काठमाडौं – अमेरिकामा नर्सिङ पेसा अगाल्दै आएकी एक नर्स आफैं कोरोना संक्रमित भएपछि उनले खेपेको हण्डरले यतिबेला अधिकांश मानिसलाई भाविक बनाएको छ ।
अमेरिकाको न्युयोर्कमा ९ बर्षदेखि नर्सको रुपमा कार्यरत आशा साहलाई मार्चको तेस्रो सातातिर कोरोना संक्रमित विरामीको हेरचाह गर्दा गर्दै कोरोना संक्रमण पुष्टि हुन्छ ।
न्यूयोर्कस्थित जकोभी मेडिकल सेन्टर ब्रोंक्समा कोभिड संक्रमित बिरामीको हेरचाह गर्दा गर्दै उनी आफैँमा कोरोना संक्रमण हुन्छ ।
अस्पतालको सर्जरी युनिटमा काम गर्ने भएकाले उनमा कोरोना भाइरसको संक्रमण नहुने विश्वास थियो । किनकी कुनै बिरामीहरुमा कोभिड १९ को लक्षण देखिएमा उनीहरुलाई सिधै अर्को यूनिटमा पठाउने गरिएको थियो ।
तर जब उनले सेवा गरेका केही बिरामीमा कोरोना पोजेटिभ देखिनुका साथै काम गर्ने स्टाफहरुमा नै कोरोना संक्रमण पुष्टि भयो त्यसपछि उनी पनि डराउन थालिन् ।
यत्तिकैमा उनलाई मार्च २७ देखि अचानक जीउ दुख्न थाल्छ । ड्युटी सकेर घर पुग्दा नपुग्दै उनको टाउको असैह्य हुने गरी दुख्न थाल्छ ।
उनलाई कोरोना संक्रमण भएको आशंकाले पनि सताउँन थाल्छ, किनकी उनको कामै संक्रमितको हेरचाह पनि थियो ।
लगत्तै उनी श्रीमान र छोराबाट अलग्गिएर सेल्फ क्वारेन्टाइनमा बस्छिन् । तर पनि बिसेक हुने कुनै छाट देखिएन बरु कोरोना भाइरससँग मिल्दा जुल्दा लक्षण बढ्दै गएपछि उनी परीक्षण नै गर्ने निदोमा पुगिन्, तत्काल सर्वसाधारणले कुरा गर्न मिल्ने नम्वर ३११ मा फोन गरिन् ।
तर विडम्बना उनका लक्षण डाक्टरहरुलाई कडा लागेनन्, एकदमै कडा लक्षण अर्थात स्वासप्रश्वासमा अप्ठेरो भएपछि मात्र परीक्षण हुने जवाफ आयो, उनी निराश भइन् ।
उनी अझ बढी समस्यामा पर्न थालिन् । शरीर यसरी दुखिरहेको थियो कि कोल्टे फेर्न समेत गाह्रो भयो उनले टाइलोनोल लगायतका औषधिहरु खाइन तर पनि विसेक भएन, अन्ततः उनी अस्पताल जाने निदोमा पुगिन् ।
मार्च २९ तारिख आइतबार उनी मास्क, पञ्जा लगाएर अर्जेन्ट केयर सिटीएमडीमा गइन् । तर अरु बेला हिडेर १० मिनेट लाग्ने बाटोमा उनी तीन पटक बस्दै गइन् ।
घिस्रिदै बल्लतल्ल उनी अस्पताल त पुगिन् तर विडम्बना कोरोना भए नभएको परीक्षण गर्न डाक्टरहरु नै तयार भएनन् । उनले एकदमै धेरै ढिपी गरेपछि मात्रै डाक्टरहरुले रुखो ब्यवहार देखाउँदै परीक्षण गरेर भने ‘अरु एकसाता क्वारेन्टाइनमा बस्नु रिपोर्ट पछि आउँछ ।’
उनी घर गएर बाफ लिने, नुनपानीले मुख कुल्ला गर्ने लगायतका उपाय लगाउँदै आराम गरिरहेकी थिइन मार्च ३० मा उनमा कोरोना भाइरसको पुष्टि भएको रिपोर्ट आयो ।
त्यो रिपोर्टले उनलाई खासै पीडा दिएन किनकी उनको शंकावमोजिमको रिपोर्ट थियो त्यो । तर उनको कोरोना पोजेटिभ रिपोर्ट आउँदा नआउँदै श्रीमानमा पनि कोरोनाको लक्षणसँग मिल्दोजुल्दो रिपोर्ट देखिएपछि उनी अतालिइन् ।
किनकी मार्च ३० तारिख सोमबार उनका श्रीमान अमित साहले पनि ज्वरो आएको र तापक्रम १०१ पुगेको बताइसकेका थिए ।
आफूमा कोरोना भएको लुकाउन खोज्दा पनि श्रीमानलाई नभनी उनले सकिनन् । श्रीमानले नपत्याएपछि उनले अस्पतालले मेल गरिदिएको रिपोर्ट नै श्रीमानलाई फरवार्ड गरिन् ।
श्रीमान समेत कोरोनाको जोखिममा परेपछि उनलाई छोराको हेरचाह कसरी गर्ने भन्नेले सताउन थाल्यो । एउटा फ्लाटमा बस्दा समेत श्रीमान, श्रीमती र बच्चाबीच अलग्गिनु पर्ने परिस्थितले मन थाम्ने अवस्था भएन कति रात आँसुमा डुबुल्की मार्नु परेको उनले स्मरण गरिन् ।
श्रीमान अमितलाई स्वासप्रश्वाससम्बन्धी पनि समस्या भएकाले पनि आशालाई अलिक बढी डर लाग्यो । आराम गरिरहँदा पनि श्रीमानलाई ठीक नभएपछि उनलाई पनि अस्पताल जान सुझाइन् ।
तर अमितमा पनि उही नियती दोहोरियो जुन आशाले भोगेकी थिइन् । अर्थात अस्पताल गएका अमितको अर्जेन्ट केयरमा कोरोना टेष्ट गर्न डाक्टरहरुले मानेनन् । बरु उनलाई एक्सरे समेत नगरी एजिथ्रोमाइसीन लगायतका औषधि दिएर पठाइयो ।
घरमा आएपछि उनी झन् बिरामी भए । उनलाई हिड्न उभिन समेत गाह्रो भएको थियो । आफू भन्दा पनि बिरामी उनका श्रीमान अमित भएपछि उनले आइसोलेसनबाट निस्केर श्रीमानको हेरचाह गरिन् ।
लक्षण देखिएको चारपाँच दिनमा आशाको स्वाद र सुघ्ने क्षमता नष्ट भइसकेको थियो । एकदिन उनलाई पानीको स्वाद तितो लाग्यो, त्यसको भोलिपल्टदेखि उनको पूरै स्वाद लिने क्षमतामै ह्रास आयो, पखाला लाग्ने, बान्ता हुने लगायतका समस्याले सतायो ।
बेडबाट उठ्न खोज्दा भूईंमा समेत लडेकी आशाको घुँडामा चोट लागेर रगत बग्यो । तर पनि श्रीमानको आत्मवल कमजोर हुन नदिन उनले सबै समस्या लुकाइन् ।
आशा र अमित दुबैजना बिरामी भएर थलिएपछि बच्चाले आफै विहानै उठेर ब्रस गर्ने र भोकै भएपनि पढ्न गर्थे, साबुन पानीले मिचिमिची कम्तिमा २० सेकेण्ड हात धुने लगायतका काम आफैं गर्थे ।
तर अप्रिल ४ शनिबार उनको परिवारमा बज्रपात नै आएझैँ भयो । श्रीमान अमित अर्धमुर्छित थिए, छोरोलाई पनि कोरोनाको लक्षण देखियो ।लगत्तै उनले बच्चालाई औषधि दिइन् । एकातिर आफै बिरामी, अर्कोतर्फ श्रीमान र छोरा बिस्तारामा लडिरहेका थिए ।
यावत प्रतिकुल परिस्थितिलाई अनुकलमा परिणत गर्न उनले हिम्मत हारिनन् । श्रीमान र छोराको केयर गरिरहिन् छोरो विरामी परेको तेस्रो दिन अलिक बिसेक भएपछि उनको अनुहारमा केही चमक आयो, अन्ततः छोरो निको भयो ।
श्रीमानको अवस्था भने सुधार नआउँदा मनमा दुविधा कायमै थियो । श्रीमान अमितलाई १२ दिनसम्म लगातार ज्वरो आएपछि बल्ल विसेक भयो ।
खोकी निरन्तर लागेपछि अमितलाई क्लिनकमा लगियो । छातिको एक्सरे र कोरोनाको समेत परीक्षण गरियो । एक्सरे रिपोर्टले फोक्सोमा प्रारम्भीक चरणको निमोनिया देखियो । त्यसको दुईदिनपछि कोरोना पोजेटिभ भएको नतिजा आयो ।
अमित र आशाका लागि अप्रिलको पहिलो साता निकै भयानक बन्यो । अन्ततः आत्मवल दह्रो बनाएको तर घरमै उच्च केयर गरेर दुबै जना अप्रिल दोस्रो साता ठीक भए । तब आशालाई लाग्यो बल्ल नयाँ जीवन पाइयो । अनि उनले भनिन्, ‘धन्य भगवान परिवारको खुशी खोसिदएनौं, हाम्रो खुशी पुनः जोडिएको छ।’
प्रतिक्रिया