गोंगबु बसपार्कमा शुद्धीकरण अभियान: होटेल सञ्चालकदेखि तेस्रो लिङ्गीसम्म पक्राउ « Khabarhub

गोंगबु बसपार्कमा शुद्धीकरण अभियान: होटेल सञ्चालकदेखि तेस्रो लिङ्गीसम्म पक्राउ


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशकै प्रमुख तथा केन्द्रीय बसपार्कका रूपमा रहेको गोङ्गबुँस्थित नयाँ बसपार्कमा शुद्धीकरण अभियान सञ्चालन गरिएको छ । देशका अधिकांश जिल्लाका मानिस राजधानी भित्रिएपछि पहिलोपटक पुग्ने स्थानका रूपमा रहेको नयाँ बसपार्क क्षेत्रमा हुने विकृति, विसङ्गति र लुटपाटको अन्त्यका लागि शुद्धीकरण अभियान सञ्चालन गरिएको हो ।

होटल मिलाइदिने भन्दै यात्रुलाई जबर्जस्ती तानेर दुःख दिने बिचौलिया, क्याबिन रेष्टुरेन्टमा बढी रकम लिएर ठगी गर्ने, दोहोरी साँझ सञ्चालनको नाममा सुतेका व्यक्तिलाई ‘डिस्टर्व’ गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्न थालेको छ । प्रहरीले सोमबार मात्र होटल तथा रेष्टुरेन्ट सञ्चालक र बिचौलियालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मित्रनगर देउराली खाजाघरका सञ्चालक जितेन्द्रप्रसाद कँडेल, रिलेशन रेष्टुरेन्टका सञ्चालक प्रेमबहादुर अछामी, मनोज खाजाघरका सञ्चालक नवीन तामाङ, सृष्टि सुब्बा खाजाघरका सञ्चालक धनबहादुर लिम्बू र बागलुङ कालिका खाजाघरका सञ्चालक कुमारी थापा छन् । पक्राउ पर्ने बिचौलियामा राजेश सुनार, मिलन तामाङ, सुवास तामाङ, प्रेम तामाङ, करन सापकोटा, नरेन्द्र किसान र सुरेश तामाङ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सामुदायिक सेवा केन्द्र गोङ्गबुँ, काठमाडौं महानगरपालिकाको २६ नम्बर वडा कार्यालय, टोखा नगरपालिकाको ९ नम्बर वडा कार्यालय र नयाँ बसपार्क क्षेत्रमा क्रियाशील सङ्घसंस्थाको सहकार्यमा गोङ्गबुँ नयाँ बसपार्क क्षेत्रमा हुने विकृति अन्त्यका लागि सामूहिक जाँच तथा प्रचारप्रसारलाई तीव्र पारिएको छ । महानगरी प्रहरी वृत्त महाराजगञ्जका का प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ४ महिनाको अवधिमा नयाँ बसपार्क क्षेत्रबाट अनैतिक क्रियाकलापमा लाग्ने ७२१ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको बताए ।

‘नियन्त्रणमा लिइएका ७२१ मध्ये २६१ लाई अभद्र व्यवहार, चोरी, मानव बेचबिखन र लागुऔषध कारोवारमा मुद्दा चलाएका छौँ,’ उनले भने । मुद्दा चलाइएकामध्ये २०६ पुरुष, ३४ महिला र २१ तेस्रोलिङ्गी छन् ।

नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले नयाँ बसपार्कलाई राष्ट्रिय गौरवको बसपार्क बनाउन नयाँ बसपार्कभित्रको विकृति, विसङ्गति अन्त्य गर्नुपर्ने बताए । ‘नयाँ बसपार्क विस्तारै सुध्रिँदै गएको छ, बसपार्क क्षेत्रमा हुने अनैतिक क्रियाकलाप र बिचौलिया रोक्नु जरुरी छ,’ उनको भनाइ थियो ।

नयाँ बसपार्क क्षेत्र रहेको काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले ठमेल आउने पर्यटकलाई बसपार्कमा आउने वातावरण निर्माण गर्नेगरी नयाँ बसपार्कलाई सुधार गर्नुपर्ने बताए । ‘नयाँ बसपार्क क्षेत्र सुधार भएर पर्यटक आएमा यस क्षेत्रका बासिन्दाको आम्दानीसमेत वृद्धि हुन्छ,’ उनले भने ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेलले गोङ्गबुँ क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि थप प्रहरी परिचालन गरिएको बताए । ‘नयाँ बसपार्कलाई व्यवस्थित बनाउनु हामी सबैको दायित्व हो, बसपार्क व्यवस्थित भए मात्र राजधानी व्यवस्थित हुन्छ,’ उनले भने ।

कूल १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा देशका विभिन्न भागबाट दैनिक एक हजारभन्दा बढी बस आवतजावत गर्दै आएका छन् । नयाँ बसपार्क क्षेत्रमा हाल ५०० भन्दा बढी होटल, ५० भन्दा बढी दोहोरी साँझ रेस्टुरेन्ट र एक हजारभन्दा बढी खाजाघर सञ्चालनमा छन् ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ११ : ०२ बजे

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो

आठौँ बागलुङ महोत्सव सुरु

गलकोट– आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ

गड्यौलाकाे मल बेचेर २५ लाखसम्म आम्दानी

दाङ–  तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले मल उत्पादनबाट

राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित मितिमै प्रतिनिधिसभा