तीतो तितेपाती स्वास्थ्यका लागि बहुउपयोगी छ । तितेपाती नेपालका अधिकांश स्थानमा पाइन्छ । यस वनस्पतिका औषधीय गुण भने कमैलाई थाहा छ । अधिकांशले यसलाई घरपालुवा जनावरको थलामा सोत्तरका रूपमा प्रयोग गर्छन् । यस बास्नादार वनस्पतिलाई जनावरले मिठो मानेर खान्छन् ।
– यावत् गुणको तितेपाती स्वास्थ्यका लागि निकै उपयोगी र औषधिको राजा मानिन्छ । यसलाई अंग्रेजीमा ‘मगवर्ट’ या ‘ब्ल्याक सेज’ भनिन्छ । यसको वैज्ञानिक नाम ‘आर्टिमिसिया भल्गरिस’ हो ।
– चितवन रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले यस वनस्पतिबाट स्यानिटाइजर बनाएर प्रयोगमा पनि ल्याएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पहिलोपटक तितेपातीबाट स्यानिटाइजर तयार पारिएको दाबी विश्वविद्यालयको छ ।
– तितेपातीबाट बनेको औषधि मलेरिया निको पार्न उपयोगी भएको अनुसन्धानका लागि सन् २०१५ मा चिनियाँ वैज्ञानिक चु योयोले ‘फिजियालोजी (मेडिसिन)’तर्फको नोबेल पुरस्कार जितिन् ।
– बाली भित्र्याउनुअघि यसबाट बनेको औषधि छर्केर भण्डारण गर्दा घुनलगायत किराले दुःख नदिने हुनाले किसानका लागि यो निकै उपयोगी छ ।
– तितेपातीको तेलबाट हाड दुखाइ, चिलाउने, उच्च रक्तचाप र ज्वरोको औषधि बनाउन सकिने वनस्पतिविज्ञहरूको दाबी छ । अत्तर बनाउन पनि यसको प्रयोग हुन्छ।
– लुतो निको पार्न र चोट लाग्दा पनि यसको पात माडेर झोल निकाली प्रयोग गरिन्छ । चर्मरोग र सुन्निएको ठाउँमा पनि तितेपाती उपयोगी मानिन्छ ।
– युरिक एसिड, एलर्जी, डिप्रेसन, निद्रासम्बन्धी समस्या निराकरणका लागि पनि यो उपयोगी मानिन्छ ।
– तितेपाती कुटेर पानीमा राखी नुहाउनाले कपालको चाया हराउँछ । यसलाई पानीमा उमालेर दुखेको, ठोक्किएको ठाउँमा सेक्नाले आराम मिल्छ ।
– यसको जराको पाउडर बनाई बिहान मनतातो पानीमा एक–एक चम्चा खाँदा जुका र चुर्ना स्वतः हराउँछन् । मधुमेहका बिरामीले पनि त्यस्तो पाउडर राति सुत्ने वेलामा पानीमा घोलेर एक सातासम्म खाँदा फाइदा गर्छ ।
– बाथ, पित्त र त्रिदोषजस्ता रोग नियन्त्रणमा पनि यो निकै उपयोगी साबित भएको छ ।
– महिनावारी गडबड हुने समस्या समाधानमा पनि यो उत्तम औषधि हो । तर, गर्भवतीले यसको प्रयोग गर्नुहुँदैन ।
– यसको जुस ३० ग्राम पिउँदा ज्वरो र विषाक्त शरीरलाई तत्काल लाभ पुर्याउँछ ।
– तितेपातीको तेल मस्तिष्कको स्वास्थ्यका लागि राम्रो मानिन्छ । कसैलाई नर्भस हुने समस्या छ भने तितेपाती र रोजमेरीको तेल मिसाएर प्रयोग गर्नाले समस्या हराएर जान्छ ।
– रसुवाको उत्तरगया गाउँपालिकास्थित ठूलोगाउँमा गत वर्षदेखि तितेपातीको तेल उत्पादन सुरु गरिएको छ ।
– युरोपमा यसलाई एक ‘कमन हर्ब’का रूपमा खानामा प्रयोग गरिन्छ । विभिन्न सुप, स्टु र सलादमा तितेपातीको फूल, पात र डाँठ पनि प्रयोग गरिन्छ । मासुका परिकारमा पनि मसलाको रूपमा यसको प्रयोग हुन्छ ।फ्याटी एसिड कम र भिटामिन सी पर्याप्त हुने हुँदा स्वास्थ्यका लागि यो लाभदायक मानिन्छ ।
– तितेपातीबाट लस्सी (स्मुथी) र जेल्ली पनि बनाइन्छ । युरोपेली मुलुकका नागरिकले मसरुम सुपमा तितेपाती मिसाउँदा चाख दिएर पिउँछन् ।
– राइस प्यान केक, स्टिम बन, स्पिरिङ स्न्याक्स, डाइसुकु, दुनोट, डिमसमजस्ता कोरियाली परम्परागत खानामा यसको प्रयोग हुन्छ ।
प्रतिक्रिया