समाचार

पार्टी भित्र समस्या छ, तर आत्तिनु पर्दैन– माधव नेपाल

By खबरहब

February 27, 2020

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्र केही समस्या देखिए पनि आत्तिनु पर्ने अवस्था भने नरहेको बताएका छन् ।

बिहीबार वाग्मती प्रदेशस्तरीय नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले पार्टी भित्र समस्या भएपनि त्यो समाधान हुने बताए ।

‘तपाईंहरु यहाँ आउँदा मनमा धेरै आशंका लिएर आउनुभएको होला । अखवारहरुमा आएका समाचारले धेरै आशंका उब्जायो होला,’ प्रशिक्षण कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘पार्टी भित्र समस्या छ । तर, समाधान हुन्छ । आत्तिनु पर्ने अवस्था छैन । यहाँबाट जाँदा तपाईंहरु नयाँ जोश लिएर जानुहुने छ ।’

नेता नेपालले पार्टीलाई तथा आन्दोलनलाई विघटनको दिशमा जान दिँदैनौं भनेर सबैले प्रतिज्ञा गर्नुपर्ने पनि बताए ।

नीति र विधानको पालनाबाट मात्रै पार्टी बलियो हुने पनि नेता नेतपाको भनाइ थियो । पार्टी भित्र एकतासँगै संघर्ष र विवाद पनि रहने उल्लेख गर्दै नेता नेपालले विवादलाई पार्टी भित्रै सीमित राख्नुपर्ने पनि बताए ।