विदेशमा रोजगारी गुमे पनि मातृभूमि टेक्न पाउँदा खुसी « Khabarhub

विदेशमा रोजगारी गुमे पनि मातृभूमि टेक्न पाउँदा खुसी


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालीहरूको महान पर्व दशैँ संघारमै आइपुगेको छ । कारोना भाइरस संक्रमण अर्थात कोभिड–१९ का कारण दशैँको चहलपहल विगतको तुलनामा कम छ ।

काठमाडौँ लगायतका विभिन्न शहरमा अस्थायी बसोबास गर्नेहरू दशैँमा घर फर्किन्छन् । विदेशमा रहेका नेपालीहरू पनि सकेसम्म स्वदेश आउँछन् । यस वर्ष सरकारले सकेसम्म यात्रा नगर्न र जहाँ बसेको हो त्यही दशैँ मनाउन आग्रह गरेको छ । कोरोना संक्रमणकै त्रासले पनि धेरैले दशैँको यात्रा रद्द गरेका छन् ।

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भने स्वदेश फर्किनेको पातलै भए पनि चहलपहल देखिन्छ । मङ्गलबार बिहान १० बजेतिर विमानस्थल पुग्दा विदेशबाट आएकाहरू खुसी देखिन्थे ।

यसरी आउनेमा धेरै जसो विदेशमा रोजगारी गुमाएका, करार अवधि सकिएका र दशैँकै लागि भनेर घर आएकाहरू थिए ।
रोजगारी गुमेर आउनु परेको भए पनि सुरक्षितरूपले मातृभूमि टेक्न पाएकोमा उनीहरुको मुहारमा चमक देखिन्थ्यो ।

घर फर्किन पाउँदा खुसी

रौतहटका २८ वर्षीय राजु पौडेलले दुई वर्षअघि रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स (युएइ) पुगेका थिए । बिजुली बत्तीको काम काम गर्ने राजुलाई लकडाउनकै समयमा कम्पनीले बेरोजगार बनाइदियो ।

तीन महिनादेखि बेरोजगार भएर विदेशी भूमिमा बस्नु परे पनि दशैँमा घर फर्किन पाउँदा उनी खुसी भएका छन् । ‘युएइमा रोजगारी गुमेर बेरोजगार भएको थिएँ, तत्काल अन्त काम पाउने सम्भावना पनि थिएन,’ उनले भने, ‘दशैँ पनि आएकाले आफ्नै खर्चले स्वदेश फर्किएँ ।’

तीन महिना बेरोजगार भएर विदेशी भूमिमा खाने बस्नेको समेत ठेगान भएन । आखिरमा दशैँका बेला परदेशबाट रित्तो हात फर्किनु परेकोमा भने राजुलाई दुःख लागेको छ ।

‘परदेशबाट दशैँ मनाउन स्वदेश आइपुगेँ, केही ल्याउन नसके पनि परिवारसँग बसेर दशैँ मनाउँछु,’ राजुले भने, ‘दशैँतिहार मनाएपछि कोभिडको अवस्था हेरेर विदेश जाने नजाने निर्णय गर्छु ।’

दशैँ मनाउन काम छोडेर स्वदेश

नारायणगढका २५ वर्षीय माधव खड्काले मङ्गलबार बिहान १० बजे मातृभूमिको माटो टेके । रोजगारीलागि तीन वर्षअघि कतार पुगेका उनी दशैँकै लागि भनेर काम नै छोडेर घर फर्किएको बताउँछन् ।

‘घरमा श्रीमती र एक छोरी छन् । उनीहरूको साथमा दशैँ मनाउन पाए त्यो भन्दा ठूलो खुसी के होला र !’ खुसी हुँदै माधवले भने, ‘अहिले श्रीमती मलाई लिन यही आएकी छन्, आजै घर पुग्छौँ ।’

तीन वर्ष कतारमा डेरीमा काम गरेका माधव लकडाउनको समयमा पनि आफू निकै व्यस्त बनाएको बताउँछन् । ‘नेपालमा डेरीमै काम गर्थें, त्यही कामको लागि कतार गएँ, तलब पनि राम्रै थियो,’ उनले खबरहबसँग भने, ‘साउदीको एक डेरी कम्पनीबाट राम्रो तलबको अफर आएको छ, दशैँ मनाएर त्यता जाने सोचमा छु ।’

सीप सिकेर गए परदेशमा पनि सजिलै काम पाइने र पैसा कमाउन सकिने उनको अनुभव छ । अझै केही वर्ष विदेशमा काम गर्ने र स्वदेश फर्केर डेरी व्यवसाय गर्ने उनको सोचाइ छ ।

हरेक वर्ष दशैँ मनाउन स्वदेश

स्याङ्जाका ४० वर्षीय डोलरोज काफ्ले युएइमा बस्न थालेको १८ वर्ष भयो । उनले १५ वर्षअघि त्यहीँ स्टेशनरी व्यवसाय सुरु गरे । उनी हरेक वर्ष दशैँ मनाउन स्वदेश फर्किने गरेको बताउँछन् ।

उनले भने, ‘घरपरिवार नेपालमै भएकाले दशैँ मनाउन हरेक वर्ष नेपालमै आउँछु, चार–पाँच महिनामा आइरहन्थेँ तर अहिले कोभिडले गर्दा सात महिनादेखि उतै बस्नुपर्‍यो ।’

कोभिडका कारण युएइमा उनको स्टेशनरी व्यवसायमा पनि केही दिन असर पर्‍यो । लामो समयदेखि व्यवसाय गरेको हुनाले उनलाई धेरै आर्थिक समस्या भने परेन । डोलराज दशैँ मनाएर युएइ फर्किने सोचमा छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ३ : ४५ बजे

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै

१३ मिनेटमा ३ गोल गर्दै इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले