काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको प्रभाव पछिल्लो समय युरोपियन मुलकमा तीव्र रुपमा देखिएको छ ।
सबैभन्दा बढी इटालीमा प्रभाव परेको छ भने स्पेनमा पनि कोरोनाको संक्रमण बढ्दो रुपमा देखिएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ३ हजार ९ सय २५ जना नयाँ संक्रमित देखा परेसँगै जम्मा संक्रमितको संख्या २५ हजार ४ सय ९६ पुगेको छ ।
२४ घण्टाको अवधिमा स्पेनमा २ सय ८५ जनाले ज्यान गुमाएका छन् । योसँगै स्पेनमा ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ७८ पुगेको छ ।
स्पेनमा कोरोनाका कारण संक्रमित मध्ये २ हजार १ सय २५ जना निको भएर घर फर्केका छन् भने २१ हजार ९ सय ९३ जना उपचाररत छन् । जसमध्य १ हजार ६ सय १२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणका कारण अहिलेसम्म विश्वभर ज्यान गुमाउनेको संख्या १३ हजार नाघेको छ ।
सङ्क्रमित ३ लाख ६ हजार ६ सय ७७ मध्ये अहिलेसम्म १३ हजार १७ जनाको ज्यान गएको छ । ९४ हजार ७ सय ९८ जना उपचारपछि घर फर्किएका छन्।
सबैभन्दा धेरै इटलीमा ४ हजार ८ सय २५ जनाको ज्यान गएको छ । इटलीमा सङ्क्रमित भएका ५३ हजार ५ सय ७८ व्यक्तिमध्ये २८ सय ५७ जनाको अवस्था गम्भीर रहेकाे छ भने ६ हजार ७२ जना निको भएर घर फर्किएका छन् ।
सङ्क्रमणको केन्द्रबिन्दु मानिएको चीनमा ८१ हजार काेराेना सङ्क्रमितमध्ये ७१ हजार ७ सय ४० जना निको भएर घर फर्किएका छन् । चीनमा अहिलेसम्म ३ हजार २ सय ६१ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा चीनमा नयाँ ४६ जना संक्रमित देखा परेका छन् भने ६ जनाले ज्यान गुमाएका छन् ।
अहिलेसम्म चीन र इटलीपछि सबैभन्दा धेरै इरानमा १५ सय ५६, स्पेनमा १३ सय ७८, फ्रान्समा ५६२, अमेरिकामा ३१६ जना, बेलायतमा २३३ जना र दक्षिण कोरियामा १०२ जनाको ज्यान गएको छ ।
अहिलेसम्मा काेराेना भाइरसको सङ्क्रमण १ सय ८८ देशमा फैलिएकोे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
प्रतिक्रिया