कोरोना नियन्त्रण र उपचारमा के गर्दैछ स्वास्थ्य मन्त्रालय ? | Khabarhub Khabarhub

कोरोना नियन्त्रण र उपचारमा के गर्दैछ स्वास्थ्य मन्त्रालय ?


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस नियन्त्रणका लागि सरकारको काममा प्रश्न उठ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारमा भइरहेको कामबारे जानकारी गराएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित मन्त्रालयका अधिकारीहरूले हालसम्म भएको परीक्षण, मन्त्रालयको नीति र आगामी योजनाबारे जानकारी गराए ।

स्वास्थ्यमन्त्री ढकालले शनिबार स्वास्थ्य पत्रकारसँग अन्तर्क्रिया आयोजना गरेर नेपालमा कुल जनसंख्याको २ प्रतिशत अर्थात ६ लाख व्यक्तिको कोरोना परीक्षण गर्ने लक्ष्य रहेको बताए । उनले आगामी असार १५ गतेदेखि दैनिक १० हजार जनाको स्वाब पीसीआर विधिबाट परीक्षण गर्ने तयारी भइरहेको जानकारी दिए ।

उनका अनुसार दैनिक उक्त संख्यामा परीक्षण गर्न अहिले भएका प्रयोगशालाहरूमा जनशक्ति थप गर्ने तयारी छ । नेपालमा अहिले २४ वटा प्रयोगशालामा पीसीआर विधिबाट कोरोना परीक्षण भइरहेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ४१६ वटा नमूनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले तथ्यांक छ ।

‘हामीले असार १५ सम्मका प्रतिदिन १० हजार नमूना परीक्षण गर्छौं भनेर प्रतिबद्धता जाहेर गरेका छौँ, अहिले भएका हाम्रा ल्यावहरूमा जनशक्ति थपेर चौबीसै घण्टा सञ्चालन गरेर पनि केही परिणाम दिन सकिन्छ,’ मन्त्री ढकालले भने, ‘निजी क्षेत्रका प्रयोगशालाहरूलाई पनि समावेश गर्ने तयारी गरेका छौँ ।’

मन्त्री ढकालका अनुसार परीक्षणको अनुमति पाएका निजी प्रयोगशालाहरूले आफैँ नमूना संकलन गर्न भने नपाउने छैनन् । सरकारी निकायले पठाएको नमुनामात्र परीक्षण गर्नु पर्नेछ । निजी प्रयोगशालाहरूबाट दैनिक ३ हजार नमुना परीक्षण हुनसक्ने स्वास्थ्यमन्त्रीको भनाइ छ । निजी प्रयोगशालाले नमूना परीक्षणको खर्च सरकारबाट पाउनेछन् ।

जनस्वास्थ्य संकटकाल प्रस्ताव मन्त्रालयमै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना निर्देशिकाहरूमा ५ हजारभन्दा बढी व्यक्ति संक्रमित भएमा ‘जनस्वास्थ्य संकटकाल’ घोषणा गर्न सक्ने प्रावधान राखेको छ । मन्त्रालयले संकटकाल घोषणा गर्ने प्रस्ताव लैजाने निर्णय गरेको भए पनि मन्त्रिपरिषद्मा नलगेको मन्त्री ढकालले बताए ।

उनले भने, ‘हामीले संस्थागत हिसाबले त्यो निर्णय क्याबिनेट (मन्त्रिपरिषद) मा लगेका छैनौँ, त्यो मन्त्रालयको अध्ययनको तहमा मात्र छ ।’

होम क्वारेन्टिनमा जान पीसीआर परीक्षण अनिवार्य

स्वास्थ्यमन्त्री ढकालका अनुसार विदेशबाट आएर होम क्वारेन्टिनमा जान सात दिनभित्र पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएको हुनुपर्छ । एउटा विमानमा सवार सबै यसरी आएका भएमात्र होम क्वारेन्टिनमा जान पाउने छन् । विमानमा एकजना मात्रै पनि सात दिनभित्र पीसीआर परीक्षण नगरेको व्यक्ति भए पनि सबै जना १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ ।

पीसीआर परीक्षणका लागि पहुँचवालाहरूको दबाबसमेत आउने गरेको मन्त्री ढकालले बताए ।

संकलित स्वाब किन रोकिन्छ ?

स्वास्थ्यमन्त्री ढकालले अनपेक्षितरूपमा सीमा नाकाबाट मानिसहरू भित्रिएपछि अहिले देशभरका प्रयोगशालामा स्वाब होल्ड भइरहेको (परीक्षण नभई थन्किएको) बताए ।

उनका अनुसार मन्त्रालयले बाहिरबाट आउने व्यक्तिहरूका लागि होल्डिङ क्वारेन्टिन बनाउने र त्यही परीक्षण गर्ने गरी तयारी गरेको भए पनि दिनमा २५ हजार जनासम्म नेपाल प्रवेश गरेपछि क्वारेन्टिन व्यवस्थापन र परीक्षण अस्तव्यस्त भयो ।

जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारीहरूले स्थानीयतहको दबाबमा स्वास्थ्य मन्त्रालयको मापण्ड विपरीत संकलन गरिदिएकाले पनि स्वाब थन्किएको मन्त्री ढकालले बताए । उनले सीसीएमसी, नेपाली सेना र स्वास्थ्य मन्त्रालयबीच कुनै विवाद नभएको जिकिर पनि गरे ।

स्वास्थ्य सामग्री खरिदमा नेपाली सेना र स्वास्थ्य मन्त्रालयबीच खटपट परेको भन्ने समाचार हालै आएको थियो ।

होम क्वारेन्टिनले ८० करोड जोगियो

स्वास्थ्य मन्त्रालयले आइसोलेसन तथा क्वारेन्टिन निर्देशिकाहरू संशोधन गरेर लक्षणविहीन संक्रमितलाई पुनः परीक्षण नगरी होम क्वारेन्टिनमा पठाउने थालेको छ । लक्षणविहीन संक्रमितलाई होम क्वारेन्टिनमा पठाउँदा राज्यकोषबाट खर्च हुने ८० करोड रुपैयाँ जोगिएको स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बताए ।

उनले भने, ‘हाम्रो टेस्टिङ पोट्रोकल र डिस्चार्ज प्रोटोकल चेन्ज गर्दा खेरी, हामीले गफ गरेको होइन, करिब ८० करोड ४ हजार ४५ रुपैयाँ बिरामीको उपचार गर्दा हुने कस्ट घटेको छ,’ सचिव अर्यालले भने, ‘कष्ट घटाएर कसरी सर्भिस दिन सक्छौँ भन्ने हाम्रो पहिलो प्रायोरिटि रहेको छ ।’

वैशाखयता सय भेन्टिलेटर र २ सय आइसीयु थप

स्वास्थ्य मन्त्रालयले गत चैत महिनामा सम्भावित संक्रमितको संख्या ५ हजारसम्म आकलन गर्दै करिब १६ सय आइसियु र ८९० वटा भेन्टिलेटर तयार रहेको जानकारी गराएको थियो ।

वैशाखयता स्वास्थ्य मन्त्रालयले सय वटा भेन्टिलेटर र २ सय बेड आइसीयु व्यवस्थापन गरेको मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले बताए ।

‘यो बीचमा प्रदेश र जिल्लाका अस्पतालहरूलाई ५ बेडको आइसीयु व्यवस्थापन गर्न भनेका थियौँ,’ डा. लोहनीले भने, ‘प्रायः सबै अस्पतालहरूले त्यो व्यवस्थापन गरिसक्नु भएको छ, अहिले १ हजार भेन्टिलेटर र १८ सय आइसियु बेड व्यवस्थापन भएको छ ।’

साउन मसान्तसम्ममा संक्रमित ४० हजार पुग्ने अनुमान

डा. लोहनीका अनुसार स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्डको आधारमा लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङमा परेका र स्वास्थ्यकर्मीको मात्र पीसीआर विधिबाट कोरोना परीक्षण हुनेछ । उनले भदौ २ गतेसम्ममा ४० हजार संक्रमित पुग्न सक्ने अनुमान गरिएको र सोही अनुसारको स्वास्थ्य तयारी भइरहेको बताए ।

डा. लोहनीका अनुसार ४० हजारमध्ये ५ प्रतिशत अर्थात २ हजार जनामा गम्भीर समस्या हुनसक्ने आकलन छ । यस्तै २ प्रतिशत अर्थात करिब ८ सय जना संक्रमतिलाई बढी जटिलता हुनसक्ने अनुमान अनुसार आइसीयु र भेन्टिलेटर तयार गरिएको छ ।

९८ प्रतिशत लक्षण विहीन, ९४ प्रतिशत विदेशबाट आएका

नेपालमा हालसम्म ८ हजार ६०५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

मन्त्रालयको कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले नेपालमा रहेका कूल संक्रमितमध्ये ९८ प्रतिशतमा लक्षण नदेखिएको बताए । उनका अनुसार १५ देखि ४५ वर्ष उमेर समूहका संक्रमितको संख्या बढी छ । नेपालमा भेटिएका कुल संक्रमितमध्ये ९४ प्रतिशत विदेशबाट फर्किएका व्यक्तिहरू भएको पनि डा. पाण्डेले बताए ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ८ : २५ बजे

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले