नागरिकलाई शीतलहर र हिमपातबाट जोगाउन गृहको पूर्वतयारी « Khabarhub

नागरिकलाई शीतलहर र हिमपातबाट जोगाउन गृहको पूर्वतयारी


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– गृह मन्त्रालयले जाडोबाट नागरिकलाई जोगाउन ‘शीतलहर तथा हिमपात विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य मार्ग दर्शन २०७७’ स्वीकृत गरी लागू गरेको छ ।

जाडो मौसम शुरु भएसँगै शीतलहर र हिमपातबाट जनधनको क्षति रोक्न मार्गदर्शन जारी भएसँगै ७७ वटै जिल्लामा चरणबद्ध रुपमा पूर्व तयारीका कार्यक्रम शुरु भएको छ ।

गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले सूचना सङ्कलनदेखि विपद् हुन नदिन र विपद्का घटना भइहालेमा उद्धार, राहत वितरण तथा पुनःस्थापनका कार्यक्रम तय गरी तयारी थालिसकिएको जानकारी दिए ।

स्थानीय र जिल्ला विपद् व्यवस्थापन समितिले तत्कालै अबस्था अध्ययन गरी विवरण सङकलन गर्ने, साधनस्रोतको कमी रहे÷नरहेको पहिचान गरी त्यसको जोहो गर्ने तथा अपुग सामग्री केन्द्रमा माग गर्ने मार्गदर्शनमा उल्लेख छ ।

तल्लो तहबाट आएको प्रतिवेदनका आधारमा सङ्घीय सरकारबाट आवश्यक सहयोग तथा व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत भएको छ ।

केही अघि बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले सबै जिल्लाका स्थानीय तहलाई आवश्यक तयारीमा लाग्न निर्देशन दिइसकेको छ । त्यसका लागि जिम्मेवार निकायको रुपमा जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यावस्थापन समितिलाई तोकिएको छ ।

सहयोगीका रुपमा प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति रहेको मार्गदर्शनमा उल्लेख छ । यस्तै राहत, आश्रयस्थलको व्यवस्थापकीय कार्यसमेत तत्काल प्रबन्ध गर्ने गरी कार्यक्रम अघि बढेको पोखरेलले बताए । सोही व्यवस्थापन र अवस्था अध्ययनका लागि हालै मात्र शीतलहरबाट बढी प्रभावित हुने तराईका विभिन्न जिल्ला पुगेर प्राधिकरणले छलफल चलाएको उनले जानकारी दिए ।

विगत १० वर्षको तथ्याङ्क हेर्दा मुलुकमा शितलहरका कारण ११६ जनाले ज्यान गुमाएका छन् । विसं २०७१ असोज २८ मा मनाङ, मुस्ताङलगायतको हिमाली क्षेत्रमा आएको हिमआँधी (हुदहुद) का कारण ४३ जनाको ज्यान गएको प्राधिकरणको अभिलेखमा उल्लेख छ । जसमध्ये २१ जना पदयात्री रहेका थिए । त्यहाँ ५० जना हराएका थिए भने ४०० जनाको उद्धार भएको प्राधिकरणले जनाएको छ ।

शीतलहर र हुस्सु तथा हिमपातका कारण ठूलो भौतिक तथा अन्य क्षति भए पनि ठोस अभिलेख भने नभएको प्राधिकरणले जनाएको छ ।

यसवर्ष थप चुनौतीपूर्ण

यसवर्ष भने मनसुनजन्य विपद्मा परेर धेरैको ज्यान गएको र घरबार विहीन भएको अवस्था छ । प्राप्त विवरणअनुसार विभिन्न विपद्जन्य घटनामा वैशाख यता मात्रै ४८६ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोका कारण ज्यान गुमाएका परिवार र घरबारविहीन नागरिक अझै पनि अस्थायी आश्रयस्थलमा रहेका छन् । उनीहरुलाई जाडोको समयमा थप समस्या पर्ने भएकाले अवस्था चुनौतीपूर्ण रहेको देखिएको छ । त्यसमा पनि ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी तथा गर्भवती थप सङ्कटमा छन् ।

कोठा तातो बनाउन आगो ताप्दा निसासिएर मृत्यु तथा घाइते हुने गरेको छ । आगलागीबाट जनधनको क्षति भएको छ । कोभिड–१९ सङ्क्रमणको अवस्था कायमै रहेका बेला जाडो बढेसँगै दोहोरो चुनौती खडा भएकाले विशेष ध्यान दिनुपर्ने विपद्सम्बन्धीको बैठकमा गृहमन्त्री रामबहादुर थापाले बताए ।

गृह मन्त्रालयले न्याना कपडा लगाउन, धेरै चिसोमा नहिँड्न, आगो बालेर कोठा बन्द गरेर नबस्न सर्वसाधारणमा अनुरोध गरेको छ ।

जाडोमा बढी प्रभावित हुने जिल्ला

शीतलहरका कारण सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, कपिलवस्तुलगायत ११ जिल्ला प्रभावित रहेको जनाइएको छ ।

शीतलहरबाट कम प्रभावित जिल्लामा झापा, मोरङ, उदयपुर, चितवन, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर गरी ११ वटा जिल्ला रहेको छ । हिमपातका कारण ताप्लेजुङ्, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुमपूर्व, म्याग्दी गरी २१ जिल्ला रहेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  १० : १५ बजे

जुम्ली किसानले राखे मार्सी धानको बेर्ना

जुम्ला – यहाँको प्रसिद्ध मार्सी धानको बीउ राखिएको छ ।

हाल्यान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित, लिभरपुल पराजित

काठमाडौं – इङ्लिस एफए कप अन्तर्गत क्वार्टरफाइनल खेलमा म्यानचेस्टर सिटीले

प्रहरी ‘अप्रेसन : १८९ जना पक्राउ

काठमाडौं – काठमाडौं प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

४८ घण्टाभित्र सम्झौता गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका

परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाव, रेडियोविकिरण चुहिने जोखिम

तेहरान – अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा