धमाधम बन्दै क्वारेन्टिनलाई सस्तो र सजिलो शौचालय « Khabarhub

धमाधम बन्दै क्वारेन्टिनलाई सस्तो र सजिलो शौचालय



काठमाडौँ । काठमाडौँस्थित गैरीधाराका कुमार बस्नेतलाई लकडाउनको बेला घरमा शौचालय आवश्यक पर्‍यो । विदेशमा रहेका नेपाली कामदारहरूलाई फर्किन थालेसँगै गत जेठ २४ गते कुमारका दाजु युएईबाट स्वदेश फर्किए ।

स्वदेश फर्किएसँगै होम क्वारेन्टिनमा बस्न उनी गैरीधारास्थित भाइको घरमा पुगे । कुमारले युएईबाट आएको भाइलाई घरमा परिवारका साथ कसरी व्यवस्थित गर्ने भन्ने भेउ पाएनन् । आफ्नो घर हुँदाहुँदै होटलमा राख्न उनको मन मानेन ।

अलग्गै बस्न सबैभन्दा माथिको तलामा व्यवस्था गरे । मुख्य समस्या शौचालयको भयो । माथिल्लो तलामा शौचालय थिएन । अर्को छुट्टै शौचालय पनि कतै थिएन ।

लकडाउनका कारण तत्काल शौचालय बनाउन पनि सम्भव भएन । केही दिन अधिकतम सुरक्षा अपनाएर एउटै शौचालय प्रयोग गरे ।

एक दिन कुमारले फेसबुकमा सुन्दर यातायात प्रालीले बनाइरहेको पोर्टेबल (एक ठाउँबाट अर्को ठाउँ सार्न मिल्ने) शौचालयको विवरण देखे । उनले शौचालयबारे बुझे । चित्त बुझ्यो । तुरुन्तै माथिल्लो तलामा जडान गराए ।

खर्च र प्रयोगको हिसाबले शौचालय राम्रो रहेको र क्वारेन्टिनमा बसेकाहरू का लागि उपयुक्त हुने उनको भनाइ छ । उनले भने, ‘कोरोना भाइरसको जोखिम हुँदा क्वारेन्टिनमा बसेकाहरूका लागि यो सस्तो र भरपर्दो ट्वाइलेट रहेछ ।’

कोरोना भाइरसको संक्रमणका कारण आइसोलेसनमा रहेका र जोखिम मोल्दै देशभर क्वारेन्टिनमा बसेकाहरूलाई स्थानीय तहले सुरक्षित शौचालय व्यवस्था गर्न नसकेको समाचार आउने गरेको छ ।

नेपालको पहिलो बिजुली बस सञ्चालक कम्पनी सुन्दर यातायात प्रालिका प्राविधिकहरूले चिनियाँ प्राविधिकको सहयोगमा कोभिड–१९ का बिरामीलाई लक्षित गरेर पोर्टेबल शौचालय बनाएका हुन् ।

‘सामूहिकरूपमा शौचालय प्रयोग गर्दा कोरोना भाइरसको जोखिम बढेको समाचारहरू धेरै सुनियो,’ सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापाले भने, ‘त्यससँगै एक व्यक्ति–एक शौचालयको अवधारणा स्वरूप यस्तो शौचालय निर्माण सुरु गरेको हौँ, कोठामै पनि जडान गर्न मिल्छ ।’

कस्तो हुन्छ पोर्टेबल शौचालय ?

थापाका अनुसार साढे ७ फिट उचाइको यस्तो शौचालयमा शौच गरेपछि फोहोर खाल्डो खनेर व्यवस्थापन गर्न वा सिधै ढलमा मिसाउन सकिन्छ ।

‘यो पूर्णतया नेपालमा बनेको शौचालय हो,’ उनले खबरहबसँग भने, ‘एउटा शौचालयको सामान एक ठाउँबाट अर्को ठाउँमा लैजान पनि कठिन छैन ।’

यो शौचालय सामान्य व्यक्तिले जडान गर्न सक्ने थापाको भनाइ छ । ‘क्याटलक पनि दिएका हुन्छौँ, प्राविधिक चाहिएमा पठाउछौँ,’ उनले भने, ‘१० देखि १५ मिनेटमा जडान गर्न सकिन्छ ।’

स्थानीय तहका क्वारेन्टिनमा माग

अहिले कोरोना भाइरस संक्रमणको जोखिम मोल्दै क्वारेन्टिनमा बसेकाहरूका लागि प्रयोग गर्न उपयुक्त शौचालय बनेको प्रयोगकर्ताहरू बताउँछन् ।

थापाका अनुसार आल्मुनियम, फाइबर र पाइप प्रयोग गरी बनाइएको पोर्टेबल शौचालयको मूल्य भ्याटसहित १३ हजार ५ सय रुपैँया पर्छ । पहिलो चरणमा यस्ता शौचालय ५ हजार वटा बनाएर स्थानीय तहहरूमा पठाउने लक्ष्य छ । उनका अनुसार शौचालयको माग बढेको छ ।

कोरोना भाइरसको महामारी फैलिरहँदा शहरमा रहेका अधिकांश मानिसहरू गाउँ फर्किएका छन् । विदेशमा रोजगार गुमाएका नेपाली नागरिकलाई फर्किन थालेसँगै गाउँमा क्वारेन्टिनमा बस्नेको संख्या ह्वातै बढेको छ ।

सोमबार देशभर १ लाख ३३ हजार ८२९ जना क्वारेन्टिनमा रहेका छन् । क्वारेन्टिनमा बस्ने मानिसको संख्या बढेसँगै यस्ता शौचालयको माग बढेको थापाको भनाइ छ । उनले भने, ‘कोभिड–१९ को जोखिममा मात्र होइन, सामान्य अवस्थामा पनि यी शौचालय उपयोगी हुन्छन्, घरमा बूढापाका र बिरामीका लागि सजिलो हुन्छ ।’

थापाका अनुसार शौचालय अपाङ्गता भएका व्यक्तिका लागि पनि अनकूल छ ।

२५ जना कामदारलाई धमाधम

कम्पनीले निर्माण गरेको पहिलो शौचालय छाउनीस्थित कोभिड–१९ कक्षले निर्माण गरेको क्वारेन्टिनमा जडान गरिएको थियो ।

अहिलेसम्म ५ सयभन्दा बढी शौचालय विभिन्न स्थानीय तहमा पुर्‍याइएको छ । थापाका अनुसार २५ जनाको टोलीले दुई सातादेखि शौचालय बनाउने काम गर्दैछ । दैनिक ७० वटासम्म तयार हुन्छन् । शौचालयमा पाँच वर्षसम्मको ग्यारेन्टी छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  १२ : ०६ बजे

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविराम प्रस्ताव

वासिङ्टन- इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा

धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए

म्याग्दी– चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,