संक्रमितको आक्रोश : रिपोर्ट आउन किन ढिलो ? | Khabarhub Khabarhub

संक्रमितको आक्रोश : रिपोर्ट आउन किन ढिलो ?



नवलपुर- डा. विनोद पौडेल मंगलबार कोरोना भाइरस संक्रमितहरूसँग सवाल जवाफ गरिरहेका थिए । बिरामीहरू कोही चिकित्सालयको दक्षिणतर्फको भवनको भुइँतलामा, कोही बार्दलीमा र कोही छतमा लहरै उभिएका देखिन्थे ।

कोरोना संक्रमितहरूको पछिल्लो रिपोर्टको पर्खाइमा रहेका संक्रमितहरू रिपोर्ट आउन ढिलाइ भएको गुनासो गरिरहेका थिए । तर बिरामीलाई आश्वस्त पार्दै डा. पौडेल भने ५० मिटर टाढाबाट माइकमा भन्दै थिए, ‘हामीले पहल गरिरहेका छौं, आजैभोलिमा रिपोर्ट आउँछ, धैर्य गर्नुस् ।’

सवालजवाफकै क्रममा एक युवा बार्दलीबाट चिच्च्याए, ‘रिपोर्ट पोजेटिभ आए पनि हामी घर फर्किन्छौं ।’ जवाफमा डा. पौडेलले भने, ‘पोजेटिभ आयो भने तपाईँहरू यहीँ बस्नुस्, घर जाने कुरा नगर्नुस् ।’

पौडेलको जवाफमा अरु सबै संक्रमितले सहमत जनाएर होमा हो गरेर चिच्चाए ।

यो दृष्य हो, पूर्वी नवलपरासीको रजहरस्थित कोभिड १९ अस्थायी अस्पताल, सामुदायिक प्राकृतिक चिकित्सालयको ।

‘बिरामी र चिकित्सकबीच अस्पतालमा हरेक दिन बेलुका ५ बजेपछि यसरी नै घण्टौं छलफल हुने गर्दछ,’ मध्यविन्दु जिल्ला अस्पतालबाट आएर केही दिनदेखि सोही अस्पतालमा सेवा गर्दै आएकी डा. विनिता तिमिल्सिनाले भनिन् ।

७८ संक्रमित
पूर्वी नवलपरासी जिल्लामै एक मात्र कोरोना भाइरस संक्रमितहरूका लागि तयार गरिएको सामुदायिक प्राकृतिक चिकित्सालय रजहरको कोभिड १९ अस्थायी अस्पतालमा अहिले ७८ जना संक्रमित रहेको अस्पतालका व्यवस्थापक हरि सापकोटाले बताए ।

अस्पतालमा ६५ पुरुष र ११ महिला संक्रमित छन् । कोरोना संक्रमण पुष्टि भएर अस्पतालको कोभिड १९ अस्थायी अस्पतालको निगरानीमा रहेका उनीहरू छिट्टै घर फर्किने पर्खाइमा छन् ।

कोही देखिँदैनन् बिरामीजस्ता

अस्पतालमा रहेका संक्रमितहरू कोही पनि बिरामी जस्ता देखिँदैनन् । सबै हृष्टपुष्ट । बिहान उठेर उनीहरू नाँचगान गरेर रमाइलो गर्छन् भने बेलुका पनि उस्तै रमाइलो । ‘हामी कोही बिरामी भएका छौं जस्तो लाग्दैन’, एक संक्रमितले भने । तिनै बिरामीमध्येका केही भलिबल खेलिरहेका थिए ।

बल खेल्दै गरेका युवाहरू सबैको मुखमा भने मास्क लगाएका देखिन्थे । मास्क लगाउनु आफ्नै सुरक्षाका लागि हो र अस्पतालको नियम पनि ।

बिरामीका लागि खानपानको तालिका

बिरामी भएर राखिएका उनीहरू हरेक दिन अस्पतालको तालिकामा छलफल गर्ने, रमाइलो गर्नेदेखि खानपिन गर्ने गर्दछन् । अस्पतालले खाजा नास्ता खाने, खाना खानेदेखि रमाइलो गर्ने तालिका बनाइदिएको छ ।

हरेक दिनको खाना, नास्ता फरक फरक छन् । कुनै दिन मिठा दलिया, सुख्खा रोटी त कुनै दिन तरकारी, टोष्ट, भेजिटेबल, नुडल, अंकुरित फलफूल अनि भेजिटेबल पुलाउ नास्ता बन्ने गर्दछ ।

बिरामीलाई भात र रोटी इच्छा अनुसार दिने गरेको छ । तरकार पनि हरेक दिन फरक फरक दिने गरिएको छ भने अडहर, मुगी, मास तथा मसुरोको दाल खाने सेड्यूल फरक फरक छ । बिहानको नास्ताका लागि एक घण्टाको समय छुट्याएको छ भने खानाका लागि एक घण्टा । बेलुकाको खानापछि पनि बिरामीहरू उस्तै रमाइलो गर्छन् ।

२११ जना निको भएर घर फर्किए

देशभरका विभिन्न प्रयोगशालाहरूमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि सम्बन्धित जिल्लामा नै पठाउने गरिएको छ ।

कोरोना संक्रमित भइ ल्याइएका मध्ये अहिलेसम्म २११ जना निको भएर घर फकिएको सो अस्पतालले जनाएको छ । कोरोना जितेर घर फर्किएका २११ जना मध्ये १९० पुरुष र २० महिला थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  १२ : ०७ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको