प्रधानमन्त्रीज्यू ! वैदेशिक रोजगारीमा जाने क्रम साँच्चै घटेको हो ? « Khabarhub

प्रधानमन्त्रीज्यू ! वैदेशिक रोजगारीमा जाने क्रम साँच्चै घटेको हो ?


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७७/७८ लागि सरकारको नीति तथा कार्यक्रमाथि प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै आफ्नो सरकार बनेपछि रोजगारीका लागि विदेश जाने क्रममा न्युनता आएको बताए ।

उनले भने, ‘अहिले यो सरकार बनेपछिका दुई वर्षमा भन्ने हो भने विदेश जानुपर्ने स्थितिमा न्युनता आएको छ । विदेश जाने क्रममा न्युनता आएको छ ।’

प्रधानमन्त्रीको भनाइअनुसार उनको कार्यकालमा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ ।

साँच्चै प्रधानमन्त्रीले भनेझैँ वर्तमान सरकार गठन भएपछि रोजगारीका लागि विदेश क्रम घटेको छ ?

वैदेशिक रोजगार विभागको तथ्यांकले प्रधानमन्त्री ओलीको दाबी गलत रहेको देखाउँछ । बितेका पाँच आर्थिक वर्षको तुलनामा पछिल्ला दुई आर्थिक वर्षमा रोजगारीका लागि विदेश जाने क्रम झन बढेको देखिन्छ ।

वर्तमान सरकार २०७४ फागुन पहिलो साता गठन भएको हो । सरकार गठन हुँदा आर्थिक वर्ष २०७४/७५ को सात महिना बितेको थियो । उक्त वर्ष ३ लाख ३१ हजार ६६५ पुरुष र २२ हजार ४१७ महिला गरी ३ लाख ५४ हजार ८२ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पाएका थिए ।

उक्त आर्थिक वर्षको पाँच महिनामात्र वर्तमान सरकारले काम गरेको हुनाले सरकारलाई शंकाको सुविधा दिऔँ ।

त्यसपछि दुई आर्थिक वर्षका तथ्यांक हेरौँ ।

आर्थिक वर्ष २०७५/७६ पूर्णरूपमा वर्तमान सरकारको हो । उक्त वर्ष ४ लाख ७६ हजार ७०५ पुरुष र ३२ हजार १२३ महिला गरी ५ लाख ८ हजार ८२८ जनाले श्रम स्वीकृति पाएका छन् ।

चालु आर्थिक वर्ष २०७६/७७ को ६ महिनामा कुल २ लाख ९१ हजार ७६ जनाले श्रम स्वीकृत पाएका छन् ।

चालु आर्थिक वर्षको चैत सुरुदेखि रोजगारीका लागि विदेश जाने क्रम रोकिएको छ । फागुनमा ४५ हजार ४६८ पुरुष र ३९८२ महिला गरी ४९ हजार ४५० जनाले श्रम स्वीकृत पाएका छन् ।

कोरोना भाइरस संक्रमणको संकट नपरेको भए ६ महिनालाई आधार मान्दा चालु आर्थिक वर्षमा ५ लाख ८२ हजारले श्रम स्वीकृति लिएका हुने थिए ।

आर्थिक वर्ष २०७५/७६ मा श्रम स्वीकृति लिएर विदेश जानेको संख्या ४३.७१ प्रतिशतले बढेको छ । पछिल्ला सात वर्षमा यो नै सबैभन्दा बढी वृद्धि दर हो । चालु आर्थिक वर्षको ६ महिनाको तुलना गर्दा १४ प्रतिशतले बढेको देखिन्छ ।

आर्थिक वर्ष २०७३/७४ मा ३ लाख ६३ हजार ३०४ पुरुष र २० हजार १८९ महिला गरी कुल ३ लाख ८३ हजार ४९३ जनाले श्रम स्वीकृति पाएका थिए ।

आर्थिक वर्ष २०७२/७३ मा ३ लाख ८४ हजार ७९७ पुरुष र १८ हजार ३७७ महिला गरी कुल ४ लाख ३ हजार १७४ जनाले श्रम स्वीकृति पाएका थिए । आर्थिक वर्ष २०७१/७२ मा ५ लाख १३ हजारले र आर्थिक वर्ष २०७०/७१ मा ५ लाख २७ हजार ८१४ जनाले श्रम स्वीकृति पाएका थिए ।

पछिल्ला पाँच आर्थिक वर्षमा वर्तमान सरकारले पूरा गरेको आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीमा गएको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षको ६ महिनाको दरअनुसार गत आर्थिक वर्षको भन्दा बढी नेपाली कामदार विदेश गएका छन् ।

पछिल्ला सात आर्थिक वर्षमध्ये २०७०/७१ र २०७१/७२ मा ५ लाखभन्दा बढी नेपाली कामदार विदेश गएका थिए ।

आर्थिक वर्ष २०७१/७२ को तुलनामा आर्थिक वर्ष २०७२/७३ मा वैदेशिक रोजगारीमा जानेको संख्या २१ प्रतिशतले घटेको देखिन्छ । यसैगरी २०७३/७४ मा ४.८८ प्रतिशतले र २०७४/७५ मा ७.६६ प्रतिशतले घटेको देखिन्छ ।

वर्तमान सरकारको कार्यकालका पछिल्ला दुई वर्षमा वैदेशिक रोजगारीमा जाने संख्यामा भएको वृद्धिदरले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभामा गरेको दाबी सरासर झुठो ठहर्छ । प्रधानमन्त्रीले यो सरकार बनेपछि विदेश जाने क्रममा न्युनता आएको भनेर संसदलाई ढाँटेको देखिन्छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ३ : ४९ बजे

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय