नवरात्रको चौथो दिन : दशैँघरमा कुष्माण्डादेवीको पूजाराधना गरियो « Khabarhub

नवरात्रको चौथो दिन : दशैँघरमा कुष्माण्डादेवीको पूजाराधना गरियो


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवरात्रको चौथो दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाराधना गरिएको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ ।

नवरात्रको पहिलो दिन कात्तिक १ गते दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएका स्थानमा नौ दुर्गामध्येकी पहिली शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाराधना गरियो । दोस्रो दिन आइतबार पूजास्थलमा दोस्री ब्रह्मचारिणीलाई आह्वान गरी विधिपूर्वक पूजाराधना गरिएको थियो भने तेस्रो दिन सोमबार चन्द्रघण्टाको निष्ठाका साथ पूजाराधना गरियो ।

चौथो दिन आज कुष्माण्डाको विधिपूर्वक पूजाराधना गरिएको हो । नवरात्रका नौ दिन घटस्थापना गरिएका स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवीस्तोत्र पाठ समेत गरिन्छ ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गाको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

आध्यात्मिक, आधिभौतिक र आधिदैविक तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

दुर्गा पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौंँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । यिनै दुर्गाका नौ रुपलाई नवदुर्गा पनि भनिन्छ ।

बडादशैँका १५ दिनमध्ये नवरात्रमा देशभरका शक्तिपीठमा पूजाराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले धेरै मन्दिर बन्द छन् ।

भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित केही मन्दिर भने खुला गरिएको छ जहाँ भक्तजन पुग्ने गरेका छन् ।

कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जान तथा खानपिन गरी दशैँ, तिहारजस्ता चाड पर्व मनाउन तीनै तहका सरकारले आह्वान गरेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ७ : १५ बजे

सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवन (तस्बिरहरू) 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति

‘अस्ट्रेलिया र भारत नेपाल आएर खेलिदिए हाम्रो क्रिकेट अझै फैलिने थियो’

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टेस्ट

युवा मतदाताको रोजाइ : सुशासन, विकास र रोजगारी दिने उम्मेदवार

म्याग्दी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति

चार नेपाली क्रिकेटरको आईसीसी वरीयता सुधार : कसले कति अंक सुधार गरे ?

काठमाडौं – नेपालका चार जना क्रिकेटरले आईसीसीको वरीयतामा सुधार गरेका

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

काठमाडौं– स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले