वीरगञ्जमा कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक सिंहको अनुभव | Khabarhub Khabarhub

वीरगञ्जमा कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक सिंहको अनुभव


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीरगञ्जको नारायणी अस्पतालमा कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा खटिएका डाक्टर उदयनारायण सिंहको २०७७ सालको पहिलो दिन अनौठो बन्यो ।

अघिल्लो वर्षको वैशाख १ गते परिवारसँग रमाइलो गरेर बिताएका डा. सिंह २०७७ सालको वैशाख१ गते आफ्नो झोलाबोकेर घरबाट निस्किए ।

डा. सिंह कोरोना संक्रमितको उपचारमा फन्टलाइमा खटिएका थिए । चैत ३० गते अस्पतालमा उपचारत ३ जना भारतीय नागरिकमा कोरोना पुष्टि भएपछि उनी पनि परिवार छाडेर क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था आयो ।

अस्पतालबाट साढे २ किलोमिटर पर घर परिवार हुँदा पनि उनी घरबाट आधा किलोमिटर टाढाको होटलमा क्वारेन्टाइनमा बसे । क्वारेन्टाइनमा बस्न उनी घरबाट झोला बोकेर निस्किँदा परिवारका सदस्यले आँसु थाम्न सकेनन् ।

‘मैले नजिक गएर जाँच गरेको बिरामीलाई कोरोना पुष्टि भएपछि वैशाख १ गते घर छाडेर अस्पतालको क्वारेन्टाइनमा जानुपर्‍यो । त्यो दिन म झोला बोकेर घरबाट निस्किँदा आमा, बुबा र श्रीमती रुनुभएको थियो,’ डा सिंहले खबरहबसँग भने, ‘जीवनमा पहिलो पकट नयाँवर्षको दिन घर छाडेर क्वारेन्टाइनमा बस्नुपर्दा मेरो पनि मन अमिलो भयो ।’

त्यसो त डा सिंहले मात्र होइन, संक्रमितको उपचारमा खटिएका उनका सहकर्मी चिकित्सक पनि वैशाख १ गते घर छाडेर क्वारेन्टाइनमा गए ।

सम्पर्कबाट सजिलै सर्ने कोरोना भाइरस संक्रमितको उपचारमा फन्टलाइनमा खटिएका चिकित्सकले बिरामीको उपचार गर्ने हिम्मत गरे । परिवारका सदस्यहरूले भने ज्यान भन्दा ठूलो जागिर होइन भन्दै पटक पटक जागिर छाड्न सुझाव दिए । चिकित्सकको जिम्मेवारी नै विपतको बेलामा बढी हुन्छ ।

ड्युटीमा खटिएका चिकित्सकले यही कुराले परिवारलाई सम्झाए । अनि उनीहरू उच्च मनोबलका साथ बिरामीको उपचार गर्न मैदान उत्रिए ।

३० चैतपछि २ वैशाखमा नारायणी अस्पतालमा अर्का एकजनामा कोरोना संक्रमणको पुष्टि भयो । ११ वैशाखमा अर्को संक्रमित थपिएपछि संक्रमित थपिए ।

अहिले अस्पतालमा ३ जना उपचाररत छन् । संक्रमित निको भएर घर फर्कने क्रमण बढेसँगै अरू नयाँ संक्रमित थपिएपनि चिकित्सकमा मनोवैज्ञानिक त्रास भने विस्तारै कम हुन थालेको छ ।

नारायणी अस्पतालको इमर्जेन्सी विभागका प्रमुख डा सिंहलगायत चिकित्सकहरूको टोली पीपीई सेट लगाएर ड्युटीमा खटियो । अस्पतामा भर्ना भएका संक्रमितको उपचार गर्न ड्युटीमा खटिएको समयमा मनमा डर नभए पनि आफू सर्तक भने बनेको उनले सुनाए ।

‘मेरो ड्युटी पर्दा म बिरामीसँगको जाँचगर्ने, हिस्ट्री लिने, उनीहरूको नजिक गएर कुरा गर्ने र केही समस्या छ/छैन भनेर सोध्ने गरेको थिए,’ डा. सिंहले भने, ‘कोरोना संक्रमितको उपचारमा खटिँदा मनमा डर त थिएन तर म कोरोनाबाट जोगिनुपर्छ, सर्तक रहनुपर्छ भन्ने लागिरह्यो । म संक्रमित भएँ भने अरूलाई पनि जोखिम हुन्छ भनेर म सर्तक हुन्थेँ ।’

अस्पतालले कन्सल्टेन्ट चिकित्सकसहित ३ जनाको टीम बनाएको छ । प्रत्येक टीमका चिकित्सकले ७ दिनसम्म निरन्तर ड्युटीमा खटिने र त्यसपछि १४ दिन क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाइएको छ । डा. सिंह पहिलो पटक देखिएका संक्रमितको उपचारमा खटिएका चिकित्सकको टोलीमध्येका एक हुन् ।

चैत ३० गते र वैशाख २ गते अस्पतालमा भर्ना भएका ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । अस्पतालले उनीहरूलाई आइतबार डिस्चार्ज गरेको हो । अहिले अस्पतालको आइसोलेसनमा ३ जनाको उपचार भइरहेको छ । उनीहरूको परिवारलाई क्वारेन्टाइनमा राखिएको छ ।

संक्रमितको उपचारमा खटिएका डा. सिंह ७ दिनलगातार ड्युटी गरेर १० दिनपछि फेरि घर फर्किएका छन् । कोरोना संक्रमितको उपचारमा खटिएको ७ दिनपछि दुईपटक कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनी घर फर्किएका हुन् ।

‘हाम्रो अस्पतालमा उपचारत पहिलो र दोस्रो लटमा भर्ना भएका बिरामी निको हुनुभएको छ । पहिलोपटक तीन जनाको केस आउँदा मैले नै नजिकै गएर जाँच गरेको थिए,’ डा सिंहले भने, ‘पीपीई लगाएर संक्रमितलाई पहिलो पटक नजिकबाट जाँच गरीसकेपछि अब परिवारबाट टाढा भएर क्वारेन्टाइनमा बस्नुपर्छ भन्ने लागेर भावुक पनि भएँ तर हामी आफ्नो ड्युटी पुरा गरेर १० दिनपछि घर फर्कियौँ ।’

घरमा पनि क्वारेन्टाइनमै

हाल घरबाटै अस्पताल गएर ड्यूटी गरिरहेका डा. सिंह परिवारसँग दूरी कायम राखी होम क्वारेन्टाइनमा छन् ।

‘अस्पतालको ड्युटी र क्वारेन्टाइमा बसेको १० दिनपछि कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि म घर आएँ । घरमा पनि एक सातासम्म क्वारेन्टाइकै रूपमा बस्दैछु,’ डा सिंहले भने, ‘परिवारका सदस्यमा जोखिम हुने भएकाले बस्न, सुत्न, खानपान र भाँडाकुँडा पनि बेग्लै प्रयोग गरेँ । उचित सतर्कता अपनाउँदै घरबाटै अस्पताल जाँदैछु ।’

डा. सिंह एकसाता होम क्वारेन्टाइनमा बसेपछि आइतबारदेखि पुनः अस्पताल जान थालेका छन् । घरमा उनले बस्नलाई बेग्लै व्यवस्था गरेका छन् ।

उनले भने, ‘पहिलो चरणको कोरोना संक्रमितको उपचार गर्ने टोलीमा म थिएँ । अहिले अर्को टोली उपचारमा छ । म क्वारेन्टाइनमा बसेर अहिले अस्पतालको अन्य ड्यूटीमा छु । जसले होम क्वारेन्टाइनमा बसेको छु । फेरि कोरोना संक्रमितको उपचारमा खटिँदा अस्पतालले राख्ने क्वारेन्टाइनमा बसेर काम गर्नुपर्छ ।’

महिलालाई महिनावारीमा समस्या

डा. सिंहले कोरोना संक्रमितको उपचारमा खटिदा डिस्पोजल पीपीई लगाएका थिए । ड्युटीको समयभरी पानी, खाना र खाजासमेत खान नपाइने भए पनि समूहमा काम गर्दा सहज हुने उनले बताए । महिला सहकर्मीलाई भने महिनावारीको समयमा समस्या हुने उनले बताए ।

‘हामीले समूह बनाएर काम गरेकाले ड्युटीमा हुँदा असहज भएन । संक्रमितको अवस्था बुझ्न पीपीई लगाएर राउण्डमा गयो । फर्किएपछि डिस्पोज गर्ने गरिन्थ्यो,’ डा. सिंहले भने, ‘महिला स्वास्थ्यकर्मीलाई भने महिनावारीको समयमा गाह्रो भएको अवस्था थियो । ड्युटीमा रहेका नर्सले १२ घण्टासम्म पीपीई लगाएर बस्दा महिनावारीको बेलामा समस्या हुन्थ्यो । तै पनि उहाँहरू आफ्नो समस्या नदेखाएरै ड्यूटीमा खटिनुभयो ।’

संक्रमित निको हुँदाको खुसी

अस्पतालमा आएको पहिलो केस र आफुले हेरेका बिरामी निको भएर घर फर्किंदा आफूलाई खुसी लागेको डा सिंहले बताए ।

‘पहिलो केस आउँदा त धेरै चिकित्सकहरूमा पनि डर थियो तर हामीले हाम्रो दायित्व सम्झेर खट्यौँ । उहाँहरू निको हुनुभयो, हामीलाई खुसी लागेको छ,’ डा सिंहले भने, ‘हामीले हाम्रो दायित्व पूरा गरेर बिरामीलाई निको बनाउन सफल भयौँ जस्तो लागेको छ । हाम्रो कामको सबैले सम्मान गर्नुभएको छ । सञ्चारमाध्यमले दिएको साथ र सहयोगले उच्च मनोबलका साथ काम गर्न पायौँ । हामी खुसी छौं ।’

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ११ : ३२ बजे

बागलुङको किबी बुटबलदेखि काठमाडौंसम्म

बागलुङ– बागलुङमा उत्पादित बहुगुणी फल किबी अन्य जिल्लामा खपत हुन

दृष्टिविहीनका लागि विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने

धनुषा– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दृष्टिविहीनहरूका लागि आवाससहितको विद्यालय

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको छ । प्रमुख जिल्ला अधिकारी नारायण

थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन सरकारको आग्रह

काठमाडौं– सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने वा

भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने

बाँके– बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने