काठमाडौं छाड्नेको लर्को, दिनभरि भित्रिन नदिएकाको थानकोटमा बिजोग (फोटो फिचर) | Khabarhub Khabarhub

काठमाडौं छाड्नेको लर्को, दिनभरि भित्रिन नदिएकाको थानकोटमा बिजोग (फोटो फिचर)


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सोमवार विराटनगरबाट ७ वटा बस काठमाडौंका लागि गुडे । रातभरिको यात्रापछि बिहान थानकोट आइपुगेका ती बसलाई काठमाडौं प्रहरीले रोक्यो ।

परिवारमा बसेका र विभिन्न कारणले विराटनगरमा अलपत्र परेका नागरिकलाई काठमाडौं सहजै पुगिने विश्वास थियो । किनकि, विराटनगर महानगरपालिकामा मेयर भीम पराजुलीले प्रक्रिया पुर्‍याएर काठमाडौं जाने व्यवस्था मिलाएका थिए । मेयर पराजुलीले हातमा पत्र थम्याएर पठाएकाले कसैले पनि बाटोमा अलपत्र हुनुपर्ने सोचेका पनि थिएनन् ।

प्रहरीले थानकोटमा रोकेपछि यात्रुको बिचल्ली भयो । दिनभरि यात्रुहरूलाई थानकोट कट्न दिइएन । ‘पहिले नै जानकारी दिएको भए बरू हामी उतै विराटनगर बस्ने थियौं, यहाँ आएर दिनभरि भोको पेट पानीमा रुझेर बस्नुपर्‍यो,’ यात्रु भन्छन् ।

थानकोटमा अलपत्र यात्रु ।

प्रहरीले विराटनगरबाट आएका यात्रुलाई साँझ साढे ६ बजे भने काठमाडौं प्रवेश गर्न दिएको छ । साँझ परेपछि मात्र जान दिइएपछि धेरैलाई रातिसम्म हिँडेर घर पुग्नुपर्ने बाध्यता आइपरेको छ ।

यात्रु भन्छन्, ‘केहीलाई त्यहाँबाट हिँडेरै जान काठमाडौंतर्फ पठाइयो । केहीलाई दिनभरि थानकोट नाकामै राखियो ।’

थानकोटमा अलपत्र यात्रु ।

साँझपख स्थानीय प्रतिनिधिले चन्द्रागिरी नगरपालिकाको वडा २ को कार्यालयमा बस्न भनेका थिए । काठमाडौं छिर्न पाउने आशामा उनीहरु दिनभरि वाडभञ्ज्याङमा प्रतीक्षा गरिरहे । फेरि विराटनगर फर्काउने हो कि भन्ने त्राससँगै उनीहरूसँग थियो ।

काठमाडौं हुँदै धुलिखेल जान विराटनगरबाट हिँडेका एक युवक भन्दै थिए – ‘बरु हामीलाई उतै मोरङतिर रोकेको भए हुन्थ्यो, यहाँ ल्याएर अलपत्र पारियो ।’

ती युवकलाई साँझ ढल्कँदै गएकोमा चिन्ता थियो । काठमाडौंमा बस्न नपाइने भय एकातिर थियो भने अर्कातिर उनले ट्याक्सीले प्रतिघण्टा एक हजार लिने परिवारले सुनाएको बताउँदै थिए ।

काठमाडौं छोड्न कलंकीतर्फ जाँदै एक हुल ।

सोमबार साँझसम्म पनि उनी प्रहरीले काठमाडौं छिर्न दिने र घर फर्किन पाउनेमा आशावादी थिए ।

विराटनगरबाट आवश्यक प्रक्रिया पुर्‍याएर सेनिटाइज गरी काठमाडौं ल्याइएका बसलाई प्रहरीले काठमाडौं छिर्न दिए पनि यात्रु रोकेको अलपत्र यात्रु बताउँछन् । ‘बरु बस नै रोकेको भए पनि आनन्दले बसमा त बस्न पाइन्थ्यो, समस्या भयो,’ एक यात्रु भन्दै थिए ।

काठमाडौंमा परिवार भएकाले विराटनगरबाट काठमाडौं आएका शालिकराम भट्टराईले खबरहबसँग भने – ‘हामी विराटनगरमा पनि एक महिनादेखि सेल्फ क्वारेन्टाइनमा थियौं, यहाँ प्रहरीले दिनभरि रोक्यो ।’

विराटनगरबाट काठमाडौं आउञ्जेल ११ जिल्लामा कतै समस्या नभएको तर काठमाडौं आइपुग्न लाग्दा प्रहरीले रोकेको अर्का एक यात्रु बताउँछन् । उनीहरू भन्छन्, ‘मन्त्रीहरु, माननीयहरुलाई भए रोक्ने थिएन, हामीलाई रोक्यो ।’

सोमवार कलंकीमा काठमाडौं छोड्ने यात्रुहरूको भीड थियो ।

‘बस नपठाएको भए पनि सिटमा बसेको भए आनन्द हुन्थ्यो, ट्वाइलेट जान पाइएको छैन,’ एक वृद्धाले गुनासो गरिन्, ‘एघार जिल्लामा रोकेन, यहाँ आएर अलपत्र पार्‍यो, बाटोमा पनि कतै खाना पाइएको थिएन ।’

‘हाम्रो परिवार यहाँ छन्, हामी अर्काको घरमा बस्न परिरहेको थियो,’ नाम बताउन नचाहने एक व्यक्तिले भने, ‘सबै परिवार यहीँ काठमाडौंमै छन्, म चाहिँ अर्काको घरमा क्वारेन्टाइनमा बस्न परिरहेको थियो, सेनिटाइजर, मास्क दिएर गाडीमा स्प्रे गरेर मात्र हामीलाई पठाइएको थियो ।’

काठमाडौंको नयाँ बसपार्कमा बस कुर्दै ।

काठमाडौंमा आउन चाहने कमै भए पनि काठमाडौंबाट बाहिरिनेको सङ्ख्या भने बाक्लो छ । स्थानीय तहले गाडीको व्यवस्था गरेर आफ्ना नागरिक लैजान थालेपछि राजधानीमा काठमाडौंमा अलपत्र परेकाहरु जोखिम मोलेरै घर जान तयार देखिएका छन् ।

कलंकीमा यात्रुको भीड ।

लकडाउन कहिलेसम्म हुन्छ भन्ने टुङ्गो नभएपछि कोरोना भाइरसका त्रासबीच राजधानी छोड्न नागरिकहरु तयार भएका छन् ।

सोमबार राजधानीको नयाँ बसपार्क र कलंकी क्षेत्रमा काठमाडौं छोड्न चाहनेको लर्को देखिन्थ्यो । यस्तो लाग्थ्यो, मानौं सरकारले लकडाउन खुला गरिसकेको छ । र, मान्छे सडकमा निर्वाध निस्किरहेका छन् ।

पोका पुन्तुरा बोकेर गाडीको पर्खाइमा कलंकीको सडक छेउमा लस्करै बसेकालाई प्रहरीले घर पठाउन सहयोग गरिरहेको थियो । प्रहरीले नै ट्रक रोकेर बाटो पर्नेलाई ट्रकमै भए पनि घर पठाउने प्रयत्न गरिरहेको देखिन्थ्यो । प्रहरीले घर जान चाहनेलाई पठाउने प्रयास गरिरहेको थियो ।

सोमबार दिउँसोदेखि नै कलंकी वरपर घर जान भनेर निस्किएका नागरिकको बाक्लो उपस्थिति थियो । सल्यान जानुपर्ने बताउने देवेन्द्र खड्का भन्दै थिए, ‘गाडीको व्यवस्था छ भन्ने सुनेर यहाँ आएका हौं ।’

उनीहरू चार जना थिए । उनीहरू ४ घण्टादेखि कलंकी चोकमा गाडीको प्रतीक्षा गरेको बताउँदै थिए ।

कीर्तिपुरमा कोठाभाडामा बस्ने केशव भट्ट भन्दै थिए – ‘घरकाले नगरपालिकाले बस व्यवस्थापन गरेको छ भन्ने सुनेपछि घर आउन दबाब आएपछि हिँडेका हौं ।’

‘शुरुमा जोहो गरेर रासन पानी सकियो, अब त घर जान पनि बाध्य भइयो,’ कञ्चनपुर हिँडेका उनले भने, ‘घरमा जान सकियो भने आनन्द हुन्थ्यो ।’

‘भोलिबाट त घरमा जान पनि नदिने भनेको छ, आज जान पाइन्छ कि,’ सानी छोरीसँग कलंकीमा गाडी कुरेकी सुमन आचार्यले भनिन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  १० : ४४ बजे

आज २०८१ साल वैशाख ५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ५ गते बुधबार तदनुसार

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको