डेरावालाको समस्या घरवालातिर सर्दै « Khabarhub

डेरावालाको समस्या घरवालातिर सर्दै



काठमाडौँ- संघीय राजधानी काठमाडौँमा अस्थायी बसोबास गर्न आउने जो कोहीका लागि पनि सबैभन्दा कठिन काम हो डेरा पाउनु । बल्ल पाएको कोठाको भाडा सुन्दा छाँगाबाट खसे झैँ हुन अर्को समस्या । झन् ठूलो समस्या हो वर्षैपिच्छे बढ्ने भाडा ।

कोरोना भाइरस संक्रमणपछि परिस्थिति फरक पर्न थालेको छ । कोभिड-१९ का कारण ठूलो संख्यामा मानिसहरू बाहिरिएसँगै काठमाडौँका घरहरू एकपछि अर्को गर्दै खाली हुनथालेका छन् ।

घरधनीहरूले पनि ‘घर खाली छ’ भन्ने सूचना टाँस्दै भाडामा बस्ने मानिस खोजी गर्न थालेका छन् । सडकपेटी, बिजुलीका पोल र घरका भित्तामा ठूला अक्षरले ‘कोठा खाली छ,’ ‘टु-लेट’ लेखिएको जताततै भेटिन्छ ।

पाँच महिनादेखि घर खाली

काठमाडौँको नारायणटारका पुष्पराज श्रेष्ठको तीन तले घर अहिले खाली भएको छ । माथिल्लो तलामा उनका परिवार बस्छन् । दुई तला भाडामा दिएका थिए ।

उनका लागि परिवारको जिविकोपार्जनमा घरभाडा आम्दानीको मुख्य स्रोत थियो । घर खाली भएको पाँच महिना भयो, कोही नयाँ मान्छे आएको छैन ।

काठमाडौँमा रोजगारी गुमाएकाहरू कोरोना भाइरस संक्रमणबाट बच्न गाउँघर फर्किन थालेपछि काठमाडौँका घर-कोठा खाली हुन थालेका हुन् । यसरी कोठा खाली हुँदा घरभाडा उठाएर जीविकोपार्जन गर्ने घरवालाहरू समस्यामा परेको पुष्पराजको भनाइ छ ।

‘एउटा फ्ल्याटको भाडा २० हजार लिन्थेँ, ४० हजार भाडा आउँथ्यो खानलाई पुग्थ्यो,’ उनले खबरहबसँग भने, ‘पाँच महिना भयो, भाडामा बस्न कोही आएको छैन ।’

पुरानो बानेश्वरका अङ्गद भट्टराईको घरमा तीनवटा फ्ल्याट खाली भएको तीन महिना भयो । भाडामा कोठा खोज्ने कोही आएको छैन । उनले भने, ‘सबैतिर विज्ञापन गरिसकेँ तर सोध्न पनि कोही आएका छैनन् ।’

राजधानी काठमाडौँमा उच्च शिक्षा, रोजगारी, बालबालिकाको राम्रो शिक्षा र अन्य विभिन्न अवसरका लागि देशभरिबाट मानिसहरू भित्रिन्छन् । सेवा र सुविधाका हिसाबले पनि मानिसहरूको रोजाइ राजधानी नै हुन थालेपछि काठमाडौँमा डेरा पाउन ठूलो हैरानी खेप्नु पथ्र्यो ।

मेरो गोरुको बाह्रै टक्का

लकडाउनपछि काठमाडौँ उपत्यकाबाट झण्डै १८ लाख मानिसहरू बाहिरिएको डेरावाल संघले जनाएको छ । संघका अनुसार करिब १० लाख मानिसहरू फेरि काठमाडौँ फर्किने संकेत देखिए पनि ८ लाख मानिसहरू गृहजिल्लातिरै काम गर्न थालेका छन् ।

‘उनीहरू जबसम्म काठमाडौँ फर्किंदैनन् तबसम्म यहाँको आर्थिक पाटो चलायमान हुँदैन, यहाँका धेरै घर खाली नै रहन्छन्,’ संघका अध्यक्ष बलभद्र खनालले खबरहबसँग भने, ‘अहिले उपत्यकाका घर खाली हुने क्रम बढेको छ ।’

भाडा घटाएर दिन खोजे पनि अझै निकै लामो समय कोठाहरू खाली नै रहने उनको भनाइ छ । बढी भाडा लिन र बढाएको बढायै गर्न बानी परेका घरधनीहरू भने भाडा घटाउन अनिच्छुक देखिएको खनालको भनाइ छ ।

‘भाडावालाको समस्या पनि घरवालाले बुझ्नपर्छ’ उनले भने, ‘घरवालाहरूले मेरा गोरुका बाह्रै टक्का भन्ने हो भने काठमाडौँ उपत्यकाका धेरै घर खाली बस्छन् ।’

भाडामा बसिरहेकाहरूलाई पनि छुट दिनुपर्ने खनालको भनाइ छ । कोरोना भाइरस संक्रमण शान्त भएर काठमाडौँका घर भरिने गरी बाहिरबाट मानिसहरू आउन निकै लामो समय लाग्न सक्ने उनले बताए ।

बसोबासका लागि घरभाडासम्बन्धी कुनै नियम छैन । धरधनीले निर्धारण गरेको भाडा नै अन्तिम हुन्छ । हेरक वर्ष भाडा बढाउने र एउटाले छोडेर नयाँ आउँदा पनि बढाउने चलनले काठमाडौँमा घरभाडा बढेको बढ्यै हुने गरेकोमा कोरोनाको कहरपछि डेरावालाको समस्या घरवालातिर सर्न थालेको छ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  १० : ०५ बजे

रुपन्देही अदालतमा प्रक्रिया पूरा गरेपछि थुनामुक्त भए रवि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा

बङ्गलादेशको अखवार भवनमा आगलागी, २५ जना पत्रकारको उद्धार

ढाका- ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी

मिर्चैया अस्पतालको पुरानो भवनबाट नगरपालिकाको सेवा सुरु

सिरहा– यहाँको मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा

सञ्चारमन्त्रीले भने- निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् 

काठमाडौं–  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चितताको बाटोबाट