ढिलोमा साउन पहिलो साता विद्यालय नखुले पढाइ पूरा हुँदैन | Khabarhub Khabarhub

ढिलोमा साउन पहिलो साता विद्यालय नखुले पढाइ पूरा हुँदैन


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमणका कारणले लकडाउन गर्नु परेको थिएन भने देशभर कक्षा १० सम्मका विद्यार्थीहरूले एक महिनाको पढाइ पूरा गरेका हुने थिए ।

माध्यमिक शिक्षा परीक्षा एसईईबाहेक कक्षा ९ सम्मको परीक्षा अधिकांश विद्यालयहरूले सम्पन्न गरेका थिए । सरकारी निर्देशन अनुसार नचलेका केही निजी विद्यालयहरूमा भने परीक्षा बाँकी छ ।

देश लकडाउन भएको दुई महिना हुन लागेको छ । परीक्षाको नतिजा नआउँदै ११ गतेबाट विद्यालयहरू बन्द छन् ।

बाहिरबाट आएर काठमाडौं उपत्यकाका विद्यालयमा पढ्ने धेरै बालबालिका परीक्षा सकेर गाउँ गए । लकडाउन हुने भएपछि त झन धेरै विद्यार्थी र अभिभावकहरू गाउँतिर हिँडे ।

अहिले काठमाडौँ लगायतका ठूला शहरका ४० प्रतिशतसम्म विद्यार्थीहरू गाउँमा रहेको राष्ट्रिय निजी तथा अवासीय विद्यालय असोसिएसन नेपाल (एन प्याब्सन) का अध्यक्ष रितु राज सापकोटा बताउँछन् ।

लकडाउनले बन्द भएपछि अधिकांश विद्यालयले विद्यार्थीको परीक्षाको नतिजा सार्वजनिक गर्न पाएका छैनन् । सापकोटाका अनुसार धेरै विद्यालयले विद्यार्थीलाई अन्योलमा राख्नु अनुचित ठानेर अर्को कक्षामा प्रवेश गरेको खबर पठाएका छन् ।

‘धेरै विद्यालयले नतिजा वेबसाइटमा राखेका छन्,’ उनले खबरहबसँग भने, ‘कतिपयले सम्पर्क गरेर पनि नतिजा सुनाएका छन् ।’

भाइरस संक्रमण फेला नपरेका केही पहाडी जिल्लामा सामुदायिक विद्यालय खुल्न थालेका छन् । विद्यार्थीहरू जहाँ भए पनि उनीहरूलाई सिकाइ, पढाइ र अन्य क्रियाकलापमा जोड्न सके राम्रो हुने सापकोटाको भनाइ छ ।

शैक्षिक सत्रमा प्रभाव पर्दैन : प्याब्सन

विद्यालय तहमा कक्षा १० सम्म वैशाख २ गते नयाँ शैक्षिक सत्रको पढाइ सुरु हुन्छ । यस वर्ष अहिलेसम्म विद्यालय बन्द छन् र लकडाउन लम्बिँदै गएको छ । जेठभरि पनि विद्यालय नखुल्ने संकेत देखिएको छ ।

असारको सुरुमा विद्यालय खुल्न सके भने शैक्षिक सत्र कस्तो हुन्छ ?

निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का सहअध्यक्ष डिके ढुंगानाका अनुसार असारको सुरुमै विद्यालय खुले भने शिक्षण सिकाइमा असर पर्दैन, सहजै पूरा गर्न सकिन्छ । साउन १ गते खुले पनि जम्मा १८० दिन कक्षा सञ्चालन गर्न सकिन्छ । ढुंगाना भन्छन्, ‘चाडपर्व र जाडो-गर्मीको विदा कटौती गरेर पनि शिक्षण सिकाइ पूरा हुन्छ ।’

वर्षभरिमा २२० दिन विद्यालय सञ्चालन गर्नुपर्ने नियम भए पनि सामान्यतया विद्यालयहरूले २०० दिनमा परीक्षासहित शैक्षिक सत्र पूरा गर्ने गरेका छन् । साउन १ गते पढाइ सुरु भए २०० दिन विद्यालय सञ्चालन गर्दा ७० दिन बिदा हुन सक्छ ।

चाडपर्व र शनिबारको विदा केही कटौती गरेर पढाइ पूरा गर्न सकिने हुन्छ ।

अनलाइन कक्षामा ६० प्रतिशत विद्यार्थी

लकडाउन लम्बिँदै गएपछि धेरै विद्यालयले अनलाइन कक्षासमेत चलाएका छन् । सुरुवातमा केही असहज बने पनि अहिले अनलाइन कक्षामा सहभागिता बढ्दै गएको निजी विद्यालय सञ्चालकहरूको भनाइ छ ।

‘प्राप्त रिपोर्टअनुसार ६५ प्रतिशतभन्दा माथि विद्यार्थीहरू अनलाइन कक्षामा सहभागी भएका छन्’ ढुंगानाले भने, ‘अन्य विद्यार्थीहरू विषय शिक्षकहरूसँग फोनमार्फत पनि सम्पर्कमा छन् ।’

उनका अनुसार विद्यार्थीहरूका लागि नेटवर्किङ र इन्टरनेटको पहुँच पुर्‍याउन एन प्याबसनले एनसेलसँग सस्तो डाटा प्याकेजमा, नेपाल टेलिकमसँग शिक्षा प्याकेजमा, सुबिसु र वल्र्ड लिंकसँग नेटवर्किङमा सहकार्य गरेको जनाएको छ ।

‘१५० रुपैयाँमा एकसाता चलाउन मिल्ने गरी एनसेलले डाटा प्याक दिएको छ’ एन प्याब्सनका अध्यक्ष सापकोटाले भने, ‘चार-पाँच सय रुपैयाँ भयो भने एक महिनाभर अनलाइन कक्षामा सहभागी हुने सकिन्छ ।

सरकारले अनलाइन कक्षामा नाममा विद्यार्थीहरूलाई मानसिक तनाव हुने काम नगर्न र अभिभावकसँग कुनै पनि किसिमले शुल्क नउठाउन निर्देशन जारी गरेको छ ।

शुल्क लिने नैतिक आधार छैन

चैतको दोस्रो सातादेखि लकडाउन भए पनि निजी विद्यालयहरूले शिक्षकको चैत महिनाको तलब दिने निर्णय गरेका थिए । त्यसपछि लगातारको लकडाउनले तलब दिने स्रोत नै रोकिएको एन प्याबसका अध्यक्ष सापकोटा बताउँछन् ।

‘लकडाउनले धेरै अभिभावकहरू गाउँबाट फर्किन सकेका छैनन्, पढाइ पनि भएको छैन’ सापकोटाले भने, ‘अभिभावकसँग फी माग्ने नैतिक आधार पनि छैन ।’

सरकारले लकडाउनको अवस्था हेरेर निजी विद्यालयका शिक्षक शिक्षिकाका लागि केही राहत दिने अपेक्षा सञ्चालकका सङ्गठनहरूको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ११ : ३१ बजे

मेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१