काठमाडौँ– नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ को फाइनल राउण्ड (शीर्ष–३) मा प्रवेश गरेका छन्।
बुधबार राति भएको शीर्ष चारको प्रतिस्पर्धामा उनले सेफ्स टेबल राउण्डमा जिम्बुले झानेको भेडाको मासु बनाएका थिए।
यससँगै उनले रायोको साग, पुदिनाको परौठा, साँधेको भटमास, क्रिस्पी प्याज, स्पाइसी सोयाबिन क्रम्ब्स, बोन म्यारो करी ससलगायत अन्य परिकारहरु पनि जजहरु सामु पस्किएका थिए ।
प्रतियोगिताका प्रत्येक चरणमा नेपाली परिकार पस्किँदै उनी मास्टर सेफको शीर्ष तीनमा पुगेका हुन् ।
नेपाली टोपी लगाएर मास्टर सेफको प्रतियोगितामा सहभागी सन्तोषले आफ्नो सबैभन्दा प्रिय व्यक्तिलाई समर्पित गरेर खाना बनाउनुपर्ने राउन्डमा आमालाई सम्झिएर परिकारहरु बनाएका थिए ।
प्रतियोगिताको दोस्रो राउन्डमा सन्तोषलाई आफूलाई सबैभन्दा मनपर्ने मानिसका लागि खाना बनाउन भनिएको थियो । जसमा सन्तोषले आफ्नी आमालाई सम्झदै परिकार बनाए।
Final 3
Posted by Santosh Shah on Wednesday, 16 December 2020
उनले आमालाई सम्झदै भिन्डी, गंगटाको करी, भुटेको खुर्सानी, खिर, आँप र नरिवलको चटनी, आलु, मेथी र अनारको सलाद, केसर हालिएको भात, तारेको हरियो खुर्सानीसँगै पुरी बनाएका थिए ।
नेपाली खाना बनाएर निर्णायकको मन जित्दै फाइनलसम्म पुगेका सन्तोषले यसअघि निर्णायकलाई कोदोको खिर चखाएर मन जित्न सफल भएका थिए । उनले कोदोको खीरसँगै आँपको कुल्फी र आँपको अमौरा पनि जजसामु पस्किएका थिए । उनले नेवारी परिकार योमरीको स्वाद पनि जजहरुलाई चखाइसकेका छन् ।
त्यसैगरी उनले पोलेको भेडाको मासु, मासुको झोल, सिस्नु र आलुको तरकारी, बेथेको साग, भाङको चटनी, मकैको रोटी, तामाको अचार भुटेको कांक्रोको बियाँ, वन तरुल, कटहरको भुटेको बियाँ, प्याजको अचार, स्याउको चट्नीजस्ता मौलिक नेपाली खानाका परिकारहरु बनाएर उनले जजहरुको मन जित्दै आएका छन् ।
प्रतियोगिताको फाइनल बिहीबार हुँदैछ ।
प्रतिक्रिया