दाङ- दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।
पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका–५ साकिने निवासी २६ वर्षीया बाटुली नेपाली र उनकी दुई वर्षीया छोरी आयुश्मा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गए राति ३ बजेतिर घरमाथिको कान्ला भत्केर आधा घर पुरिँदा उनीहरुको मृत्यु भएको हो । घरमा परिवारका अन्य सदस्य रहेको भए पनि आधा मात्रै घर पुरिएकाले अन्य सदस्य भने सकुशल रहेको प्रहरीले बताएको छ ।
यसैबीच लगातारको वर्षाका कारण बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकअन्तर्गत बार्जुगाड प्रहरी चौकी नजिकै भीषण पहिरो गएको छ ।
सोमबार रातिदेखि आएको अविरल वर्षाका कारण पहिरो गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए ।
पहिरो पन्छाउन दुईदेखि तीन दिन लाग्ने उनको भनाइ छ । तराई क्षेत्रबाट आएका यातायातका साधान बार्जुगाडपारि रोकिएका छन् भने २० भन्दा बढी मालवाहक ट्रक मार्तडीबाट बल्देसम्मको सडक क्षेत्रमा रोकिएका छन् ।
लगातारको वर्षाका कारण सडक अवरुद्ध भएपछि सदरमुकामलगायत ग्रामीण क्षेत्रका स्थानीय हाटबजारमा दैनिक उपभोग्य सामानको अभाव भएको उद्योग वाणिज्य सङ्घ बाजुराले जनाएको छ ।
बाजुरामा सोमबारदेखि भीषण वर्षा भइरहेको छ । जिल्लाभरि धेरै ठाउँमा क्षति भएको हुनसक्ने बताइएको छ । भारी वर्षाका कारण जिल्लाको सञ्चार सेवासमेत अवरुद्ध भएको छ ।
जिल्लामा सञ्चालनमा रहेका नेपाल टेलिकमका सम्पूर्ण सेवा प्रभावित भएका छन् । धेरै ठाउँ फोन सम्पर्क नहुँदा क्षतिको विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
त्यस्तै बाजुराको बूढीगङ्गा नगरपालिकै डाव भन्ने ठाउँमा पनि साँफे–मार्तडी सडकमै माथिबाट ठूलो पहिरो आएर सडक अवरुद्ध भएको स्थानीयवासीले जानकारी दिएका छन् ।
प्रतिक्रिया