काठमाडौं– विश्वभर अहिले कोरोना भाइरसको त्रास फैलिएको छ ।
चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार नाघिसकेको छ । चीन, अमेरिका, दक्षिण कोरिया सहित १ सय ५७ देशमा कोरोना संक्रमितको संख्या डेढलाख भन्दा बढी भइसकेको छ ।
नेपालमा भने हालसम्म एकजनामा कोरोनाको संक्रमण देखिएको र ती व्यक्रिलाई पनि ठिक भइसकेको स्वास्थ्य मन्त्रालयको दावी छ । सरकार अहिले कोरोना नेपालमा भित्रिन नदिन उच्च स्तरिय समिति नै गठन गरेर कोरोना संक्रमणको प्रतिकार्यमा व्यस्त भएको छ ।
कोरोनाको संक्रमण नेपाल भित्रिन नदिन पूर्व तयारीमा लागेको सरकार सामु अर्को चुनौती थपिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागले नेपालमा डेंगुको संक्रमण देखिन थालेको जनाएको छ ।
जाडो मौसम सकिएपछि शुरु हुने डेंगुबाट जनावरी देखि हालसम्म ३६ जना बिरामी परेको महाशाखाको तथ्यांक छ । विश्वभर कोरोना भाइरसको त्रास बढ्दै जाँदा नेपालमा डेंगुको रोग समेत थपिने संकेत महाशाखाको तथ्यांकले नै देखाएको छ ।
गत साउनदेखि कात्तिक सम्ममा नेपालमा भण्डै १५ हजार व्यक्तिमा डेंगु रोग देखियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउन देखि कात्तिक सम्ममा डेंगुका कारण ६ जनाको मृत्यु भएको थियो । त्यसैले अब नेपालमा कोरोना भाइरसको विषयमा मात्र होइन डेंगुको विषयमा पनि सबै व्यक्ति समेत हुनुपर्ने देखिन्छ । त्यसैले आज हामी तपाईलाई डेंगु रोगको बारेमा केही जानकारी दिदैछौं ।
के हो डेंगु रोग कसरी बच्ने ?
शुक्रराज अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार डेंगु रोग एडिस जातको पोथि लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । डेंगु सार्ने लामखुट्टेले सफा पानी जम्मा भएको ठाउँमा फुल पार्छ । टायरमा जम्ने आकासेपानी, गमला, घर वरपरको खाल्डाखुल्डीमा जम्ने पानीमा डेंगु सार्ने लामखुट्टेको लार्भा विकास भइ लामखुट्टेको संख्या वृद्धि हुन्छ र मानिसलाई टोकेर डेंगुको संक्रमण गराउँछ ।
डेंगुका लक्षणहरु
–ज्वरो आउने,
–आँखाको गेडीहरु दुख्ने,
– शरीरमा डाबरहरु आउने,
– खाना नरुच्ने,
–जोर्नी तथा मांसपेसीहरु दुख्ने,
– पेट गडबडी हुने,
डेंगुको लक्षण देखिएका बिरामीले जटिल अवस्थामा बाहेक सामान्य लक्षण देखिदा झोलिलो पदार्थ र सिटामोल खाएर १० दिन घरमै आराम गर्दा पनि निको हुने डा पुनले बताए ।तर डेंगुको संक्रमण फैलिएको क्षेत्रमा डेंगुका लक्षण देखिएका बिरामीले भने अस्पतालमा पुगेर डेंगु परीक्षण गराउनुपर्ने हुन्छ ।
डेंगु लागेका के गर्ने ?
–डेंगुको लक्षण देखिएमा जथाभावी औषधि तथा एन्टीबायोटिक नखाने,
–झोलिलो खानेकुरा खाने,
–झुलको प्रयोग गर्ने,
–लामो बाहुला भएको कपडा लगाउने,
–घर वरपरको वातावरणमा पानी जम्न नदिने,
– लामखुट्टेको लार्भा विकास हुने स्थानहरु खोजेर नष्ट गर्ने,
–घरायसी प्रयोजन वा पीउनका लागि ड्रम, गाग्री वा अन्य भाडामा राखिएको पानी राम्रोसँग छोपेर राख्ने ।
प्रतिक्रिया