकाका तीन जिल्लामा लकडाउन अवधिभर ३१ जना महिलाले आत्महत्या गरेको तथ्यांक छ ।

रिपोर्ट प्राप्त भए पनि के कारण ती महिलाले आत्महत्या गरे भन्ने अहिले खुलाउन नमिल्ने प्रवक्ता जोशीले बताए । ‘हामीलाई अंकमात्र प्राप्त हुन्छ,’ जोशीले भने, ‘मुद्दा दर्ता भएपछि अनुसन्धान हुन्छ, अनिमात्र आत्महत्याको कारण थाहा हुन्छ ।’

बढ्दै महिला हिंसाका घटना

प्रहरी प्रवक्ता जोशीले दिएको जानकारी अनुसार लकडाउन अवधिमा देशभरका १ हजार ६८४ महिलालमाथि हिंसाका घटना भएको रिपोर्ट प्राप्त भएको छ ।

जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, बहुविवाह, बोक्सीको आरोप, अवैध गर्भपतन, जातीय छुवाछुत, बालयौन दुराचार, अप्राकृतिक मैथुन लगायतका घटना भएका छन् । अनुसार उल्लिखित घटनामध्ये ५२० जना महिलाले उजुरी दर्ता गराएका छन् ।

जोशीका अनुसार लकडाउनको हालसम्मको अवधिमा सबैभन्दा बढी महिला हिंसाका घटना प्रदेश २ मा भएको रिपोर्ट प्राप्त भएको छ । सबैभन्दा कम घटना भएको प्रदेश कर्णाली रहेको छ ।

प्रहरीको तथ्यांकअनुसार प्रदेश १ मा २५७, प्रदेश २ मा ३०४ र बाग्मती प्रदेशमा २५० वटा महिला हिंसाका घटनाको रिपोर्ट प्राप्त भएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशमा १७१, प्रदेश ५ मा २७६, कर्णाली प्रदेशमा ९१ र सुदूरपश्चिम प्रदेशमा २१६ वटा महिला हिंसाका घटना भएका छन् ।

काठमाडौँ, भक्तपुर र ललितपुर तीन जिल्लामा लकडाउनको समयमा घरेलु हिंसा तथा महिला हिंसा बढेको देखिन्छ । लकडाउनको ८३औँ दिनसम्ममा उपत्यकाभित्र १२२ वटा घटना भएको रिपोर्ट छ ।

घरबाट निस्किन नपाउँदा झन् बढी घटना

हिंसाका कतिपय सार्वजनिक जानकारीमा नआई सामसुम हुन्छन् । मुख्य गरी गरिबी, अशिक्षा, परम्परावादी सोच र बेरोजगारीका कारण घरेलु हिंसा हुने गरेको महिला अधिकारकर्मीहरू बताउँछन् ।

देश लकडाउनमा हुँदा आइपरेको आर्थिक संकटले पनि महिलामाथि हिंसा बढेको बताउँछिन् सञ्चारिका समूहकी पूर्वअध्यक्ष बबिता बस्नेत । ‘लकडाउन सुरु हुँदा केही दिन परिवारका सदस्यसँग रमाएरै बिताए पनि बिस्तारै घरेलु हिंसा हुन थाल्यो’ उनले ‘हाम्रा भान्साहरूमा महिलामाथि हुने घरेलु हिंसा बढेको छ, घरेलु हिंसा धेरैजसो अशिक्षित समाजमा मौलाएको छ ।’

सामाजिक सञ्जाल तथा इन्टरनेटका कारण पनि हिंसा बढेको बताउँछिन् बस्नेत । भन्छिन्, ‘सामाजिक सञ्जालले एकअर्कामा जसरी नजिक गरायो, त्यसरी नै मानिसहरूले व्यक्तिगत स्पेस प्नि खोज्न थाले र कहीँ जान नपाएपछि घरमा हिंसा बढ्यो ।’

लकडाउनमा बलात्कारका घटना पनि बढेको प्रहरी रिपोर्टमा देखिएको उनले बताइन् । लकडाउनको अवधिमा धेरै महिलाहरू घरबाट बाहिर निस्कन नपाएर उजुरी कम भएको र लकडाउन खुलेपछि घटनाको डरलाग्दो रूपमा देखिने बस्नेतको भनाइ छ ।

लकडाउनमा यसरी गर्नुहोस् उजुरी

राष्ट्रिय महिला आयोगले लकडाउनका वेला हुने महिला हिंसा सम्बन्धी उजुरीका लागि काम गर्दै आएको छ । आयोगले महिलाका समस्या हल गर्ने प्रयास गरेको आयोगका प्रवक्ता धुव्रराज क्षेत्री बताउँछन् ।

आयोगले उजुरीका लागि हटलाइन ११४५ नम्बर चालु राखेको छ । आयोगले लकडाउनमा कानुनी परामर्शका लागि पनि अधिवक्ताको नम्बर समेत उपलब्ध गराएको छ ।

आयोगले आफ्नो वेबसाइटमा मनोसामाजिक परामर्श, आश्रय स्थल र बालबालिका सम्बन्धी विषयमा सोधपुछ गर्न पनि नम्बर उपलब्ध गराएको छ ।

विश्वभर उस्तै

युएन वुमनका अनुसार लकडाउनको अवधिमा घरेलु हिंसाका घटनामा फ्रान्समा ३० प्रतिशत, साइप्रसमा ३० प्रतिशत, अर्जेन्टिनामा २५ प्रतिशत र सिङ्गापुरमा ३३ प्रतिशतले घरेलु वृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार क्यानडा, जर्मनी, स्पेन, बेलायत र अमेरिकामा पनि महिलामाथि हिंसाका घटना बढेका छन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  १० : ४६ बजे

चन्द्रमा अध्ययन गर्न चीनले चाङ’ई–६ स्याटेलाइट पठाउने

एजेन्सी – चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले चन्द्रमाको अनुसन्धान गर्न

ताइवानमा ६.१ रेक्टरको भूकम्प 

काठमाडौं– ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको पूर्वी

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच केही बेर

बझाङमा १५ प्रतिशत मतदान

काठमाडौं– बझाङ प्रदेशसभा–१ मा भइरहेको उपनिर्वाचन अन्तर्गत अहिलेसम्म १५ प्रतिशत

साल्पा–सिलिचुङको मुन्दुमी मिथक लिपिबद्ध गरिँदै

ललितपुर– मुन्दुम मौखिक इतिहास हो । किरात समुदायले मुन्दुमलाई जीवनदर्शन