चिसो बढेपछि मुक्त कमैया तथा भूमिहीन बस्तीमा दैनिकी कष्टकर « Khabarhub

चिसो बढेपछि मुक्त कमैया तथा भूमिहीन बस्तीमा दैनिकी कष्टकर


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– टीकापुरको एकतापुर शिविरकी सन्ध्या विकको छोरा दुई दिनदेखि बिरामी छन् । बच्चालाई रातभरि बान्ता र पखाला लागेपछि उनी एकाबिहानै अस्पताल पुगिन्। टीकापुर अस्पतालका चिकित्सकले जाँच गरेपछि बच्चालाई चिसो लागेको बताए ।

“बच्चालाई एक दिन अस्पताल भर्ना गरेर राखेँ, निकै कमजोर भएको छ”, सन्ध्याले भनिन्, “चिसो बढ्यो, घाम लागेन, बाक्ला लुगा छैनन्, बच्चालाई चिसो गढेछ ।”

एकसरो लुगा लगाएर बच्चा बोकेर अस्पतालबाट फर्किरहेकी सन्ध्या आफैँ पनि जाडोले काँपिरहेकी थिइन । “गरिब छु, श्रीमान् पनि वैशाखदेखि घरमै बसेका छन् । रोजगार नभएर आम्दानी छैन”, सन्ध्याले भनिन्, “सानो बच्चा छ । काम पनि केही पाउँदैन । पेट पाल्नै मुस्किल छ, लुगाकपडा लाउने त सपनामात्र भएको छ ।”

टीकापुरकै विशालनगर शिविरका रुपेश परियार ज्यालादारीको काम गर्छन् । शीतलहर शुरु भएपछि उनको परिवारलाई समेत जाडो छेक्न समस्या भएको छ । “म दिनभरि काम गर्छु, घरमा तीन बच्चा र श्रीमती छन् । दिनभरि कमाएर लगेपछि उनीहरुले खान पाउँछन्”, रुपेशले भने, “यसपटक एउटा सिरक किनौँला भनेको किन्न सकिएन । चिसो भएर रातभरि सुत्न सकिन्न, दिनभरि काम गर्नुपर्छ । मलाई त रिङ्गटा लाग्न थालेको छ ।”

रुपेशको परिवार घरमा ओढ्ने, ओछ्याउने टन्न कपडा नभएर भुइँमा पराल बिछ्याएर सुत्ने गरेको छ । “आगो बालेर तापौँ भने पनि दाउरा पाइँदैन”, रुपेशकी श्रीमती मनसराले भनिन्, “सबैजना सँगै सुत्छौँ अलि तातो हुन्छ, एक सातायता जाडो निकै बढेको छ ।”

मुक्त कमैया बस्तीका शिवनगरमा पनि चिसोसँगै शीतलहर शुरु भएपछि धेरैको दैनिकी कष्टकर भएको छ । चिसोले बालबालिका र ज्येष्ठ नागरिकलाई बढी कठिन भएको छ । शिवनगरका रामेश्वर चौधरी चिसो बढेपछि एक सातादेखि काममा जान सक्नुभएको छैन । डकर्मी काम गर्ने रामेश्वरको घर उहाँले काम नगरे चल्दैन ।

“चिसोमा काम गर्न कठिन हुन्छ, केही दिन काममा नजाँदा घरमा भएको सबै अन्न सकियो, ओहो हामी गरिबलाई जाडोमा पनि समस्या, गर्मीमा पनि समस्या । बिरामी भए पनि आफ्नो र परिवारको पेट पाल्न काम गर्नैपर्ने”, रामेश्वरले भने, “चिसो बढेपछि शिविरका अधिकांशमा रुघाखोकी, ज्वरोजस्ता समस्या शुरु भएका छन् । एकातिर कोरोना भाइरस सङ्क्रमणको डर पनि बढेको छ ।”

बस्तीका बडघर रामफल चौधरी शिविरमा बस्तीमा बस्ने सबै गरिब भएकाले समस्या भएको बताए । “हरेक वर्षको जाडो छेक्न कठिन हुन्छ, सरकारले विपन्नको जीविकोपार्जनका लागि केही उद्योग, कलकारखाना खोलिदिएको भए सबैले रोजगार पाउँथे”, बडघर चौधरी भन्छन्, “आयआर्जन भए पो आवश्यकता पूरा हुन्छन् । खेतीपाती गरौँ भने जमिन छैन, अनि मौसमले पनि सधैँ पीडा दिन्छ ।”

विजयनगर बस्तीकी गीतारानी चौधरी शनिबार बिहानै एकसरो म्याक्सी लगाएकी, सलभित्र काखमा बच्चा च्यापरे दौडदै हुन्थे । उनी घर निर्माण हुने स्थानमा इँटा, बालुवा बोक्ने काम गर्छन् । “काम गर्नुपर्छ, बच्चा हेर्ने मानिस छैन, बोकेरै काममा जान्छु”, गीतारानीले भनिन्, “घरमा अन्न भएको भए चिसोमा आराम गर्ने थिए । शरीरमा लुगा छैन, दिनभरि काम गर्दा त जाडो भएको महसुस हुन्न तर राति चिसोले मुटु काप्छ ।”

यसरी शिविर तथा बस्तीमा बसेका धेरै नागरिक हरेक रात मुटु कपाएरै कटाउँछन् । उनीहरु सरकारले सहजरूपमा रोजगारीका अवसर सिर्जना गरिदिनुपर्ने माग गर्छन् । कोरोना भाइरस सङ्क्रमणपछि शिविरका धेरै नागरिकको ज्यालादारी गर्ने काम पनि छुटेको छ । भारतमा काम गर्नेहरु पनि घर फर्केका छन् । टीकापुर नगरपालिकाले गत वर्ष यी बस्तीमा दाउरा वितरण गरेको थियो । यस वर्ष पनि पुस महिना शुरु भएसँगै चिसो निकै बढेको छ । कैलालीको तापक्रम छ डिग्री सेल्सियससम्म झरेको छ ।

“यसपटक पनि चिसो बढेको छ । हामीले बस्तीमा बस्ने नागरिकलाई जाडो छेक्न कठिन भएकोबारे छलफल गरेका छौँ”, टीकापुर–१ का वडाध्यक्ष गङ्गाराम आचार्य भन्छन्, “नगरपालिकामा छलफल गरेर उहाँहरुलाई राहत दिने काम गर्छौँ ।”

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ९ : ०९ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई