महाकाली पारी रोकिएका नेपाली सोध्छन्– हामी कहिले स्वदेश फर्किन पाउने हो ? | Khabarhub Khabarhub

महाकाली पारी रोकिएका नेपाली सोध्छन्– हामी कहिले स्वदेश फर्किन पाउने हो ?


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– कोरोना भाइरस (कोभिड–१९) को जोखिम हुन नदिन लकडाउन जारी भएको एकमहिना पुरा भयो । सिमानाकामा धेरै नेपाली रोकिएका छन् । ‘भारत पिथौरागढको धार्चुलाको क्वारेन्टाइनमा मात्र बसेको एक महिना बित्न लाग्यो । पौडिन सक्ने जति महाकाली तरेर दिनहुँ गइरहन्छन् । हामी पौडन नसकेरै क्वारेन्टाइनमै छौं,’ बैतडीका दीपक चुनाराले भने, ‘स्वदेश फिर्ता ल्याउँछौं ल्याउँछौं भनेर भन्छन्, तर हामी कहिले आउन पाउने हो ?’

उनले क्वारेन्टाइनमा अहिलेसम्म स्वास्थ्य जाँच नभएकोमा दुःखेसो पोखे । गत चैत १३ गते दार्चुला पुगेदेखिका नेपालीहरु घर फर्किन पाएका छैनन् । क्वारेन्टाइनमा बसेकाहरु अझै स्वदेश फर्किन नपाउँदा निराश भएका छन् ।

भारत पिथौरागढको दार्चुलास्थित मिनीस्टडियममा बसेका उनीहरुले अहिलेसम्म आफूहरुको स्वास्थ्यप्रति सरकारले ध्यान नदिएको गुनासो गरेका छन् । उनीहरु एक महिनासम्म आफूहरुलाई सरकारले घर फर्काउन पहल नभएकोमा चिन्तित छन् ।

अमृत बोहरा भन्छन्, ‘क्वारेन्टाइनमा न खाना समयमा पाइन्छ, न बास बस्न नै राम्रो व्यवस्था छ । एउटै देशका नागरिकमाथि किन विभेद ।’ नेपालमा पौडिएर गएकाहरु राम्रो गाउँघरका क्वारेन्टाइनमा छन् भने कोही गाउँ पुगिसके । भाग्न नसक्नेहरु यहाँ बस्नुपरेको बोहराको भनाइ छ ।

उनले भने, ‘क्वारेन्टाइनबाट भागेर जानेहरुका कारण आफूहरुले समस्या झेल्नुपरेको छ । शौचालय जाँदा पनि केरकार गर्न थालेका छन् । दिशा गर्न महाकाली किनार जानुपर्छ । प्रत्येकलाई पाँच मिनेटको समयावधि दिइएको छ । गालीगलौच र कुटपिट हुन्छ, हाम्रो कहिले उद्धार हुन्छ,’ उनले भने ।

तर उहाँहरुसँगै क्वारेन्टाइनबाट भागेर आउने तथा ट्युब, महाकाली पौडिएर शुक्रबारसम्म २२० जना नेपाल प्रवेश गरेका छन् । लकडाउन अवधिमा अन्तर्राष्ट्रिय सीमानाका बन्द गरी सीमानाकामा हुने अवैध आवतजावतलाई पूर्णरुपमा नियन्त्रण गर्ने भनिए पनि उनीहरु महाकालीबाट अवैध रुपमा भित्रिएका हुन् ।

गत शुक्रबार मात्र मार्मा गाउँपालिका–६ का २५ वर्षीय प्रजापति देउरुखी र उनकी श्रीमती २२ वर्षीया रेखा बोहरा महाकालीमा ट्युबमार्फत नेपाल भित्रिएका छन् । उनीहरु महाकाली नगरपालिका–९ उडै क्षेत्रबाट स्वदेश प्रवेश गरेको महाकाली नगरपालिका विपद् शाखा संयोजक भुवन जोशीले जानकारी दिए ।

रोजगारीको सिलसिलामा गएका दार्चुला, बैतडी, बझाङलगायत क्षेत्रका स्थानीयवासी दिनहुँजसो महाकाली नदी तरेर स्वदेश भित्रिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए ।

आजसम्म यहाँका पाँच वटा क्वारेन्टाइनमा एक हजार ६३ जना व्यक्ति रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भारतमा रहेका नेपालीलाई उद्धार गरेर ल्याउन जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पुनः अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको अध्यक्षतामा बसेको बैठकले जिल्लामा क्वारेन्टाइनमा रहेकाको समयावधि पुगिसकेका कारण स्वदेश ल्याउनका लागि सरकारलाई आग्रह गर्ने निर्णय गरिएको उनले बताए ।

‘हामीले उनीहरुको व्यवस्थापनका लागि स्थानीय तहलाई तयार रहन भनेका छौं,’ प्रजिअ पौडेलले भने, ‘सरकारले निर्णय गर्नेबित्तिकै उद्धार हुन्छ । अहिले स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनलाई यथावत् राख्न आग्रह गरेका छौं । ‘

भारतमा रहेका नेपालीलाई यही वैशाख १५ गतेभित्र स्वदेश ल्याउन स्थानीय तहका जनप्रतिनिधिले समेत आग्रह गरेका छन् । बैठकमा सहभागी मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले समस्यामा रहेको भन्दै तत्काल उनीहरुको उद्धार गर्नुपर्ने बताए ।

‘चार सातादेखि उनीहरु अप्ठ्यारोमा छन्,’ उनले भने, ‘उनीहरुलाई तत्काल ल्याउने व्यवस्था मिलाउनुपर्छ ।’

जिल्ला समन्वय समिति प्रमुख करवीरबहादुर कार्की बैठकले सरकारलाई धार्चुलामा रहेकाहरुलाई उद्धारका लागि आग्रह गर्ने निर्णय गरेको बताए । तर १५ गतेसम्म पनि कुनै निर्णय नआए पनि दार्चुलाका स्थानीय तहहरुले व्यवस्थापन गर्ने गरी उद्धार गर्नुपर्छ भन्ने बैठकको निष्कर्ष रहेको उनले जानकारी दिए ।

बैठकका एक सहभागीका अनुसार दुई/तीन दिनभित्र सरकारले आदेश नगरे पनि स्थानीयस्तरमा सहमति गरेर ल्याउने कुरामा बैठकका सहभागी एकमत देखिएका छन् ।

बैठकमा महाकाली नगरपालिका प्रमुख हंशराज भट्ट, मार्मा गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामी, नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी र मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामी सहभागी थिए ।


नरेन्द्रसिंह कार्की/रासस

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  २ : ४७ बजे

बडिगाडको ढाका उद्योगले पहिचान बनाउँदै

बागलुङ- पाँच वर्षअघि बडिगाड गाउँपालिकाको सहयोगमा स्थापना भएको बडिगाड ढाका

म्याग्दीको नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा

चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद

सर्लाही– सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो

रोचक खेल : भिल्लासँग आर्सनल बराबरीमा रोकियो

काठमाडौं – इङ्ग्लिस प्रिमियरसिपको शनिबार राति भएको खेलमा अस्टन भिल्ला