प्रधानमन्त्रीलाई गायक प्रकाश सपूतको यस्तो पत्र | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई गायक प्रकाश सपूतको यस्तो पत्र


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक प्रकाश सपूतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै कोरोना भाइरसको रोकथामका लागि खडा गरिएको कोषमा २ लाख रुपैयाँ सहयोग गरेका छन् ।

उनले कोरोना भाइरस नियन्त्रणमा सरकारले देखाएको चासोप्रति खुशी व्यक्त गर्दै सहयोग गरेका हुन् । यतिबेला आफ्नो जन्मभूमि बाग्लुङ पुगेका सपूतले लामो पत्र लेख्दै प्रधानमन्त्रीको सक्रियता र सरकारको जिम्मेवारी बोधप्रति खुशी भएको जनाएका छन् ।

यस्तो छ सपूतले लेखेको पत्रः

सम्माननीय प्रधानमन्त्री ज्यू, नमस्कार,

विश्वमा भयानक रुप लिदै महामारीको रुपमा फैलीरहेको कोरोना भाईरस सतर्कताका लागि नेपाल सरकारले गरेका प्रयासहरु सरहानिय छन । भर्खरै मिर्गौला प्रत्यारोपण गरेको आफ्नो कमज़ोर शरीर तर बलियो आत्मबल सहित सार्क राष्ट्रका सरकार प्रमुखहरुसंग गरेको भिडियो कन्फेरेन्स र शुक्रबार साझको सम्बोधनले व्यक्तिगत रुपमा तपाईको सक्रियता र सरकारको ज़िम्मेवारी बोध प्रति हामी कृतज्ञ छौ । यद्यपि केही दिन अगाडि स्वास्थ्य मन्त्री ज्यूले घरमा पाहुना आएको भन्दै देखाएको व्यक्तिगत हतारोले खिस्रिक्क परेका थियौ । अरु त सबै ठीकै छ । कोशिश राम्रो छ । किप इट अप ।

सरकारकै निर्देशनलाई पालना गर्दै सबै काम धन्दा छोडेर भिडभाड कम हुने र बस्ती अलि पातलो भएको आफ्नै गाउको घरमा आएर सेल्फ़ क्वारेनटाईनमा बसेका छौँ । दशैमा समेत नजुटिने हाम्रो परिवार यसपाली घर भरी भएका छौ । एक अर्थमा मेरो बाबा, आमा र गाउ सार्है खुसी देखिएका छन तर त्यो खुसी धेरै बेर रहन सकेन जब साझ खान खाने बेला बाबाले चिन्ता व्यक्त गर्नुभयो – “ अब अनिश्चितकालीन बन्द भन्छन् ।

यसरी सबै परिवार भेला भएर बसी – बसी खान कहिले सम्म पुग्ने हो ? ” माहोल स्तब्ध भयो । खाना खल्लो ! (बाबा लामो बैदेशिक रोज़गार पछि अहिले घरमा हुनुहुन्छ । मैले नै उहालाई ढाडस दिएको थिए – बा ! तपाई बुढो हुनु भो अब विदेश नजानुस । म गर्छु । “ आमा गृहिणी हुनुहुन्छ । माइलो भाई रोजगारीको लागि कहिले मलेशिया कहिले दिल्ली भौतारिरहेको छ । खास तरक्की गर्न सकेको छैन । बुहारी र छोरा गाउँमै छन् ।

अर्को दुई जना भाई र मेरी श्रीमती बिन्दु अध्यनरत छन् र आफ्नो करियरमा संघर्षरत छन । मेरी एउटा छोरी छिन ३ वर्षको । पछिल्लो ५/६ वर्ष देखि १० जनाको हाम्रो परिवार नितान्त म मा निर्भर छ भने पेशाले म गितसंगितमा निर्भर छु । फुलटाईमर कलाकार भनम न ।

दर्शक स्रोताको मायाले जेनतेन चलिरहेको छ । हैन, राम्रै चलिरहेको छ । ) खाना खाईवरी कोठामा पुगेपछि श्रीमती बिन्दु जि र मैले हाम्रो अकाउन्ट चेक गर्यौ । यहि वर्ष काठमाण्डौमा सानो घर लिएकाले हामी संग धेरै नगद मौज्दात रहनेछ । व्यवस्थापनमा मास्टर्स डिग्री बिन्दु जिले हिसाब निकाल्नु भयो – सामान्य खर्चमा १० जनाको हाम्रो परिवारलाई बसि बसि खाए पनि ४ देखि ६ महिनालाई पुग्ने पैसा हामीसँग रहेछ ।

मैले आफुलाई भंयकर सम्पन्न भएको महसूस गरे । मैले आफ्नो करियरमा कहिल्यै पैसालाई महत्त्व दिइनँ । आत्मसम्मान र सपनाको पछि लागे । यद्यपि दुई छाक टार्न गरेको संघर्षको छुट्टै कहालीलाग्दो कथा छ । परिवारलाई हुँदा खाने धरातलबाट उठाएर ६ महिना बसी बसी खान पुग्ने धन जोर्नु भनेको ठुलो उपलब्धि हो ।

मैले खत्रै फड्को मारेको हो हाम्रो पुर्खाको तुलनामा – बिन्दु जीलाई यति गफ लाइदेको उनी ढुक्क भएर निदाइन् । तर, म निदाउन सकिनँ ।

सम्माननीय प्रधानमन्त्री ज्यू,

के हाम्रो बा ले गरेको जस्तो अड्कल र चिन्ता हजुरले गर्नु भएको छ ? मन्त्रिपरिषदको कोरोना भाइरस सुरक्षा शतर्कता बैठकमा के यो प्रश्न उठेको छ कि परिस्थिति यस्तै रहयो भने हामी कति दिन सम्म पाल्न सक्छौ हाम्रो जनतालाई भनेर ? !

के सरकारले मैले जस्तै आफ्नो खाता पाता र भकारी चेक गर्यो ? मैले आफुले पाल्नु पर्ने परिवारको हिसाब राखे जस्तै के सरकारले आफुले पाल्नु पर्ने नागरिकको हिसाब राखेको छ ? मैले छ महिना भने जस्तै के तपाई भन्न सक्नु हुन्छ यदि भकारी नै रित्तिएर मर्ने स्थिती आयो भने सरकारसंग कति महिनालाई पुग्ने भकारी छ ? समस्या अहिल्यै बाट शुरु भैसकेको छ ।

कोरोना नआए पनि भोकमरीले अलिअलि छाया देखाईसकेको छ ! कम्पनी बन्द भएपछि कतै सेल्फ़ क्वारेन्टाईन त कतै आईसोलेशनमा थुनिएको परदेशीले उसकै भरमा बसेको आफ्नो परिवारलाई केहि हप्ता देखि पैसा झिक्ने रेमिट नम्बर टिपाएको छैन ! काम ठप्पै भएपछि खल्तीमा डेड–दुईसय बँचेको एउटा दैनिक मजदुरले कालोबजारी पसेर अचानक महगिँएको पसल अगाडि गएर घण्टौ सोच्छ होला -यति पैसाले सेनिटाइजर किनम कि सानी छोरीको लागि एक गास चामल ?

हात धुनें साबुन किनम् कि भात भिजाउने तिउन ? कोरोना छेक्ने माक्स किनम् कि आशु पुछ्ने रुमाल ? रोगको डर र भोकको डरमा कति फरक छ ? , रोगले मर्नु र भोकले मर्नु मा मृत्युको मुल्य कति फरक हो ? कि उस्तै उस्तै हो ! साँझ निदाउने बेला एकपटक ‘कवि’ जस्तो मन बनाएर, एकपटक ‘बा‘ जस्तो मन बनाएर यस्सो सोच्नुस त प्रम ज्यू । के भन्दो रछ हजुरको मनले !

ल मानम् परिस्थिति यस्तै भयो- आफुसंग हुदा सम्म खाने , नभए मर्ने स्थिती आयो भने हाम्रो परिवारको आयु ६ महिना तोकियो । यसबाहेक पनि केहि रक़म बच्ने भयो करिब – २ लाख रुपैया । एउटा ज़िम्मेवार नागरिकका हैसियतले यो रक़म यो विषम परिस्थितीका निमित्त सहयोग गर्न चाहन्छु । कहा कसकों नाममा दिने निधो नभएपछि रक़म लेखेर हस्ताक्षर गरेको चेक पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष ज्युको रोहबरमा महासंघको कार्यलय बागलुङमा पठाएको छु ।

यो रक़म सरकारकै मातहतमा जहा चलाए पनि हुन्छ । कोरोनाको आंशकामा विना पुर्वाधार बिरामी जाचिरहेका ति हिम्मतिला नेपाली डाक्टर र स्वास्थ्यकर्मिका लागि २ जोर ग्लब्स र एक जोर बलियो गाउन किन्न काम लागेपनि म खुसी ! सेल्फ़ क्वारेन्टाईनमा बस्न नपाई ज्यानको बाज़ी लगाएर नागरिकको सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीले पाउने पेन्शनमा हौसला स्वरुप कतै थोरै थपिन्छ भने पनि म खुसी ।

रोग प्रतिरोधात्मक क्षमता कम भएका वृद्धवृद्दा/ बालबालिका र अन्य रोगले ग्रस्त कोहि कसैलाई २ बोतल भिटामिन ख्वाउन काम लागे पनि म खुसी । काम धन्दा सबै ठप्प भएर भोंकभोकै हुनुपर्ने केहि श्रमिक घरपरिवारलाई गोडाएक महिना दुई गास दालभात ख्वाउन पाए पनि म खुसी । रकम थोरै छ तर यस्तो परिस्थितिमा जहा जसरी काम लागे पनि म खुसी ।

ल मानम यो सबै परिस्थितीको सामना र ज़िम्मेवारी सरकारले नै पुरा गर्ने भयो । सामान्य नागरिकको सहयोग नचाहिने भयो र मेरो चेक फिर्ता आयो भने त म झनै खुसी । यदि फिर्ता आयो भने म यो चेकको केहि पैसाले सरकारको महिमामा एउटा गज्जबको गित रेकर्ड गर्ने छु । र

बाँकी रक़मले मेरी छोरीको शैक्षिक बीमा गरिदिनेछु । उस्ले धेरै पढोस र विश्वमा फेरी यस्ता विषम परिस्थिति आयो भने रक़म नतोकिएको चेक डोनेशन गर्न सक्ने हैसियत बनाओस । आफ्नो देशका लागि मात्रै होईन पुरै विश्वका लागि ।

आफ्नो र हाम्रो ख्याल राख्नुहोला । धन्यवाद ।

प्रकाश सपुत
एक नागरिक / एक कलाकार ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ६ : ०५ बजे

त्रिशूली थ्री बी हब २२० केभी सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन 

पहिरेबेंसी– चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित

दलहरूबीच मिलेन कुरा, प्रतिनिधि सभा बैठक आइतबारसम्मलाई स्थगित

काठमाडौं- सत्ता र प्रतिपक्षी दलहरूबीचको विवादमा संसद् बन्धक बनेको छ

सुदूरपश्चिम ललितपुर मेयर कप महिला टी- २० को फाइनलमा

काठमाडौं– सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टी-२० क्रिकेट

संसद भवन अगाडि नेविसंघको प्रर्दशन, ११ जना पक्राउ

काठमाडौं- गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघले संसद भवन अगाडि प्रर्दशन

भलिबल खेलाडीलाई सेनाको सहयोग

महेन्द्रनगर– नेपाली सेनाले भलिबल खेलाडीहरूलाई सहयोग गरेको छ । कञ्चनपुरको