झुठा र निकृष्ट लाञ्छना सहन्न, अब दुईमध्ये एक हट्नै पर्छ : ओली | Khabarhub Khabarhub

झुठा र निकृष्ट लाञ्छना सहन्न, अब दुईमध्ये एक हट्नै पर्छ : ओली


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको विवाद झनै बल्झिने देखिएको छ ।

हिजो (बुधवार) को सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावको चर्को आलोचना गर्दै अर्को प्रस्ताव ल्याउने बताएपछि दुईपक्षबीचको विवाद पत्राचार, प्रस्ताव हुँदै अब पार्टी कमिटीहरुतर्फ मोडिएको छ ।

आफूले राजनीतिक प्रस्ताव तयार गर्न १० दिनको समयावधि मागेका ओलीले बुधबारको बैठकको सुरूवातमा सम्बोधन गर्दै प्रचण्डको प्रतिवेदनले झुठा र निकृष्ट लाञ्छना लगाइएको भन्दै सहेर नबस्ने चेतावनीसमेत दिएका छन् । ओलीको चेतावनीपछि नेकपाभित्रको विवादले नयाँ मोड लिने देखिएको छ ।

आफूविरूद्ध एक पक्षीयरूपमा कार्यकारी अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव ल्याएपछि चिढिएका ओलीले बुधबारको बैठक सार्न खोजे पनि अन्ततः असफल भए ।

एकपक्षीय रूपमा सरकार सञ्चालन गरेको आरोप खेपेपछि बहुमत सचिवाय सदस्यको घेराबन्दीमा परेका ओलीले बुधबारको सचिवालय बैठकमा पनि लचकता भने देखाएनन् ।

राजनीतिक प्रस्तावका लागि १० दिनको समयावधि मागेका ओलीले बुधबारको बैठकको सुरूवातमा सम्बोधन गर्दै झुठा र निकृष्ट लाञ्छना लगाइएकाले सहेर नबस्ने चेतावनीसमेत दिएका छन् ।

दाहालले गत शुक्रबार सचिवालयमा दर्ता गराएको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनले आफ्नो राजनीतिक जीवन समाप्त पार्ने षड्यन्त्र गरेको उनले बताएका छन् ।

उनले उक्त प्रस्तावलाई राजनीतिक प्रस्ताव नभएर आफ्नो राजनीतिक जीवन समाप्त गर्ने ‘अभियोगपत्र’ आएको बताएका हुन्।

यस्तो छ ओलीले सचिवालयमा गरेको सम्बोधनको पूर्णपाठको सम्पादित अंश –

आजको सचिवालय बैठकको कारबाही प्रारम्भ हुन्छ । म सबै कमरेडहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु । मैले धेरै भनिरहनु पर्ला जस्तो लाग्दैन । बैठक धेरै जटिल मोडमा छ । पार्टी निकै जटिल मोडमा छ । सामान्य अवस्थाबाट पार्टी पनि गुज्रिराखेको छैन । हामी पनि गुज्रिराखेका छैनौँ ।

म एक दुईवटा कुरा राखौँ । अस्तिको बैठकमा केही कुराहरू, जस्तो कि बैठकको एजेण्डाको रूपमा होइन, पत्राचारका रूपमा, जस्तो कि पाँच जना साथीहरूले मलाई बैठक बोलाइयोस् भनेर पत्र दिनुभयो । त्यसमा गम्भीर आरोपहरूसमेत भएको हुनाले मैले बैठक बोलाउने कुरा आफ्नो ठाउँमा छ तर, ती आरोपहरू अनुत्तरित हुन पनि सक्दैनथे । मैले त्यसको जवाफ किन दिनुपर्‍यो ? वास्तवमा ती आरोपहरू सही थिएनन्, अनुपयुक्त, अनुचित, झुठा र भ्रमपूर्ण थिए, तिनको बारेमा मैले स्पष्ट पार्नु नै जरुरी थियो ।

त्यसकारण मैले व्यक्तिगत तवरमा नै, अगुवाइ उहाँको भएको हुनाले, अर्का अध्यक्षलाई पत्र लेखेँ । र, त्यस पत्रको जानकारी बोधार्थका रूपमा पत्र बुझाउन आउने साथीहरूलाई त दिएँ नै, अरू साथीहरूलाई पनि जानकारीका लागि दिएँ । त्यसको प्रत्युत्तरमा चाहिँ अर्को ७ पेजको जवाफ अर्का अध्यक्षले लेख्नुभयो । त्यसको जवाफ मैले दिएको छैन । स्वाभाविकरूपमा त्यसको पनि उचित जवाफ दिनुपर्ने छ ।

त्यसबाहेक त्यसै दिन एउटा प्रस्ताव भनेर अर्का अध्यक्षले मलाई दिनुभयो, अरू सदस्यहरूलाई पनि बाँड्नुभयो । त्यो बैठकमा प्रस्तुत भएको प्रस्ताव होइन । बैठकमा प्रस्ताव प्रस्तुत गर्ने हाम्रो विधि भिन्नै छ । एउटा अध्यक्षलाई जानकारी नभइकन अर्का अध्यक्षले कुनै पनि प्रस्ताव ल्याउन मिल्दैन । त्यस्तो दिनुपर्ने पनि कुनै अवस्था आउला तर अर्का अध्यक्षलाई जानकारी नै नदिइकन, अर्का अध्यक्षमाथि हमला, प्रहार, आलोचना, आरोप र अभियोगसहितको प्रस्तावका नाममा अचानक त्यो मलाई दिनुभयो । अरू साथीहरूलाई पनि वितरण गर्नुभयो । तर, त्यो बैठकमा प्रस्तुत भएको प्रस्ताव होइन । त्यसलाई विधिसम्वत प्रस्ताव भन्न मिल्दैन । तर, त्यस सम्बन्धमा कमिटीमा छलफल आवश्यक छ ।

त्यो प्रस्ताव भनेर जो वितरण भयो, त्यसपछि जुन अखबारबाजी गरियो, यसो गर्नु उचित भयो कि भएन ? केही मतलबको कुरा भएन । अखबारबाजी गर्नका लागि समेत त्यसो गरिएको थियो र त्यसमा केही साथीहरूको संलग्नता र सहमति भएको पनि जानकारी भयो । त्यसो भएर यो विषय धेरै गम्भीर छ ।

मैले अस्ति दुई जना कमरेडहरूलाई बोलाएर कुरा गरेँ, वामदेवजीसँग कुराकानी गरेँ र भनेँ कि यसको छिनोफानो नभइकन, यी आरोपहरूसहित, यी आरोप बोकी बोकीकन कोही पनि मानिस अध्यक्ष वा प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न त मिल्दैन । यी आरोपहरू या त त्यसबाट बदर हुनुपर्‍यो, तब प्रधानमन्त्री र अध्यक्षको जिम्मेवारीमा बस्न मिल्छ । त्यसो होइन भने सदर हुनुपर्‍यो र ती पदहरू र ती जिम्मेवारीबाट हट्नु पर्‍यो ।

यो हटाउने माग त पहिलेदेखि आएकै थियो तर यसपटक हट्ने आधारहरू यी हुन्, यसकारण हट्नु पर्छ भन्ने कुरा पनि आएको छ । पहिलेजस्तो यसमा सोझै प्रधानमन्त्रीबाट हट, अध्यक्षबाट हट भन्ने भाषा छैन तर त्याग गर्नुपर्छ भन्ने कोटेड भाषा रहेको छ । त्याग भन्ने शब्द त्यहाँ राखिएको छ । यस सम्बन्धमा पहिले छिनोफानो हुनुपर्छ । यो आरोप या त सदर ठहरिनु पर्‍यो, अनि प्रधानमन्त्री र अध्यक्ष हट्नु पर्‍यो । यो आरोप सही ठहरिँदैन भने यस्तो आरोप लगाउनेले यसको जिम्मेवारी लिनु पर्‍यो, यसको जवाफदेही लिनुपर्‍यो  ।

अब बाहिर बजारमा त हल्ला सुन्छु, बहुमत छ, अल्ममत छ, के छ, कसको कस्तो छ भन्ने कुराहरू खुबै सुन्छु । मैले त्यस्तो फर्मल्ली देखेको छैन । फर्मल्ली नदेखेसम्म त्यसलाई बहुमत, अल्पमत मान्ने कुरा पनि भएन ।

अब यसमा जानुपर्ने हुन्छ । यसको मैले एउटा जवाफ तयार गरिसकेको छैन । यसमा छलफल गर्न, सिम्प्ली छलफल गर्न र छिनोफानो गर्नका लागि मात्रै बैठक हुनसक्छ । यदि यो सही छ भने एउटा हट्नुपर्छ, सही छैन भने अर्को हट्नुपर्छ ।

अर्को कुरा मैले एउटा भन्नुपर्छ, मलाई अध्यक्ष र प्रधानमन्त्री दुई वटैबाट हटाउने तयारी पनि गरिएको छ । हट्न भनिएको पनि छ । त्यसैगरी मैले अर्का अध्यक्षलाई हट्न भन्यो भने के हुन्छ ? विधि पद्धतिका कुरा के हुन्छन् ? संगठनात्मक सिद्धान्तका कुरा के हुन्छन् ? त्यसमा एकपटक विचार गर्ने हो कि ? किनभने मैले हट्न भनेँ भने त्यसले त अर्को वातावरण निर्माण गर्नसक्छ ।

अर्को कुरा के हो भने, अस्तिको प्रस्ताव नामक अभियोगपत्र आइसकेपछि यसअघिका हाम्रा सहमति, सम्झदारीहरूको त त्यसैले अन्त्यको घोषणा गर्‍यो । त्यो पत्र बन्नुभन्दा पछि पुराना सहमति कायमै छन् भन्ने कुरा रहेन ।

अब पुराना सहमति कायम रहेको अवस्था नरहेको हुनाले एउटा नयाँ निकास पार्टीले खोज्यो । हामीले एउटा नयाँ निकास खोज्नैपर्छ । म चाहन्छु मिलेर जाऔँ, मिलेर जान सकियोस्, पार्टी बचाउन सकियोस् र पार्टीलाई एकताबद्ध राख्न सकियोस् ।

म के भन्न चाहन्छु भने, मिलेर मात्रै पार्टी बचाउन सकिन्छ । लडेर पार्टी बच्दैन । जालझेल र तिकड्म गरेर पार्टी बच्दैन । गुटबन्दी गरेर पार्टी बच्दैन । सबै कुराहरूमा पछि छलफल गरौँला ।

आजचाहिँ म त्यो लाञ्छनापत्र, जो मलाई दिइएको थियो, त्यस पत्रका सम्पूर्ण आरोपहरू, अभियोगहरू, लाञ्छनाहरू, तिरस्कारहरू, अपमानहरू सबैलाई खारेज गर्छु ।

र, यो मेरो राजनीतिक जीवन नै सिध्याउने गरी ल्याइएको आरोपपत्रलाई म पूर्णरूपमा अस्वीकार गर्छु । त्यसको यथोचित जवाफ म लिखितरूपमा नै प्रस्तुत गर्नेछु ।

मैले त्यो पत्रले परिस्थिति अलिक गम्भीर मोडमा पुर्‍यायो भनेर माधव कमरेडलाई भनेँ । उहाँले अँ धम्काउने ? धम्काएर कोही डराउँदैन भन्नु भयो । अब डराउने खालको त यहाँ कोही छजस्तो लाग्दैन । माधव कमरेड मात्रै नडराउने होइन, अरू पनि कोही डराउलानजस्तो लाग्दैन । कोही पनि डराउदैनन् । यस्तै राजनीति गरेर आएका मान्छेहरू कोही डराउलानजस्तो लाग्दैन । तर सबै शूरैशूरा हुँदाखेरि शूरैचाहिँ बुद्धिमत्तापूर्ण कति हुन्छ र कति हुँदैन ? फेरि पनि विचार गर्न मेरो आग्रह छ ।

