भदौ अन्तिम साताको वर्षाले किसानलाई राहत « Khabarhub

भदौ अन्तिम साताको वर्षाले किसानलाई राहत


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- भदौ अन्तिमतिर लगातार भएको वर्षा धानखेतीका लागि अमृत भएको छ । भदौ अन्तिम साताको प्रारम्भसँगै दिनदिनै जसो परेको पानीले धानबाली हरियो भएर फिरेपछि महोत्तरीका किसानले राहत महसुस गरेका छन् ।

भदौ लागिकन पानी नपाएको र नाइट्रोजन मल (युरिया) पनि हाल्न नपाएर कक्रिएको धानको गाँज भदौ निगल्दोको पछिल्लो वर्षाले फिरेपछि किसानलाई राहत मिलेको हो ।

भदौ अन्तिम साताको प्रारम्भसँगै महोत्तरीका सबैजसो भेगमा लगातार परिरहेको पानीले पहेँलिनै लागेका धानका बोट फिरेका छन् । दिनहुँजसो केहीबेर धानका जरा मजाले सिञ्चित गर्ने गरी मन्दमन्द भइरहेको वर्षाले बोट हरियो भएर हलक्क बढेको किसान बताउँछन् । महोत्तरीमा भदौ २२ यता दिनहुँजसो केहीबेर पानी पर्दै आएको छ ।

“हामी आकास ताक्नेका लागि त पछिल्लो वर्षा अमृत नै भएको छ”, जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरका किसान मोहनखाँ थारुले भने, “धानको रोपो सरेपछि गाँजिने बेलामा युरिया मल हाल्न पाएनौँ, भदौ तीन सातासम्म खासै पानी पनि परेन तर अहिले भदौ निगल्दो दिनहुँजसो केहीबेर परिरहेको पानीले धान फिरेको छ ।”

भदौ निगल्दोको अहिलेको वर्षामा हुने अम्लीयपनले धानका लागि मलको समेत काम गरेको खाँको भनाइ छ ।

जिल्लाभरिकै कुल खेतीयोग्य जग्गामध्ये ८० प्रतिशतभन्दा बढी आकासे पानीकै भरमा खेती गर्नुपर्ने अवस्था छ । जिल्लामा करिब ७० हजार हेक्टर जग्गामध्ये १० प्रतिशतमा स्थायी सिँचाइको कुलो नहर लाग्ने र करिब त्यत्तिमै वैकल्पिक सिँचाइको प्रबन्ध (इनार पम्पसेट, बोरिङ) जेनतेन पुगेको छ ।

जिल्लाका ८० प्रतिशत जग्गा अझै आकासे पानीको भरमा रहेको कृषि ज्ञान केन्द्र मलङ्गवा, सर्लाही (कार्यक्षेत्र–महोत्तरी, सर्लाही) ले नै जनाएको छ ।

आकासे पानीको भरमा खेती गर्नुपर्ने किसानलाई ठिक समयको वर्षा हुँदा सबै कुरा भेटाएजस्तो लाग्छ । “हुन त के छ र हाम्रा लागि ? न बजारमा मल, न समयमा बीउबिजन, न सुलभ ऋण”, बर्दिवास नगरपालिका–९ का किसान सुरजसिंह कुशवाहा दिक्दारिँदै भन्छन्, “सबै कुरा प्रकृतिकै शरणमा रहेका हामीलाई अहिलेको वर्षाले राहत दिएको हो ।” अब चाहिँ रोगको चपेटामा परिएन भने केही धान भित्र्याउने आस जागेको कुशवाहाको भनाइ छ ।

यसपालि असार निगल्दोदेखि साउन मध्यसम्म राम्ररी पानी परेपछि धान रोप्न सहज भएको किसान सम्झन्छन् । त्यसयता धानको रोपो सरेपछि र त्यसपछि गाँजिने बेलामा युरिया मल हाल्न नपाउँदा विरक्तिएका किसानलाई समय–समयको वर्षाले नै त्राण दिएको छ ।

जिल्लामा यसपालि करिब ४० हजार हेक्टरमा धानखेती गरिएको कृषिसम्बद्ध कार्यालयहरुको आँकडा छ । पछिल्लो पटक अहिले भदौ निगल्दोको वर्षाले सिँचाइसँगै धानका लागि थप पोषणको काम गरेको कृषि ज्ञान केन्द्र मलङ्गवाका कृषिविज्ञ पनि स्वीकार गर्छन् । “अहिलेको वर्षा धान खेतीका लागि अमृत सरह नै भएको छ”, केन्द्रका निमित्त प्रमुख देवानन्द राय भने ।

जिल्लाको मुख्यबाली मानिने धानका लागि अहिलेको वर्षा अमृत सरह भए पनि अन्य नगदेबालीका लागि भने समस्या बनेको छ । तरकारी खेतीको गोडमेल लगातारको वर्षाले गर्न नपाइँदा झारपातले छोपेको किसान बताउँछन् ।

यसबाहेक जिल्लाका भित्री ग्रामीण सडकमात्र नभएर मुख्य सडकहरु नै पछिल्लो वर्षाले हिलाम्य भएका छन् । हिउँदमा सडक मर्मतसम्भार र ढल निकासका काम नगरिँदा बर्सेनि हिलोमा जोतिएर हिँड्नु नियति नै बनेको जिल्लावासी बताउँछन् । अरु जति सकस बढे पनि मुख्यबाली धान अब केही भित्र्याउन सकिन्छ भन्ने विश्वासले राहत पाइएको यहाँका आम किसानको भनाइ छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  १० : १३ बजे

तीन तला माथिबाट खस्दा पाँच वर्षीया बालिकाको मृत्यु

बिर्तामोड– झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु

अष्ट्रेलियाकी विदेशमन्त्रीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई

 काठमाडौं– अष्ट्रेलियाले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार सम्हालेकोमा बधाई दिएको

रवि–ज्ञानेन्द्रबीच भेट, उपसभामुखमा सहकार्यको संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का सभापति रवि लामिछाने र

लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रका कर्मचारी जोखिममा

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शुक्रबार भएको विस्फोटमा इन्डोनेसियाका तीन कर्मचारी

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

एजेन्सी– अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ ।