राष्ट्रिय भलिबल खेलाडी उत्पादन गर्दै मणि मुकुन्द क्लब | Khabarhub Khabarhub

राष्ट्रिय भलिबल खेलाडी उत्पादन गर्दै मणि मुकुन्द क्लब

क्याम्पसबाट शुरु भएको क्लब राष्ट्रिय लिग खेल्दै



काठमाडौं– अहिले राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिप राजधानीमा चलिरहेको छ । भलिबल च्याम्पियनसिपमा ३ विभागीय टोलीसहित ५ वटा अन्य क्लबगरि ११ टीम सहभागी छन् ।

काठमाडौंमा पाँचौ संस्करण चलिरहँदा राजधानी बाहिरबाट आउने एकमात्रै क्लब हो, मणि मुकुन्द क्लब । बुटबलको यो क्लब च्याम्पियनसिपको पहिलो संस्करणदेखि नियमित सहभागिता जनाउँदै आएको छ ।

च्याम्पियनसिपमा राजधानीबाहिरका नाम गरेका क्लबहरु अन्य पनि छन् । तर, तिनीहरु राजधानीबाटै संचालनमा भइरहेका हुन्छन् । तर, मणि मुकुन्द लगातार पाँचौ संस्करण खेल्न बुटबलबाट काठमाडौंसम्म आइरहेको छ ।

नतिजाको कुरा गर्दा यो क्लब अघिल्लो संस्करणमा चौथो स्थानसम्म पुगेको थियो । उसले अन्य क्लबलाई पछि पारेपनि विभागीय टोलीसँग भने जीत हात पार्न सकेको छैन् ।

यसले नेपालभर हुने भलिबलका ठूला–साना प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । क्लब च्याम्पियनसिपसँगै नेपाल भलिबल संघले आयोजना गर्ने भलिबलमा पनि यो क्लबको सहभागिता नियमित छ ।

खेलाडीबाट गठित मणि मुकुन्द क्लबको कार्य समिति १३ सदस्यीय छ । यो कार्यसमितिमा अहिले पनि सक्रिय खेलाडी नै छन् । संरक्षक तथा सल्लाहकार भने प्रशिक्षक तथा रेफ्रिहरु छन् ।

यो क्लबले नेपाली राष्ट्रिय खेलाडीको उत्पादन पनि गरिरहेको छ । राष्ट्रिय भलिबल टोलीका पूर्व खेलाडी राजु थकाली, कुलबहादुर थापा, चन्द कुबर र राजु विके लगायतका खेलाडी यसै क्लबका उत्पादन हुन् ।

नेपालको राष्ट्रिय खेल भलिबल भएपनि यसमा व्यापारीहरुको लगाव भने खासै देखिदैन । यहिँ समस्या मणि मुकुन्दले पनि खेप्दै आएको छ । तर, यसका लागि पछिल्लो समय नगरपालिकादेखि विद्यालयहरुको साथ पाएको क्लबका प्रतिनिधि बताउँछन् ।

भलिबलका प्रतियोगिता गर्ने, त्यसका लागि प्रायोजक खोज्ने, पूर्वाधार निर्माणका रुपमा कभर्डहल बनाउने र नेपालका लागि नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्य मणि मुकुन्द क्लबको छ ।

क्याम्पसले जन्माएको क्लब !

मणि मुकुन्द क्याम्पस बुटबलका प्राध्यापक तुकबहादुर रानाले विसं २०६४ सालमा स्थानीय भलिबल खेलाडी तथा तत्कालिन पश्चिमाञ्चलन विकास क्षेत्रको टोलीबाट खेलिरहेका खेलाडी लोकेन्द्र भण्डारीसहितको टोलीलाई उनले क्लब खोल्न सल्लाह दिएका थिए ।

पहिला क्याम्पसमै बनेको क्लबले आधिकारीकता भने २०७२ सालमा पायो । ०६४ सालदेखि सक्रिय भएपनि तत्कालिन समयमा स्थानीय विद्यालयस्तर तथा वडामा हुने प्रतियोगितामा सहभागीता जनाउँथ्यो ।

