नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’ बुसानको मुख्य प्रतिस्पर्धामा « Khabarhub

नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’ बुसानको मुख्य प्रतिस्पर्धामा


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुजित बिडारीले निर्देशन गरेको फिल्म ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छनोट भएको छ ।

सोमबार भर्चुअल प्रेसमिटसँगै बुसानले यो सालको लाइनअप सार्वजनिक गरेको हो । सार्वजनिक लाइनअप अनुसार‘ऐना झ्यालको पुतली’ बुसानको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यु करेन्ट सेक्सन’मा छानिएको हो ।

यो सेक्सनमा नेपालसँगै विभिन्न देशका १० फिल्म छनोट भएका छन् । कुनै पनि निर्देशकको पहिलो र दोस्रो फिल्म मात्र छनोट हुने प्रावधान रहेको ‘न्यु करेन्ट सेक्सन’ मा विजेता बन्ने दुई फिल्मले ३० हजार अमेरिकी डलर (नेरु ३५ लाख) प्राप्त गर्नेछन् । योसँगै ‘ऐना झ्यालको पुतली’ बुसानको मुख्य प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली फिल्म भएको छ ।

यसअघि नविन सुब्बा निर्देशित ‘गुडबाई काठमाडौं’ न्यु करेन्टपछि सर्वाधिक पुरस्कार राशि रहेको किम जेसिओके अवार्डमा छनोट भएको थियो । किम जेसिओके अवार्डमा पनि दुई फिल्मलाई नै पुरस्कृत गरिन्छ तर यसको रकम १० हजार अमेरिकी डलर मात्र रहेको छ ।

कान्स, बर्लिन, टोरन्टो, सन्डान्सपछि प्रतिष्ठित मानिने बुसानको यो २५ औं संस्करण हो । कोभिड १९को महामारीका कारण भर्चुअल रुपमा सम्पन्न हुने फेस्टिभल यो साल अक्टोबर २१ मा सुरु भएर ३० मा सकिनेछ ।

लेखक/निर्देशकको रुपमा ‘ऐना झ्यालको पुतली’ फिचर फिल्मतर्फ सुजितको डेब्यु हो । सुजितले यसअघि ‘सावित्री’को लेखन तथा निर्देशन गरेका थिए जुन १४ मिनेट अवधिको लघु फिल्म थियो ।

फिल्मले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया बालिका (विद्या)को सहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ । तर जतिचोटी उनी सपनाको नजिक पुग्छिन् कुनै न कुनै बाधा आइपरेर उनको त्यो सपना भताभुंग हुन्छ । सुजितले बालिकाको पढ्ने सपनालाई ऐना जस्तो झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेर कथानक तयार गरेको बताए ।

‘ऐना झ्यालमा अड्किएको पुतलीले बाहिर के छ सबै देख्छ तर जति प्रयास गरे पनि निस्कन सक्दैन । हाम्रो फिल्मको मुख्य पात्रको अवस्था पनि त्यस्तै छ ,‘ सुजितले भने, ‘उसलाई बाहिर निस्कन छ तर हरेक पटक उसको प्रयासमा केही न केही अड्चन आइरहन्छ । यसमा हामीले हाम्रो देशका महिलाको पनि प्रतिविम्ब देख्न सक्छौं ।’ विद्या र उनको ९ वर्षको भाइ (बसन्त) बीचको बालसुलभ सम्बन्ध पनि फिल्ममा मियोको रुपमा रहेको सुजितले बताए । ‘

दिदीले आफ्नो सपनामा बिट मार्न लागेको देखेपछि उनलाई मद्दत गर्न भाइले गर्ने प्रयत्न फिल्मको महत्वपूर्ण हिस्सा हो । यो सम्बन्धमार्फत् फिल्मले पितृसत्तात्मक सोचमा पनि बदलाव आउनु पर्ने आवश्यकतालाई इंगित गरेको छ ,’सुजितले भने ।

सवा करोड हाराहारीको बजेटमा बनेको फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । सिरु बिष्टबाहेक फिल्ममा अधिकांश नयाँ कलाकारको अभिनय रहेको छ ।

‘ऐना झ्यालको पुतली’को निर्मातामध्येका एक रामकृष्ण पोखरेलले निर्माण गर्न लागेको अर्को फिल्म ‘रिभर इन दि मिरर‘पनि बुसानकै एसियन प्रोजेक्ट मार्केटमा छानिएको छ । निर्माता पोखरेलले यो फिल्म भुटानी निर्माता/निर्देशक टासी ग्याल्क्षेनसँगको सहकार्यमा निर्माण गर्न लागेका हुन् ।

आइसफल प्रडक्सन र लोकल सिनेमाको संयुक्त ब्यानरमा बनेको फिल्मलाई आकाश पौडेल, प्रबिन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्त श्रेष्ठ मिलेर निर्माण गरेका हुन् ।

फिल्ममा अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन, पुष्पसंगमको संगीत, कला संग्रौलाको प्रडक्सन डिजाइन, किशोर आचार्यको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ ।

एसियन प्रोजेक्ट मार्केट एसियाका फिल्ममेकरका लागि प्रोड्युसिङ पार्टनर खोज्ने उत्कृष्ट प्लेटफर्म मानिने गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ११ : ५१ बजे

सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’

काठमाडौं– आपत्कालीन अवस्थामा रगतको अभावका कारण बिरामीले भोग्नुपर्ने समस्या कम

सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता गोपालमान

सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न रास्वपाको अपिल, दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीको कप्तानगञ्ज लगायतका

सुनसरीका सीडीओ भन्छन् : हुल बनाएर स्थानीय बाहिर निस्किए, मानवीय क्षति रोक्न बल प्रयोग गरेका छैनौँ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

प्रवेशाज्ञा दस्तुरबापत दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर– प्रवेशाज्ञा (भिसा) दस्तुरबापत गत आर्थिक वर्ष २०८२/८३ मा दुई