कछुवा गतिमा सम्पदा पुनर्निर्माण, पाँच वर्षमा आधा मात्र काम | Khabarhub Khabarhub

कछुवा गतिमा सम्पदा पुनर्निर्माण, पाँच वर्षमा आधा मात्र काम


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०७२ साल वैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पनबाट क्षति पुगेका ५ सय २० वटा सम्पदाहरु पुनर्निर्माणको पर्खाइमा रहेका छन् ।

भूकम्प गएको पाँच वर्ष पूरा हुन दुई महिना भन्दा कम सयम बाँकी रहँदा पनि सम्पदाहरुको पुनर्निर्माण कछुवा गतिमा भइरहेको हो ।

भूकम्पले ३१ जिल्लाका ९ सय २० सम्पदाहरु ध्वस्त बनाएको थियो ।

भूकम्पले क्षति पुर्‍याएका ऐतिहासिक पुरातात्विक तथा साँस्कृतिक महत्वका ७ सय ३७ सम्पदाहरुको पुनर्निर्माणको काम पुरातत्व विभागले गरिरहेको छ । त्यस्तै १ सय ८३ वटा सम्पदाको पुनर्निर्माण विभिन्न संघ संस्थाहरुले गरिरहेका छन् ।

भूकम्पले सम्पदा क्षेत्रमा मात्र नभइ अन्य निजी आवास, शैक्षिक संस्था, शिक्षण संस्था र सरकारी भवनमा समेत क्षति पुर्‍याएको थियो ।
अन्य क्षेत्रमा भन्दा सम्पदा पुनर्निर्माणको अवस्था उत्साहजनक देखिँदैन ।

९ सय २० सम्पदामा क्षति पुगेकोमा हालसम्म ४ सय सम्पदा मात्र पुनर्निर्माण भएका छन् । बाँकी ५ सय २० सम्पदाहरु पुनर्निर्माणको पखाईमा रहेका छन् ।

उपत्यकाका ५४० सम्पदामा क्षति, १६१ सम्पदा पुनर्निर्माण 

सेवा सुविधाका हिसाबले शहरलाई विकसित रुपमा लिइन्छ । गाउँमा भन्दा शहरी क्षेत्रमा अहिले दक्ष जनशक्तिहरु पनि प्रशस्त छन् । तर काठमाडौं उपत्यकाकै सम्पदा भने अझै उठ्न सकेका छैनन् ।

साँस्कृतिक महत्वका सम्पदाहरु पुनर्निर्माण पुरानै शैलीमा गर्नुपर्ने भएकाले सुस्त ढंगले अघि बढेको बताउँछन् विभागका प्रमुख रामबहादुर कुँवर ।

‘निजी आवास जस्तो हुँदैन सम्पदा पुनर्निर्माण, यो भनेको ऐतिहासिक महत्व बोकेका सम्पदा हुन्’ उनले भने, ‘पुरानै शैलीमा बनाउनु पर्ने हुँदा समय त लागि हाल्छ नि ।’

भूकम्पले काठमाडौंभित्र ३ सय १९ सम्पदामा क्षति पुर्‍याएको थियो । जसमध्ये हालसम्म ९९ वटा सम्पदा मात्र पुनर्निर्माण भएका छन् ।

चालू आर्थिक वर्षमा १ सय ६८ सम्पदाहरु पुनर्निर्माण गर्ने विभागको लक्ष्य छ । भने बाँकी ६० सम्पदाको पुनर्निर्माण आगामी २ वर्षभित्र गरिसक्ने कुँवरले बताए ।

त्यसैगरी भूकम्पले ललितपुरका १ सय २३ सम्पदाहरुमा क्षति पुर्‍याएको थियो । जसमध्ये हालसम्म ३० वटा सम्पदा मात्र पुनर्निर्माण भएका छन् ।

त्यसैगरी भूकम्पले भक्तपुर जिल्लामा क्षति पुगेका ९८ सम्पदामध्ये हालसम्म ४० वटाको मात्र पुनर्निर्माण गरिएको छ ।

भूकम्पले उपत्यकाका ५ सय ४० वटा सास्कृतिक सम्पदाहरुमा क्षति पुर्‍याएको थियो । तीमध्ये अहिलेसम्म १ सय ६१ वटा सम्पदाको मात्र पुनर्निर्माण सम्पन्न भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

साँस्कृतिक सम्पदाको विवरण हेर्दा उपत्यकासँगै भूकम्पले सबैभन्दा बढी क्षति काभ्रेपलाञ्चोक जिल्लामा पर्न गएको देखिन्छ ।

जहाँ ९१ वटा सम्पदामा क्षति पुगेको थियो । तर त्यहाँको प्रगती विवरण हेर्दा अहिलेसम्म १४ वटा सम्पदा मात्र पुनर्निर्माण भएका छन् ।

त्यस्तै अन्य जिल्लाहरुको पनि उल्लेख्य प्रगती भने देखिदैँन ।

६० प्रतिशत सम्पन्न गर्न २ अर्ब ३९ करोड खर्च

प्रमुख कुँवरका अनुसार ४ सय सम्पदा पुनर्निर्माणका लागि २ अर्ब ३९ करोड ८१ लाख ४६ हजार रुपैयाँ खर्च भएको छ ।

त्यस्तै चालु आर्थिक वर्षमा सम्पदा पुनर्निर्माणका लागि नेपाल सरकारको तर्फबाट ९६ करोड ७९ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

बाँकी ४० प्रतिशत सम्पदा पुनर्निर्माणका लागि ३ अर्ब ६२ करोड ५ लाख रुपैयाँ आवश्यक पर्ने कुँवरले खबरहबलाई जानकारी दिए ।

विश्वसम्पदामा सूचिकृत ५७ सम्पदाहरु पुनर्निर्माणको पखाईमा

विश्वसम्पदा सूचीमा सूचिकृत काठमाडौं उपत्यकाभित्र रहेका ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रमध्ये भूकम्पले ७ वटै विश्वसम्पदा क्षेत्रमा रहेका सम्पदाहरुमा क्षतिपुर्‍याएको थियो ।

हनुमानढोका दरवार परिसरमा ३२, पाटन दरबार क्षेत्रमा ३०, भक्तपुर दरवार परिसरमा २६, चाँगुनारायण क्षेत्रमा १०, पशुपति क्षेत्रमा ६१, स्वयम्भूनाथ क्षेत्रमा १८ र बौद्धनाथमा १ गरी १ सय ७८ वटा सम्पदामा क्षति पुगेको थियो ।

तीमध्ये हालसम्म ९२ वटा मात्र सम्पदाहरुको पुनर्निर्माण सम्पन्न भएको छ । २९ वटा सम्पदा पुनर्निर्माणको चरणमै रहेका छन् भने ५७ वटा सम्पदाहरु पुनर्निर्माणको पर्खाइमा रहेका छन् ।

विश्व सम्पदा क्षेत्रमा सम्पदा पुनर्निर्माणको काम सुस्त गतिमा अघि बढ्न नसकेपछि युनेस्को विश्व सम्पदा समितिले खतरामा परेको विश्व सम्पदा सूचीमा सुचिकरण गर्ने प्रयास समेत गरेको थियो ।

तर काठमाडौं उपत्यका विश्व सम्पदा स्थललाई खतरामा परेका विश्व सम्पदा सूचीमा नराख्न सन् २०१५ देखि नै विभिन्न रुपमा बुझाउने प्रयासहरु साथै क्षतिग्रस्त सम्पदाहरुको पुनर्निर्माण कार्यमा निरन्तरताका साथ लागिपरेको कुँवरले जानकारी दिए ।

विश्व सम्पदालाई जोड्न साइकलन लेन निर्माण गरिने

सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरिसकेको छ । सबै क्षेत्रहरु २० लाख पर्यटक भित्र्याउनका लागि लागिपरेका छन् ।

यसैबीच उपत्यकाभित्र छरिएर रहेका सम्पदाहरुमा पुग्नका लागि साइकलन लेन निर्माण गर्ने तयारी थालेको पर्यटन मन्त्रालयले जनाएको छ ।

विशेषगरी ७ वटा विश्व सम्पदालाई जोड्नका लागि साइकलन लेन निर्माण गर्न लागेको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

‘उपत्यकाका विश्वसम्पदा अवलोकन गर्नका लागि अब साइकलमा चढेर सररर पुग्न सकिन्छ’ मन्त्री भट्टराईले भने, ‘यसबारे पर्यटन व्यवसायीहरुसँग छलफल भइरहेको छ ।’

त्यसैगरी सम्पदालाई भ्याली बाइ नाइट बनाउने र पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने उनले बताए ।

भक्तपुरका सम्पदा क्षेत्रमा बत्तीको व्यवस्था भइसकेको बताउँदै उनले भने, ‘विश्व सम्पदाभित्र रात्रिकालीन समयमा पनि सहज ढंगले घुम्न सकिने बनाउनुपर्छ ।’

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  १० : १४ बजे

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा