मिथिलामा अक्षय नवमी पर्व मनाइँदै « Khabarhub

मिथिलामा अक्षय नवमी पर्व मनाइँदै


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- मिथिलाञ्चलमा आज अक्षय नवमी पर्वको रमझम छ ।

मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार आज जताततै मैथिल (मिथिलाका बासिन्दा) यसको तयारीमा जुटेका छन् ।

यस पर्वमा अमला (धातृ) को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । पर्वमा बगैँचा र वन क्षेत्रका अमलाका रुखमुनि वनभोज आयोजना गरिएका छन् ।

आफ्नै आँगन वा खेतबारी बगैँचामा  अमला (धातृ) का रुख हुनेले यसै ठाउँमा र कतिपयले वनक्षेत्रका अमलाका रुखमुनि वनभोजको तयारी गरेको देखिँदो छ । पर्वमा अनिवार्यरूपले अमलाका विभिन्न परिकार बनाइने मैथिल परम्परा छ ।

यस पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित शाकाहारी खानेकुरा मात्र भोजमा पकाउने खाने परम्परा रहेको छ ।

पर्व विशेषले अब चिसो मौसम बढ्दै जाने क्रममा खानेकुरामा गुणकारी फल अमलाको प्रयोग बढाउने सन्देश रहेको मैथिल संस्कृति परम्पराका जानकार कर्मकाण्डी ब्राह्मण महेशकुमार झा बताउँछन् ।

पर्व विशेषमा खासगरी किशोर र युवा  वनभोजको रमाइलो लिन आज एकाबिहानै वनक्षेत्रका विभिन्न पार्क र वनभोजस्थल पुगेका छन् ।

खासमा यो पर्वमा दिनभरि भगवान् विष्णुको आराधना गर्दै व्रत बसेर साँझ अमलाको रुखमुनि सहभोज गरिने परम्परा रहेको जिल्लाकै बलवा बजारका बासिन्दा शिवनारायण झा बताउँछन् ।

सहभोजको चलन साँझपख रहेको र परिवारका सम्पूर्ण सदस्य सहभागी हुने हुँदा यस भेगमा धेरैजसोले आफ्नै घरआँगन र नजिकको बगैँचामा भोजको आयोजन गर्ने गरेका देखिन्छ ।

पर्व विशेषमा जिल्लाको बर्दिबास नगरक्षेत्रका कारेघोप्टे, माईस्थान, टुटेश्वर, राइमण्डल, कालापानी र गौरीडाँडा वनपार्क नजिकका वनक्षेत्रका  अमलाका रुखका फेदमा एक/दुई दिन पहिलेदेखि नै विभिन्न टोलीले भोजको ठाउँ छनोट गरेका छन् ।

खानेकुरामा अमलाको नियमित प्रयोगमा जोड दिने परम्पराले यो पर्व स्वास्थ्य सचेतनाका लागि सहयोगी भएको बर्दिबास अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.विधानचन्द्र झाको भनाइ छ ।

मिथिलामा यो पर्वलाई कुष्माण्डा नवमी पनि भन्ने गरिएको छ । कात्तिक शुक्ल नवमीकै दिन द्वापर युगमा श्रीकृष्णले कुष्माण्डक दैत्यलाई सम्हार गरेर कंश बध गर्नुपूर्व मधुरा, वृन्दावन र गोवर्द्धन पर्वत क्षेत्र परिक्रमा गरेको विश्वासमा कुष्माण्ड र पर्वमा अमलाको रुख तथा फलका परिकारको महत्व दर्शाउन धातृनवमी भनिएको मिथिला कला, साहित्य र परम्पराका ज्ञाता यस क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमलको भनाइ छ । मैथिलीमा अमलालाई ‘धातृ’ भनिन्छ ।

कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाका रुखमा बस्ने हिन्दू जनविश्वास रहेको छ ।

अक्षय नवमीका दिन भगवान् विष्णुको आराधनाले इच्छित कामना पूरा हुने र सन्तान सुख प्राप्त हुने हिन्दू मैथिल जनश्रुति छ ।

इच्छित कामना पूरा हुने भएकाले यस पर्वलाई इच्छा नवमीसमेत भन्ने गरिएको डा विमल बताउँछन् ।

 

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ७ : ४१ बजे

केही घण्टाको अन्तरालमा होर्मुजको जलक्षेत्रमा तीन जहाजमाथि हमला

काठमाडौं- बुधबार केही घण्टाको अन्तरालमा होर्मुजको जलडमरुमध्यमा रहेका तीन जहाजमा

कांग्रेसका नवनिर्वाचित सांसदहरूसँग संसदीय दलको अन्तरक्रिया

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलले राष्ट्रिय सभाका सदस्य र नवनिर्वाचित

सकियो समानुपातिक मतगणना : रास्वपालाई ४७.८२ प्रतिशत मत, दुईतिहाइबाट दुई सिट टाढा

काठमाडौं- फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना बुधबार दिउँसो

हतार हतार हर्कको चन्दा अभियान, भारतले सहमति नदिँदा हट्न सकेको छैन दार्चुलामा महाकालीको तुइन

काठमाडौं- श्रम संस्कृति पार्टीका संस्थापक तथा सांसद हर्क साम्पाङले दार्चुलास्थित

निर्वाचनका लागि स्थापना गरिएका विशेष एकाइ तथा समन्वय केन्द्र बन्द गरिने

काठमाडौं– निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न निर्वाचनको तयारीका