कोरोना भाइरको त्रास : मन्दिरमा दर्शनार्थी फाट्टफुट्ट | Khabarhub Khabarhub

कोरोना भाइरको त्रास : मन्दिरमा दर्शनार्थी फाट्टफुट्ट


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– सुन्दर पर्यटकीय नगरी पोखरा धार्मिकरुपले उत्तिकै महत्वपूर्ण गन्तव्य हो । बाह्रै महिना तीर्थालुको चहलपहल भइरहेका यहाँका धार्मिक पर्यटकीय तीर्थस्थलमा यतिखेर कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमको प्रत्यक्ष असरमा परेको छ ।

सधैँजसो चहलपहल हुने गरेको यहाँको बिन्ध्यवासिनी मन्दिरमा यतिखेर अत्यन्त कम सङ्ख्यामा दर्शनार्थी पुग्ने गरेका छन् । सो भाइरसको जोखिमको असर बिन्ध्यवासिनी मन्दिरमा पनि प्रत्यक्ष देखिएको बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

औषतमा दैनिक तीन हजार तीर्थालुले दर्शन गर्ने सो मन्दिरमा केही दिनयता फाट्टफुट्ट मात्रै दर्शनार्थी आउने गरेको उनले बताए । समितिले मन्दिरमा दैनिक पूजाआजा नरोके पनि परिसरमा सञ्चालित ज्येष्ठ नागरिक मिलन केन्द्र र गुरुकुल भने बन्द गरिसकेको छ । सो भाइरसको जोखिमलाई दृष्टिगत गर्दै पशुबलिका साथै परेवा उडाउन बन्द गरेको छ । सामुदायिक प्रहरीसमेतको सहयोगमा फूलप्रसाद बेच्ने स्थानबाट परेवा बिक्री वितरण गर्न पनि रोक लगाइएको सचिव श्रेष्ठले जानकारी दिए ।

“केही दिनयता मन्दिरमा दर्शनार्थीको आगमन कम छ, जोखिमका कारण दर्शनार्थी कम भएको सम्भवतः पहिलोपटक नै होला”, उनले भने, “२०७२ सालको भूकम्पपछि लगातार गइरहेका परकम्पको प्रभावका कारण त्यो बेला पनि मन्दिरमा दर्शनार्थीको आगमन घटेको थियो ।”

प्रत्येक शनिबार अत्यधिक भीडभाड हुने बिन्ध्यवासिनी मन्दिरमा गत शनिबार अत्यन्त कम सङ्ख्यामा दर्शनार्थी देखिएको उनले जानकारी दिए । मन्दिरमा प्रत्येक शनिबार गर्दै आइएको विशेष आरती पनि रोकिएको छ । पोखरा हिमालपारिको जिल्ला मुस्ताङस्थित धार्मिक एवं ऐतिहासिक तीर्थस्थल मुक्तिनाथ जाने मुख्य नाका पनि हो । आइतबारदेखि मुक्तिनाथ मन्दिर सहित गुम्बा एवं कागबेनीघाट श्राद्धस्थलमा तीर्थयात्री प्रवेशमा रोक लगाउने निर्णय गरिएको छ ।

बिन्ध्यवासिनी मन्दिरसहित तालबाराही, भद्रकाली, गुप्तेश्वर महादेव, विश्व शान्ति स्तूप, शोभा भगवती, केदारेश्वर महादेवलगायतका दर्जनौँ धार्मिक पर्यटकीयस्थल छन् । मल्लकालीन समयदेखि नै अस्तित्वमा रहेका यहाँका प्रसिद्ध कास्कीकोट, पुम्दीकोट, भरतपोखरीको कोटभैरव, निर्मल पोखरीको फोक्सिङकोट, लेखनाथको ठूलाकोटजस्ता धेरै ऐतिहासिक धार्मिकस्थल पनि यहाँ छन् ।

प्रत्येक दिन बिहान पदयात्रा गर्नेको आकर्षक गन्तव्य बनेको यहाँको भद्रकाली मन्दिरमा केही दिनयता दर्शनार्थीको आगमन सुस्ताएको श्री गणेश तथा भद्रकाली मन्दिर सेवा समितिका सचिव योगेन्द्रमान श्रेष्ठले जानकारी दिए । मन्दिरको नियमित पूजाआजा नरोकिए पनि सम्भाव्य जोखिमलाई दृष्टिगत गरी दर्शनार्थी आउन छोडेको उनले बताए ।

“मन्दिरमा दर्शन गर्न आउनेलाई पनि सकेसम्म एकअर्कामा नजिक नभई पूजा गरेर चाँडो फर्कन भनेका छौँ”, उनले भने “स्वास्थ्य सचेतना एवं सहयोगका लागि मन्दिर परिसरमा रहेका धारामा साबुनपानी राखेर हात धुने व्यवस्था मिलाएका छौँ ।” बिहान पदयात्रा गर्दै मन्दिर परिसरमा पुग्नेलाई पनि आआफ्नो स्वास्थ्यप्रति सजग रहँदै सम्भावित जोखिमबाट बच्न उनले आग्रह गरे ।

सधैँजसो चहलहपल हुने फेवातालसहित तालको बीचमा रहेको तालबाराही मन्दिरमा पुग्ने धार्मिक पर्यटकको आगमन दिनानुदिन घट्दै गएपछि आइतबारदेखि डुङ्गा व्यवसायीले डङ्गा आवतजावत बन्द गराएका छन् । पर्यटकको सङ्ख्या घटेको र यात्रुलाई डुङ्गाबाट आवतजावत गराउँदा भीडभाड हुने भए पछि डुङ्गा सञ्चालन सेवा अनिश्चितकालका लागि बन्द गरिएको फेवाताल डुङ्गा व्यवसायी समितिका उपाध्यक्ष मङ्गल नेपालीले जानकारी दिए ।

पछिल्ला महिना यहाँको पर्यटनमा नै आकर्षण बनेको फेवाताल किनारस्थित तालबारही घाटको नियमित आरती सेवा बन्द गरिएको माता तालबाराही आरती सेवा समितिका अध्यक्ष गिरिराज अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ११ : १८ बजे

राजा फर्काउने आन्दोलन : सिसिफसको दुःख !

काठमाडौं– नोबेल पुरस्कार बिजेता चर्चित अस्थित्ववादी लेखक अल्बर्ट कामूले ‘द

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालयमा गाभिँदै

वीरगञ्ज– सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आगामी साउनदेखि वीरगञ्ज भन्सार

भिजिट भिसा प्रकरण : एक हप्तासम्म पनि हुन सकेन बजेटमाथि छलफल

काठमाडौं– उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदमा जेठ १५

युएसएडका सयौँ गाडी र मोटसाइकल थन्किए चोभारमा (तस्बिरहरू) 

काठमाडौं– अमेरिकी सहयोग निकाय युएसएड बन्द हुँदा नेपालमा यस निकायले

दुई करोड बढीको लगानिमा डेरी व्यवसाय

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारीका ललित हमालले दुई दशकअघि साइकलमा दूध