अहिले चाहिँ अब बैठकमा जुन विषयमा छलफल हुनुपर्छ पहिले र निष्कर्ष निस्किनु पर्छ, त्यसो नगरिकन अगाडि जान सकिदैँन । यही विषयमा छलफल गर्न म तयारीमा पुगिसकेको छैन, मेरो जवाफपत्र पनि तयार भइसकेको छैन । मैले त्यो पत्र मसिनोगरी हेर्नुपर्ने आवश्यकता छ । र, यत्ति हो कि मैले परिस्थिति अत्यन्त गम्भीर देखेको छु ।

मैले पहिलेदेखि भन्ने गरेको छु, यो धम्क्याएको होइन । तर यस्तो हैरानी, यति हुर्मत, यति अपमान, यति घटिया लाञ्छनाहरू जीवनमा मैले पहिलोपल्ट यति गरिमामय ठाउँमा वितरण भएको भोग्दै छु । यसभन्दा अगाडि यस स्तरको भाषा, शैली र आरोप लगाइएको अनुभव कमिटीभित्र मेरो थिएन, शायद अरू कसैको थिएन । कहिल्यै कसैले यस्ता आरोपहरू लगाएको यस ढंगले राजनीति नै सिध्याउने मनसायका साथ उत्रिएको मैले पाएको थिइनँ ।

त्यो पत्र जुन मैले देखेको छु, त्यसमा जुन भाषा प्रयोग भएको छ, त्यसमा जुन आरोपहरू लगाइएका छन् र जुन लाञ्छनाहरू लगाइएका छन्, ती हल्का ढंगले लगाइएको रूपमा मैले लिएको छैन । यो अवश्य नै अत्यन्त गम्भीरतापूर्वक लगाइएको छ ।

राजनीतिमा जुनसुकै कुरा आइपरे पनि सहन हुनुपर्ने नै हुन्छ ? म त जेलनेल, कुटाइ, यातना सबै भोगेर आएको छु । लाठी, बुट, जुत्ता मैले भोगेर आएको छु । ती सबै कुरा भोगिएको छ भने अँ, फेरि पनि कुनै परिस्थिति भोग्न मलाई कुनै कठिनाइ छैन । त्यो पत्रका प्रस्तोता र त्यसको पृष्ठभूमिमा रहेका साथीहरूले कुन बाटोबाट जाने च्वाइस गर्नुस् ।

अँ, त्यस्ता झुठा र निकृष्ट लाञ्छनाहरू मैले सहन्छु भन्ने कुरा नसोचे पनि हुन्छ । तसर्थः आज बैठक अगाडि बढ्न सक्ने देख्दिनँ । म त्यसमा बहस गर्न अहिले तयार छैन, किनभने मेरो तयारी नै पुगेको छैन, बुँदाहरू पुगेका छैनन् भन्ने कुराहरू त भनिसकेको छु । त्यसमा फेरि थप के भन्नु छ र ? त्यसमा अरूको पानी चित्र त देखेको छु नि ! त्यसमा त यसो हेर्दाखेरी पानी चित्र त आउँछ नि ! मैले कुरा गरेको छु र सबै सुनेको छु नि ! अहिलेलाई यत्ति नै ।

धन्यवाद ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  १२ : ०३ बजे

साइबर अपराधको आरोपमा एक महिला पक्राउ

काठमाडौं – सामाजिक सञ्जालबाट चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी

पाकिस्तानका शिक्षकले ८ महिनादेखि पाएनन् तलब

काठमाडौं – आठ महिनादेखि तलब नपाएको भन्दै पाकिस्तानको खैबर पख्तुनख्वाका

भारत र अस्ट्रेलियाका सेना पुणेमा संयुक्त सैन्य अभ्यास गर्दै

काठमाडौं – भारत र अस्ट्रेलियाले तेस्रो संस्करणको संयुक्त सैन्य अभ्यास

आजदेखि ऐतिहासिक नमोबुद्ध जात्रा

काभ्रेपलाञ्चोक – नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक त्था पर्यटकीयस्थल नमोबुद्धमा आज

शान्तिश्री र नेत्रको स्वरमा ‘आधा मुटु’ सार्वजनिक (भिडियो)

काठमाडौं – अभिनेता सुशान्त कार्की र मोडल तथा अभिनेत्री गरिमा