चोरीका घटना बढेपछि स्थानीयवासीले थाले गस्ती « Khabarhub

चोरीका घटना बढेपछि स्थानीयवासीले थाले गस्ती


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- गत मङ्गलबार तिलोत्तमा नगरपालिका–१५ बिघा क्षेत्रमा रहेको गणेश पाण्डेको घरमा चोरी भयो । घरमा कोही नभएको मौका पारेर नगद २० हजारसहित गहना र अन्य सामानसमेत चोरले चोरेर लगे । प्रहरीले चोरीमा संलग्नलाई पक्राउ गर्न सकेको छैन ।

यही माघ ५ गते बुटवलको झोलुङ्गेपुलस्थित सुरज नेपालीको शुभ रेसुङ्गा मोबाइल सेन्टरमा चोरी भयो । रातिको समयमा सटरको ताला फोडेर पसलमा रहेका मोबाइल चोरी भए ।

त्यसको एक दिन अगाडि झोलुङ्गेपुलकै किराना सामानको ताला फोडेर चोरले सामान चोरे । घर र पसलमात्र होइन, पछिल्लो समय जिल्लामा बस, ट्र्याक्टर तथा एम्बुलेन्ससमेत चोरी भए ।

माघ १ गते बुटवलको मैनाबगरबाट एम्बुलेन्स नै चोरी भयो । बुटवलको मैनाबगरबाट चोरी भएको एम्बुलेन्स पाल्पाको तिनाउ गाउँपालिका नुवाकोट जङ्गलमा फेला पर्‍यो ।

मैनाबगरस्थित नवदुर्गा अटोमोबाइल्समा मर्मतका लागि राखिएको लु१च ९४२० नंको एम्बुलेन्स राति चोरी भएको थियो । इलाका प्रहरी कार्यालय बुटवलको गस्ती टोलीले खोजतलासका क्रममा नुवाकोटको जङ्गलमा एम्बुलेन्स फेला पारेको हो ।

प्रदेश नं ५ को अस्थायी राजधानी रहेको बुटवलमा समेत हरेक दिनजसो चोरीका घटना भएका छन् । उच्च सुरक्षाका बीच पनि चोरीका घटना बढ्दै गएपछि प्रहरीलाई चुनौती थपिएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको तथ्याङ्कअनुसार यस आव २०७६/७७ मा चोरीका घटनाका कूल ८५ मुद्दा दर्ता भएका छन् ।

मुद्दा दायर भएकामध्ये साधारण चोरीका धेरै छन् । यो आवमा छ सवारी चोरी भएका छन् । प्रहरीले विभिन्न प्रकारका चोरी मुद्दामा १५१ विरुद्ध मुद्दा चलाएको छ ।

चोरीमा संलग्न रहेको अभियोग लागेका नौ अझै फरार छन् । प्रहरीले गत आवमा १६१ चोरीका मुद्दा दर्ता गरेको थियो, जसमा २२४ विरुद्ध मुद्दा दायर गरिएको थियो ।

बुटवलमा सबैभन्दा बढी वडा नं १३ र १४ मा चोरीका घटना भएका छन् । शङ्खलाबद्ध चोरीका घटना बढ्दै गएपछि सर्वसाधारण त्रसित बनेका छन् । इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारीअनुसार यस आव २०७६/७७ मा चोरीका घटनाका ४९ मुद्दा दायर गरिएको छ ।

मुद्दा दायर भएकामध्ये साधारण चोरीमा धेरै रहेको छ । साधारण चोरीमा ४३ मुद्दा दायर गरिएको छ । यस्तै चौपाया चोरीमा तीन, डाँका चोरीमा एक, चोरी उद्योगमा दुई मुद्दा दायर गरिएको छ । इलाका प्रहरीले आव २०७५/७६ मा चोरीका घटनामा ९८ मुद्दा दायर गरेको थियो ।

पछिल्लो दुई वर्षको अवधिमा इलाका प्रहरीले १९५ विरुद्ध चोरीको मुद्दा दर्ता गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक नवीन चुँदालीले जानकारी दिए।

सङ्गठितरूपमा हुने चोरीका घटनामा कमी आए पनि साधारण चोरीका घटनामा भने कमी आउन नसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।

रातिमा सबै सुतेको मौका छोपेर धेरै चोरी हुने गरेको उनले बताए । चोरीका मुद्दामा पछिल्लो सात महिनामा मात्रै करीब ८० लाई मुद्दा चलाइएको जानकारी गराए ।

बुटवलमा दिनहुँ चोरीका घटना हुन थालेपछि स्थानीयले गस्ती शुरु गरेका छन् । बुटवल वडा नं १३ का स्थानीयवासीले वडामा चोरी नियन्त्रणका लागि रातिको समयमा गस्ती गरेका हुन् ।

विगत केही महिनादेखि वडामा दर्जनौँ चोरीका घटना हुँदा पनि चोरीमा संलग्नलाई पक्राउ गर्ने कार्यमा प्रहरीले तदारुकता नदेखाएपछि स्थानीय मिलेर रातीमा गस्ती शुरु गरेका हुन् । वडाका नागरिकको सुरक्षाका लागि सुरक्षा समिति नै गठन गरेर सुरक्षा अभियान थालिएको झोलुङ्गेपुल टोल समितिका अध्यक्ष पिताम्बर भण्डारीले जानकारी दिए ।

चोरी नियन्त्रणका लागि स्थानीय व्यवसायी ज्ञानप्रसाद न्यौपानेको अध्यक्षतामा सुरक्षा समिति बनाएर टोल–टोलमा सचेतना जगाउने काम भइरहेको उनले बताए ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  १२ : ५४ बजे

रोनाल्डोको विश्वकप यात्राको दुःखद अन्त्य, डलास मैदानमा पोखिए आँसु

काठमाडौँ – डलासको अत्यधिक गर्मी मौसमबीच सोमबार राति पोर्चुगिज फुटबलका

पोर्चुगललाई हराउँदै स्पेन विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौँ – वैकल्पिक खेलाडी मिकेल मेरिनोले इन्जुरी समयको पहिलो मिनेट

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असार २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २३ गते मंगलबार सन् २०२६

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड