सेवा गर्ने मन भए केले छेक्छ र ! | Khabarhub Khabarhub

सेवा गर्ने मन भए केले छेक्छ र !


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेवा गर्न के मात्रै ठाउँ छैन र ! देशमा लकडाउन छ । जोरपाटीका उत्तम पुडासैनी र उनका सहकर्मीहरू भने बेवारिसे र असहाय गाईबाच्छा खोज्दै डुलिरहेका छन् ।

उत्तम घामको झुल्कोसँगै निवासबाट निस्कछन् र जम्मा पारेका चौपायाको रेखदेख गर्न गोठाटार पुग्छन् । त्यहाँबाट उनी केही साथी लिएर काठमाडौं उपत्यकाका विभिन्न ठाउँ घुम्छन् बेवारिसे गाईबाच्छा खोज्न ।

‘यी असहाय चौपाया खोजेर आश्रय दिन पाउँदा मन हलुका हुन्छ,’ एक वर्षदेखि बाच्छाबाच्छी संरक्षण अभियानमा लागेका उत्तम भन्छन्, ‘गाई त नेपालको राष्ट्रिय जनावर हो, संरक्षणको यस्तो पवित्र काम गर्न पाउँदा गर्व महसुस हुन्छ ।’

अहिले विश्व कोरोना भाइरसको त्रासमा छ । बन्दाबन्दी छ, सबै नेपालीहरू घरमै क्वारेनटाइनमा बसेका छन् । उत्तमलाई भने आफ्नो काममा बन्दाबन्दी लागेको छैन । हतमा पञ्जा र मुखमा मास्क लगायत सुरक्षाका आवश्यक उपाय अपनाएका छन् । यसरी काठमाडौं, ललितपुर र भक्तपुरका सडक घुम्छन् र भोकले छटपटिएका बेवारिसे गाईबाच्छा जम्मा गर्छन् ।

उत्तमको यो पुण्यकार्यमा प्रदेश र स्थानीय सरकार तथा पशुपति क्षेत्र विकास कोषले साथ दिएका छन् । बाग्मती प्रदेश सरकारले बाच्छाबाच्छी आश्रय स्थलसम्म पुर्‍याउन एउटा गाडी दिएको छ ।

उमेरले पाँच दशक पार गरेका उत्तमलाई यी चौपायाको संरक्षण र स्याहारमा अपार आनन्द छ ।

यसरी सुरु भयो अभियान

सात वर्ष वर्षअघि बाग्मती सफाइ अभियान सुरु भयो । यसमा उत्तम पनि सहभागी थिए । बाग्मती सफाइकै क्रममा बेवारिसे बाच्छाबाच्छीतिर उनको ध्यान गयो ।

बितेका ६ वर्षमा बाग्मतीमा १ हजार ४ सयभन्दा बढी असहाय बाच्छाबाच्छी मृत फेला पारेको उनले सुनाए ।

यही क्रममा उनले थाहा पाए, गाईले बाच्छी जन्माए घरमै पालेर त्यसबाट उत्पादन लिँइदोरहेछ । वहर भए चर्ने भएपछि खोला किनारामा लगेर छोडिँदो रहेछ । यस्ता वहरहरू कराउँदा कराउँदै थाकेर मर्ने रहेछन् ।

सडकमा आएपछि कुकुरले पनि मार्ने रहेछ । यस्ता असहाय चौपायाहरू राति चिसोमा बस्ने र दिउँसो तातोको लागि पिच सडकमा पुग्दा गाडीले किचेर मारिँदा रहेछन् ।

खाना नपाएर भौतारिने र मानिसले फ्याँकेको फोहोर खाँदा प्लाष्टिक चपाएर पनि मर्दा रहेछन् ।

यस्तो अवस्था थाहा पाएपछि उत्तम पुगे बेवारिसे बाच्छाबाच्छीको संरक्षण गर्ने निश्चयमा ।

‘त्यसपछि दश जना जति मिलेर यस्ता असहाय बाच्छाबाच्छी संरक्षण अभियान नै सुरु गर्‍यौं’ उत्तमले खबरहबसँग भने, ‘यो वैशाखमा यो अभियान सञ्चालन भएको एक वर्ष पुग्यो ।’

उत्तमको समूहले खोजी खोजी यस्ता असहाय बाच्छाबाच्छी र गाई जम्मा पार्‍यो । सवारी दुर्घटनामा परी घाइते भएका गाई र बाच्छाबाच्छी पनि जम्मा गरे ।

घाइतेको र बिरामीको उपचारका लागि एक जना स्वयम्सेवक चिकित्सकले सहयोग गरेका छन् । उत्तमले भने, ‘डाक्टर हप्ताको तीनपटक आउनुहुन्छ र बिरामी बाच्छाबाच्छीलाई औषधि दिनुहुन्छ ।’

एकवर्षमा ७० वटा बाच्छाबाच्छी जम्मा भए । लकडाउनमा मात्रै १०२ वटा बाच्छाबाच्छी जम्मा गरिए । अहिले पशुपति क्षेत्र विकास कोषको गोठाटारस्थित जग्गामा १७२ वटा गाई र बाच्छाबाच्छीले आश्रय पाएका छन् ।

बाआमाको आशीर्वाद

उत्तमको परिवारमा बाबआमा, श्रीमती छोराछोरी छन् । उनी परिवारजनलाई लकडाउनमा घरबाहिर ननिस्किनू भनेर आफू बेवारिसे बाच्छाबाच्छी खोज्न निस्किन्छन् ।

लकडाउनका बेला सडकमा गाईबाच्छा खोज्दै हिँड्ने छोरालाई के भन्छन् त उनका बाआमाले ? उत्तमको भन्छन्, ‘सुरुमा सम्झाउन केही गाह्रो भएको थियो तर अहिले बाआमाले नै पवित्र काम गर्न केहीले छेक्दैन भनेर आशीर्वाद दिनुहुन्छ ।’

सडकमै मृत्यु कुरेर गाई बसेको दृश्य कति पीडाजनक हुन्छ भन्ने अनुभव गरेका छन् उत्तमले । भन्छन्, ‘सडकमा बिरामी गाई भेटिन्छ, आश्रय दिन्छौँ, परिवारको बालबच्चालाई झैँ सुम्सुम्याउँछौँ । तिनले आँखाबाट आँशु झार्छन् र प्राण त्याग्छन् ।’

उत्तमको आग्रह

गाईलाई परिवारका सदस्यजस्तो मानेर पाल्न उत्तमको आग्रह छ । ‘जनावरमा पनि जीवन र प्राण छ’ उनी भन्छन्, ‘धार्मिक र साँस्कृतिक हिसाबले पनि यसको महत्व छुट्टै छ । गाई एउटा प्राणीमात्र होइन यो त राष्ट्रिय जनावर पनि हो ।’

दूध दिउन्जेल पाल्ने र बूढो भएपछि गोठबाट धपाउने प्रवृत्ति सुधारेर गाई संरक्षण गर्न चेतना अभिवृद्धि आवश्यक रहेको ठहर छ उत्तम र उनको समूहको ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  १ : ५९ बजे

लिङ्देनको सुझाव : संसद् खोल्न समिति बनाऊँ, गृहमन्त्रीको राजीनामा पछिको कुरा हो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य राजेन्द्र

चितवन निकुञ्जका जनावरको आक्रमणबाट सात जनाको मृत्यु

चितवन– जंगली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ ।

अनसनरत डा. गोविन्द केसी अस्पताल भर्ना

काठमाडौं- गत २९ बैशाखदेखि अनसन सुरु गरेका डा. गोविन्द केसीको

८ करोडको कोकिनसहित तीन विदेशी महिला पक्राउ, एकजनाको पेटमा भेटियो एक केजी २६० ग्राम

काठमाडौं- प्रहरीले युगान्डाबाट आएका दुईजना महिलालाई करिब ८ करोड रुपैयाँको

जलवायु परिवर्तनले निम्त्याएका समस्यालाई विश्वव्यापी एजेण्डा बनाउनुपर्छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जलवायु परिवर्तनको