क्लबले अहिले क्याम्पसको सहकार्यमा अगाडि बढिरहेको छ । तर, यसलाई जन्माउने श्रेय भने मणि मुकुन्द क्याम्पसलाई नै जान्छ । त्यसैले त क्लबको नाम पनि क्याम्पसको नामबाट राखिएको छ ।

आधिकारीक रुपमा दर्ता भएपछि यसले बुटबल बाहिरका ठूला प्रतियोगितामा सहभागिता जनाउन थाल्यो । मणि मुकुन्दले पहिलो बर्षमै क्लब च्याम्पियनसिप खेल्यो ।

पश्चितमाअञ्चल विकास क्षेत्रबाट खेलिसकेका कप्तान भण्डारीबाटै नेपाल भलिबल संघले आयोजना गरेको क्लब च्याम्पियनसिपका लागि निम्तो पठाएको कप्तान तथा क्लबका वरिष्ठ उपाध्यक्ष लोकेन्द्र भणडारीले बताए ।

भलिबलको विकासमा टेवा पुगोस् भन्ने लक्ष्यका साथ क्लब स्थापना गरिएको कप्तान भण्डारीले बताएका छन् ।

‘बुटबलमा भलिबलको विकास होस् र त्यसले देशको खेल विकासमा सहयोग पुर्याओस् भन्ने लक्ष्यमा क्लबको स्थापना भएको हो । सबै जना खेलाडीहरु मिलेर बनाएको क्लब हो,’ भण्डारीले भने, ‘भलिबलकै लागि भनेर लागि रहेका छौं । अब यसमै केही गर्ने लक्ष्य छ ।’

अहिले पनि मणि मुकुन्दमा खेल्ने कतिपय खेलाडीका लागि स्थानीय क्याम्पस र स्कुलहरुमा छात्रवृत्तिको व्यवस्था क्लबले मिलाइ दिएको भण्डारी बताउँछन् ।

खेलाडीकै जोड बलमा व्यवसायिक छलाङ !

कप्तान भण्डारी पश्चिमाञ्चल विकास क्षेत्रबाट पाँचौ, छैठौं, सातौं र प्रदेश नम्बर ५ बाट आठौं राष्ट्रिय खेलकुद खेलेका खेलाडी हुन् । ३६ वर्षीय भण्डारी प्रतियोगिताहरुमा राम्रो खेल्ने खेलाडी हुन् ।

तर, उनी अहिलेसम्म राष्ट्रिय टोलीसम्म आउन पाएनन् । तर, पनि नेपाली भलिबलको विकासका लागि उनीसहितको टोलीले मणि मुकुन्द क्लबलाई अगाडि बढाएका छन् ।

२०७२ सालमा भएको भलिबल क्लब च्याम्पियनसिपमा सहभागी हुँदा पनि उनकै माध्यमबाट काठमाडौंबाट मणि मुकुन्दलाई खेल्नका लागि पत्र पुगेको थियो । त्यसयता उनीहरु लगातार राष्ट्रिय प्रतियोगितामा सहभागि हुँदै आएका छन् ।

‘म नियमित खेलाडी हुँ । मैले खेलिरहेको छु । यता संघमा पनि चिनजान थियो । त्यसैबाट हामीलाई खेल्न निम्तो आएको थियो,’ कप्तान भण्डारीले भने ।

‘राजधानी बाहिरबाट आएर खेल्नुको पीडा संघले बुझ्दैन’

वर्षेनी काठमाडौंमा हुने क्लब च्याम्पियनसिप र राष्ट्रिय भलिबल लिगमा सहभागी हुन आउने मणि मुकुन्दको समस्या आफ्नै छन् । उसलाई खेल्न कसैले राक्दैन । निम्ता पाए सहभागिता जनाइ हाल्छ ।

प्रदर्शनका हिसाबले पनि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पछ्याइरहेको छ ।

राष्ट्रिय टोलीका खेलाडीले भरिएको विभागीय टोलीलाई उछिन्न नसकेपनि मणि मुकुन्द चौथो स्थानमा अटाउने क्लब हो । तर, यसलाई बुटबलबाट काठमाडौं आएर खेल्न भने त्यति सजिलो छैन ।

नत, आर्थिक हिसाबले नत, अन्य क्लबसँगको प्रदर्शनका हिसाबले । क्लबको आफ्नो ‘फण्ड’ कम छ । त्यसैले उसलाई बुटबलबाट खेलाडीदेखि अफिसियललाई ल्याएर काठमाडौंमा खेल्न असहजता हुन्छ । तर, पनि उसले आफ्नो सहभागीता घटाएको छैन ।

तर, यो विषयमा संघले कानमा तेल हालेको देख्दा उनीहरु केही निरास छन् । कप्तान भण्डारीले भने, ‘संघले कुनै पनि किसिमको सहयोग अहिलेसम्म गरेको छैन । प्रतियोगिता हुन्छ तर, यसलाई व्यवस्थित रुपमा गर्न पनि सकेको छैन् ।’

क्लब सहयोगि दाताको सहयोगले चलिरहेको बताएका भण्डारीले संघले केही हदसम्म सहयोग गर्न सके आफुहरुलाई सहज हुने बताउँछन् ।

त्यसोत, संघले एनभीए लिग र क्लब च्याम्पियनसिपलाई नै व्यवस्थित गर्न नसकेको देख्दा उनीहरु निराश पनि छन् । लिगका लागि छनोट प्रतियोगिता जस्तो रहेको क्लब च्याम्पियनसिपमा व्यवसायिक क्लबको सहभागी गराउन नसकेको उनीहरुको गुनासो छ ।

‘संघले अहिले ठूला दुई प्रतियोगिता गरिरहेको छ । क्लब च्याम्पियनसिप र एनभीए लिग । तर, यी दुवै प्रतियोगितामा कुनै फरक छैन । क्लब च्याम्पियनसिप खेल्ने ८ टोली नै लिग खेल्दा नयाँ खेलाडी आउने सम्भावना कम रहन्छ,’ भण्डारीले भने, ‘लिगमा शीर्ष ५ टोली स्थायी रहने र अन्य ३ टोली क्लब च्याम्पियनसिपबाट बटुवा हुने प्रणालि शुरु गरे नयाँ खेलाडी उत्पादन हुन्थे ।’

संघले पनि यसलाई सकारात्मक रुपमा लिएको छ । तर, पाँचौ संस्करण चलिरहँदा कार्यन्वयन भने गर्न सकेको छैन ।

वार्षिक ३ प्रतियोगिता आयोजना गर्दै

मणि मुकुन्द क्लबले बुटबललाई नै लक्षित गरी वार्षिक ३ वटा भलिबल प्रतियोगिता समेत आयोजना गर्दै आएको छ । विद्यालयस्तरको प्रतियोगिता, प्लस टु स्तरको अन्तर क्याम्पस प्रतियोगिता र प्रदेश स्तरीय खुल्ला भलिबल प्रतियोगिता मणि मुकुन्दले गर्दै आएको छ ।

विद्यालय स्तरका खेल अहिले सातौं संस्करणमा पुग्दा खुल्ला भलिबल प्रतियोगिता भने संघीयता पछि प्रदेश स्तरीय प्रतियोगिताका रुपमा अगाडि बढेको छ । त्यसअघि विकासक्षेत्र बीचको खेल हुँदै आएको थियो ।

५–६ बर्षदेखि नियमित राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आएको मणि मुकुन्दले प्रतियोगिता आयोजना गर्न प्रायोजक भने पाएको छैन ।

उसले अहिले पनि प्रायोजकको खोजि छाडेको छैन । ‘हामीले अहिलेसम्मका प्रतियोगिताहरुमा क्लबलाई माया गर्ने संघ, संस्था र व्यक्तिको साथबाट चलिरहेको छ । मणि मुकुन्द क्याम्पसले सहयोग गर्दै आएको छ । अहिले नगरपालिकाले वार्षिक ५ लाख दिने भएको छ,’ कप्तान भण्डारीले भने, ‘अब हामी लिग पनि बुटबलमा आयोजना गर्न पाए त्यहाँको भलिबलमा नयाँ आयाम आउँथ्यो भन्ने लागेको छ । त्यसैले यसै वर्ष लिग बुटबलमा गर्ने बारे छलफल भइरहेको छ ।’

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ९ : २७ बजे

त्रिविले नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र बनाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज अनुगमन तथा मूल्याङ्कन व्यवस्था

खुमबहादुर खड्कालाई झुठ्ठो मुद्दामा फसाइएको देउवाको दाबी

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको