दशैँ शुरु भए पनि छैन यात्रुको चाप, बसपार्क सुनसान | Khabarhub Khabarhub

दशैँ शुरु भए पनि छैन यात्रुको चाप, बसपार्क सुनसान


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालीको महान् पर्व दशैँ शुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन् ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण छ महिना बन्द रहेको सार्वजनिक यातायात एक महिनादेखि खुले पनि यात्रु नहुँदा बसपार्क सुनसान बनेका हुन् ।

विगतका वर्षमा दशैँको समयमा गोँगबुस्थित नयाँ बसपार्क, कलङ्की, कोटेश्वर, बल्खुलगायत क्षेत्रमा टिकट नपाएर यात्रुहरु घण्टौँ बस कुरेर गन्तव्यस्थलसम्म पुग्ने गरे पनि यसपटक यात्रु नभएर बसपार्क क्षेत्र सुनसान बनेको छ ।

नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउदेश्यीय प्रालिले कोभिड–१९को समयलाई सदुपयोग गर्दै नयाँ बसपार्कमा कम्प्युटर प्रणालीमार्फत टिकट बुकिङ खुला गरे पनि भीडभाड हुने दशैँको समयमा समेत यात्रुहरु छैनन् ।

ल्होत्से बहुउदेश्यीय प्रालिले बढी भीडभाड हुने क्षेत्र नयाँ बसपार्कमा कोरोना सङ्क्रमण फैलन नदिन सामाजिक दूरी कायम गरेर प्रविधिको प्रयोगमार्फत टिकट बुकिङ गर्ने व्यवस्था गरेको थियो ।

प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्ल कोभिड–१९ को सङ्क्रमणका कारण यस वर्ष घर जाने यात्रुमा उत्साह नभएको बताउँछन् ।

‘विगतका वर्षमा घटस्थापनादेखि फूलपातीसम्म झण्डै दैनिक एक हजार हाराहारीमा सार्वजनिक यातायात नयाँ बसपार्कबाट बाहिरिने गरे पनि अहिले भने दैनिक २०० सवारी साधन बाहिरिँदै आएका छन्’, उनले भने ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल अधिकांश यात्रु बन्दाबन्दी शुरु हुनुभन्दा पहिले नै घर गएका कारण दशैँको समयमा बसपार्क क्षेत्रमा यात्रुको चहलपहमा कमी आएको बताउँछन् ।

‘एक हप्तादेखि उपत्यका बाहिरिने यात्रुको सङ्ख्यामा क्रमशः वृद्धि हुँदै गएको छ’, उनले भने । विगतका वर्षहरुमा घटस्थापनादेखि फूलपातीको दिनसम्म दैनिक सरदर ८० हजारदेखि एक लाख यात्रु उपत्यका बाहिरिने गरे पनि यस वर्ष भने दैनिक १० देखि २० हजार यात्रु बाहिरिएको महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरीले चाडवाडको समयमा बढी भाडा लिने तथा यात्रुलाई अनावश्यकरूपमा दुःख दिने बस चालकको कारवाहीका लागि सादा पोशाकमा आठ वटा टोली प्रहरी खटाएको छ । यस्तै १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

यातायात व्यवसायीहरु बन्दाबन्दीका कारण छ महिना थन्किएका सार्वजनिक सवारी साधन मर्मतसम्भार गरेर सञ्चालनमा ल्याए पनि यात्रु नहुँदा समस्यामा परेको बताउँछन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला अधिकांश यात्रुहरु साना सवारी साधन रिजर्भ गरेर गन्तव्यस्थलसम्म गएका कारण पनि बसपार्कमा यात्रुको चहलपहल नभएको बताउँछन् ।

‘अधिकांश यात्रु बन्दाबन्दी हुनुभन्दा अगाडि नै घर गएका छन्, बाँकी रहेका यात्रुलाई सरकारले जहाँ हुनुहुन्छ त्यहीँ दशैँ मनाउनुहोस् भनेका कारण पनि बसपार्क क्षेत्र सुनसान छ’, उनले भने ।

सरकारी तथ्याङ्कअनुसार बन्दाबन्दी पहिले नै झण्डै सात लाख यात्रुले उपत्यका छोडिसकेका छन् ।

यस्तै पर्यटक बसमा पनि कोभिड–१९ र बन्दाबन्दीको असर परेको छ । दशैँको समयमा दैनिक दुईदेखि तीन हजार यात्रु बोकेर पोखरा, चितवन, लुम्बिनी र जनकपुर जाने गरेको पर्यटक बसमा यतिबेला यात्रु छैनन् ।

टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)का महासचिव दीपेन्द्र अधिकारी दशैँको समयमा समेत यात्रु नभएको गुनासो गर्छन् ।

‘विगतका वर्षमा घटस्थापनादेखि फूलपातीसम्म दैनिक दुई/तीन हजार पर्यटक बसमा उपत्यकाबाट बाहिरिने गरे पनि यो वर्ष  दैनिक २० देखि ५० यात्रुमात्र बाहिरिएका छन्’, उनले भने । – रासस

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ७ : ०७ बजे

बाजुराका दुई स्थानीय तहलाई भारतीय दूतावासद्वारा एम्बुलेन्स उपहार 

धनगढी– भारत सरकारको उपहार स्वरुप बाजुराका दुई स्थानीय तहले एम्बुलेन्स

ट्राफिक प्रहरी दोलखाद्वारा २ करोड ३३ लाख राजस्व संकलन 

दोलखा– जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले पछिल्लो दश महिनाको अवधिमा

बजेट फेरि सांसदकै भागबन्डामा, चिर्कटोकै भरका योजना     

पोखरा– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आइतबार बजेट

भारतद्वारा नेपाललाई ४० एम्बुलेन्स हस्तान्तरण 

काठमाडौं– भारत सरकारले आज नेपालका विभिन्न जिल्लामा फैलिएका विभिन्न स्वास्थ्य

विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहनेछ : मन्त्री पन्त

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षाको