अनुदानमा च्याउको बीउ वितरण « Khabarhub

अनुदानमा च्याउको बीउ वितरण


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- पौष्टिकतत्वयुक्त र स्वास्थ्यबर्द्धक मानिने च्याउको खेतीतर्फ सप्तरीका कृषकको आकर्षण बढेको छ ।

कृषकको आकर्षण बढेपछि च्याउखेतीलाई प्रोत्साहन गर्न कञ्चनरुप नगरपालिकाले नगरभित्रका कृषकलाई अनुदानमा च्याउको बीउ वितरण गर्न थालेको छ ।

नगरपालिकाको कृषि विकास शाखाले इच्छुक कृषकलाई ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण शुरु गरेको कृषि विकास शाखाका वेचन सढोक यादवले जानकारी दिए ।

नगरपालिकाको १२ वटै वडाका स्थानीय कृषक, कृषि फर्म तथा समूहलाई ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण गरिरहेको कृषकले बताएका छन् ।

किसानको समस्यालाई हल गर्न खेतमै गई प्राविधिकले सल्लाह सुझावसमेत दिने गरेको कृषक राजकिशोर महतोले बताए ।

कञ्चनरुप नगरपालिका–१२ रुपनगरका कृषक पुष्प कार्कीले रु ५० हजार लगानीबाट एक मौसममा रु एक लाखसम्मको आम्दानी गरेको बताए ।

निर्वाहमुखी कृषि खेती गर्दै आइरहेका कृषकलाई व्यावसायिक कृषक बनाउन अनुदानमा च्याउको बीउ वितरण गरिएको कञ्चनरुप नगरपालिकाले जनाएको छ ।

च्याउखेती गर्नेले छोटो समयमै कम लगानीमा बढी आम्दानी गर्नसक्ने भएकाले कृषकको आकर्षण बढेपछि अनुदानमा बीउ वितरण गरिएको नगरप्रमुख वसन्तकुमार मिश्रले बताए ।

नगर प्रमुख मिश्रका अनुसार उन्नत प्रविधिको प्रयोग गरी च्याउखेती गर्न कृषकलाई निकट भविष्यमा आवश्यक तालीम सञ्चालन गरिने बताए ।

पराले च्याउखेती गर्न घरको कोठा नै चाहिन्छ भन्ने छैन । यसको खेती घरबाहिर खेतबारी, रूखको छहारी वा खरका छाप्रोअर्थात् टहरामा पनि गर्न सकिने प्राविधिकको भनाइ छ ।

गाउँमा आफ्नै घर वरपरका घाम नलाग्ने छहारीमा यसको खेती गर्न सकिन्छ । यसका लागि सिधा घाम र धेरै हावा लाग्ने ठाउँ भने उपयुक्त हुँदैन ।

च्याउखेती गर्न माटोको सतह अन्यत्रको भन्दा केही अग्लो हुनुपर्छ । जमीनमा पानी जम्न दिनुहुँदैन । च्याउको ब्याड बनाउने सतहमा इँटा वा ढुङ्गाको लाइन छापेर, काठ वा घाँसको फ्रेमजस्तो राख्नुपर्दछ । त्यसमाथि परालका मुठाको चाङ लगाउनुपर्दछ ।

च्याउको ब्याडको चारैतिर सानो कुलो बनाएर पानी जमाउनुपर्दछ । यसले गर्दा च्याउको ब्याडमा मुसा र अन्य कीरा जान रोकिन्छ । साथै, यसले च्याउको ब्याडलाई ओसिलो बनाइराख्नसमेत सहयोग पुग्छ । ठाउँको बचत गर्न तीन तला गरी ब्याड बनाउन सकिन्छ तर, यसका लागि प्रशस्त मात्रामा उज्यालोपन चाहिने यादवले बताए ।

च्याउमा प्रोटिन, भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ । बोसो नगन्य मात्रामा पाइने च्याउलाई पौष्टिक खानाको रूपमा लिइन्छ ।

अन्य तरकारी खेतीको तुलनामा च्याउखेती कम लगानीमा बढी उत्पादन हुने भएकाले कृषकको आकर्षण बढ्दै गएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खडकाको भनाइ छ ।

यसअघि पनि कञ्चनरुप नगरपालिकाले मौसमी तथा बेमौसमी तरकारी, फलफूल, धान, मकैलगायत अन्य प्रकारका बीउबिजन तथा धानको गवारो आदिको विषादी अनुदानमा वितरण गरेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  १ : ५० बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट