अवसर र चुनौतीको मझधारमा अनुभवी फुटबलर विराज « Khabarhub

अवसर र चुनौतीको मझधारमा अनुभवी फुटबलर विराज



काठमाडौँ– अनुभवी खेलाडी विराज महर्जन एक वर्षभन्दा बढी समयपछि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा फर्किएका छन् । आइतबार सुरु भएको बन्द प्रशिक्षणमा सहभागी उनले लामो समय बाहिर बस्नु पर्दा निकै पीडा महसुस गरेको बताए ।

विराजले भने, ‘करियरमै सबैभन्दा लामो समय टिमबाट टाढा बस्नु पर्‍यो । त्यो समय निकै पीडादायी थियो । म बयान गर्न सक्दिनँ ।’

विराजले राष्ट्रिय टोलीमा आफ्नो पुनरागमनलाई अर्को अवसरका रूपमा लिएका छन् । करियरको उत्तराद्र्धमा रहेका उनले अबको कुनै अन्तर्राष्ट्रिय खेल खेलेर सन्यास घोषणा गर्ने सोचाइ रहेको बताएका छन् ।

उनका लागि अहिले टोलीमा स्थान बनाउन पक्कै कठिन छ । लामो समय टिम बाहिर रहनु र १० महिना खेल गतिविधि ठप्प हुनु एउटा खेलाडीका लागि प्रतिकूल समय हो । फिटनेस र खेलमा आएको गिरावटका कारण टोलीबाट बाहिरिएका विराजका लागि आएको यो अवसर उनका लागि ठूलो चुनौती पनि हो ।

आफूले सकेको मिहिनेत गर्ने विराजको भनाइ छ । त्यसो त उनी एन्फाले विदाइका लागि व्यवस्थापनको अवसर दिनेमा विश्वस्त छन् । विराजले आइतबार पनि आफूले एन्फासँग कुरा गरेको बताए ।

खेल खस्किएको भन्ने टिप्पणीको प्रतिक्रियामा उनले भने, ‘प्रदर्शन खस्केको पनि हुन सक्छ । त्यो मैलेभन्दा समर्थक र विश्लेषकहरूले मूल्याङ्कन गर्ने कुरा हो । पक्कै पनि १६–१७ वर्षको हुँदाको मेरो प्रदर्शनभन्दा अहिले कमजोर भएको हुनसक्छ । त्यो उमेरसँगै भएको हो ।’

सन् २००८ मा पाकिस्तानसँगको मैत्रिपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका विराज आफ्नो बिदाइ सम्मानका साथ होस् भन्ने चाहन्छन् । उनको बिदाइ टिम व्यवस्थापनले उनलाई दिने अवसरमा निर्भर हुनेछ ।

फिफा विश्वकप २०२२ छनोट तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटको बन्द प्रशिक्षणमा रहेका उनका लागि पहिलो चुनौती चरणबद्धरूपमा हुने खेलाडी छनोट पूरा गर्नु हो । टोलीमा ५८ जना खेलाडी छन्, जसमा धेरै जसो नयाँ छन् ।

विराज ती नयाँ खेलाडीसँग प्रतिस्पर्धामा खरो उत्रिन्छन् छन् त ! उनी भन्छन्, ‘आफ्नो तर्फबाट मिहिनेत गर्ने हो । टिममा पर्छु, पर्दैन मैले भन्न सक्दैन । त्यो व्यवस्थापन र प्रशिक्षकको हातमा छ ।’

विराजले राष्ट्रिय टोलीबाट अन्तिम खेल मलेसियाविरुद्ध सन् २०१९ को अगस्टमा खेलेका थिए । अहिले उनी राष्ट्रिय टोलीका लागि मैदान नफर्किएको १६ महिनाभन्दा बढी भएको छ । यसबीचमा उनले २०७६ सालको को शहीद स्मारक ए डिभिजन लिग खेलेका थिए, जसमा उनले नेतृत्व गरेको मच्छिन्द्र क्लब च्याम्पियन बनेको थियो ।

लिग सकिएपछि तत्कालीन मुख्य प्रशिक्षक योहान कालिनले क्याम्पमा नबोलाउँदा विराज बाहिरै रहे । टिमलाई लिग जिताएका कप्तान क्याम्पमा नपर्दा उनका समर्थकहरूले कालिनको आलोचना समेत गरेका थिए । कालिनले खेलाडीको अनुहार नहेरी टिम छनोट गरेको बताएका थिए ।

‘सबै साथीभाइको साथले मेरो नेतृत्वको टोली लिग च्याम्पियन बन्यो । टोली च्याम्पियन भइसकेपछि क्याम्पमा पर्ने आशा थियो तर राष्ट्रिय टिमको क्याम्पमा नबोलाउँदा धेरै पीडा भयो ।’

घरमा खेल्दा उत्साह छुट्टै हुन्छ
सन् २०१५ पछि राष्ट्रिय टोली २०२१ को मार्चमा दशरथ रङ्गशालामा खेल्दैछ । त्यसका लागि टोलीको बन्द प्रशिक्षण सुरु भइसकेको छ । ‘अवे’ खेलमा कमजोर नतिजा निकालेको नेपाली टोलीले घरमा हुने खेलमा राम्रो गर्ने आशा पूर्वकप्तान महर्जनले देखाएका छन् ।

उनले अपरिचित मैदानमा भन्दा होम ग्राउन्डमा खेलाडीहरू बढी उत्साहित हुने गरेको बताए । उनले भने, ‘आफ्नो होममा खेल्दा आत्मविश्वास हुन्छ । अन्य देशमा गएर खेल्दा खेलाडी केही हदसम्म मानसिक डरमा हुन्छ । घरेलु दर्शकको साथ पाउँदा छुट्टै गर्वका साथ खेल्छ । यसले नतिजामा समेत प्रभाव पार्छ ।’

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १० : १५ बजे

निर्वाचन सामग्री धमाधम जिल्लातिर (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का,

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो